हिम्मतीला नन्दप्रसाद

वीरेन्द्रनगर–१०, बुदबुदी, सुर्खेतका नन्दप्रसाद चौलागाईं उमेरले ६५ वर्षका भए । उनी शारीरिक रूपमा अशक्त छन् । तर उनको कामलाई हेर्ने हो भने सपाङ्गहरू भन्दा कम छैनन् । चार जनाको परिवारमा तीन जनामा केही न केही अपाङ्गता छ । तर पनि जसले जे काम सक्छ त्यही गरेर परिवारको आर्थिक अवस्था बलियो बनाएका छन् । विगत २० वर्षदेखि मिठाइको प्याकेट उत्पादन गर्दै आएका छन् ।
वि.सं. २०११ साल असार ११ गते तातोपानी गाउँपालिका–५, जुम्लामा उनको जन्म भएको हो । बुबा भक्तिप्रसाद चौलागाईं र आमा रुम्मा चौलागाईंको उनी एक्लो सन्तान हुन् । आत्मबल भएपछि शारीरिक अवस्थाले काम गर्न छेक्दैन भन्ने नन्दप्रसाद चौलागाईंले हाम्रा सहकर्मी सीता वलीसँग आफ्नो जीवन संघर्षको कथा यसरी सुनाएः

म सानै छँदा मेरो बुबाको निधन भयो । घरमा आर्थिक अभाव भयो । पेसा व्यवसाय केही पनि थिएन । खान पनि मुस्किल पर्न थालेपछि म भारत गएँ ।
भारतमा करिब १२ वर्ष बिताएँ । विभिन्न कम्पनीमा कामदारको रुपमा भारतमा बिताएपछि म नेपाल आएँ । मेरा आफन्तहरुले मलाई नेपाल आर्मी खुलेको जानकारी दिएपछि मैले वि.सं २०३२ सालमा नेपाल आर्मीमा जागीर सुरु गरें । त्यो बेलामा पेट भर्नको लागि मैले त्यो जागीर गरेको थिएँ ।
मैले जागिर गर्दा जम्मा तलब ६९ रुपैयाँ थियो । वि.सं. २०४५ सालसम्म तलब बढेर तीन सय रुपैयाँसम्म भयो । म साक्षर व्यक्ति हुँ । खासै पढ्न पाइएन । त्यो बेलामा पढ्ने लेख्ने जमाना पनि थिएन । तर नपढे पनि सरकारी जागीर भने खान पाइन्थ्यो । त्यो बेलामा खासै जागीर खाने मान्छे पाइदैनथे । त्यसैले पनि होला जागीरको लागि आजभोली जस्तो कुनै झन्झट हुँदैनथ्यो ।
मैले जागीर गर्ने बेला सम्म नागरिकता पनि बनाएको थिइन् । जागीर सुरु भएको तिन वर्षपछि मेरो नागरिकता बनेको हो । म अहिले जस्तो हिँड्न नसक्ने पहिला थिइन् । वि.सं. २०४१ सालमा ड्युटीमै बसेको बेलामा एक्कासी नशामा समस्या देखियो र आज यस्तो अवस्थामा पुगीयो । त्यसपछि अपाङ्गता नै भएँ ।
पहिला त म लठ्ठीको साहारामा पनि हिँड्न नसक्ने अवस्थामा थिएँ । पछि विस्तारै फिजियो थेरापी, अकुपञ्चर गरेपछि ह्वील चियरमा बस्न सक्ने भएँ । आजभोलि लठ्ठीको सहारामा हिँड्न सक्ने भएको छु । वि.सं. २०५७ सालमा नेपाल आर्मीको जागीर स्वइच्छाले छोडेको हुँ ।
मैले आफूजस्तै अपाङ्गता भएकाहरुको हकअधिकारको लागि पनि काम गर्दै आएको छु । कतिपय संविधानमा उल्लेख भएका तर कार्यान्वयन नभएका अधिकारहरुका बारेमा वकालत संस्थाद्वारा गर्दै आएको छु । म हाल मध्यपश्चिम क्षेत्रीय नेपाल अपाङ्ग समाजको अध्यक्ष, तथा शारीरिक अपाङ्ग सेवा संघ सुर्खेतको सचिव भएरसमेत काम गरेको छु ।
म सानोमा सामान्य स्वभावको भए पनि मलाई समयले अलि फरक स्वभावको बनाएको छ । अपाङ्गता भएकाहरुलाई समाजले हेर्ने दुष्टिकोणले मलाई अलि कठोर बनाएको छ । समाजसँग लड्दै र सरकारका प्रतिनिधिहरुसँग बाझिंदै अपाङ्गता भएकाहरुको अधिकार प्राप्तीमा लागिपरेको छु ।
मैले अल्छि गरेर बसेको भए पनि मेरो पेन्सनले जसो–तसो छाक टार्न त पुग्थ्यो । तर मेरो जिवन आजको जस्तो हुँदैनथ्यो । सबैको माया, हौसला र आर्थिक अवस्था सबैलाई मध्यमस्तरमा राखेको छु, यही व्यवसायको कारण ।
वि.सं. २०६४÷६५ सालतिर सिन्धु सुधार संस्था हाल सुर्खेत नेत्रहीन संघले कागजका सामग्री निर्माण सम्बन्धी तालिमको आयोजना गरेको थियो । त्यसमा २५ जना सहभागी भएर हामीले त्यो तालिम लिएका थियौं । मेरो श्रीमती पनि नेत्रहीन भएकोले उनले त्यो अवसर पाएकी थिइन् र म पनि त्यसमा सहभागी भएको थिएँ । त्यसपछि मैले आफ्नै घरमा करिब नौ हजार रुपैयाँ लगानी गरेर स्विट प्याक उत्पादन गर्ने निधो गरें । आजभोलि मेरो उत्पादन वीरेन्द्रनगर बजार, छिन्चुबजार, रामघाट, मेहेलकुना, बोटेचौर लगायतका बजारमा जाने गर्दछ । यो अरु व्यवसाय जस्तो दैनिक रुपमा कारोबारो हुँदैन । त्यस्तै वार्षिक एक लाखसम्मको कारोबारो हुने गर्दछ । सालाखाला महिनामा आठ हजार जति मैले कमाउने गरेको छु ।
शरीरले सक्ने काम सबैले गर्नुपर्छ भन्ने मेरो मान्यता छ । म बिजुलीको पोलमा चढेर त काम गर्न सक्दिन तर बसेर गर्ने सबै काम गर्न सक्छु । मलाई खुशी लाग्छ । पेन्सन र व्यवसायबाट परिवारमा आर्थिक अभाव भएको छैन । अपाङ्गता भएका कयौं मानिसहरु अल्छिपनले गर्दा केही नगरी बसेका हुन्छन् ।
जसले गर्दा आर्थिक अभाव झेल्नुपरेको छ । जसले जे गर्न सक्छ कामलाई सानोठूलो नभनी गर्न सकेको खण्डमा कसैलाई पनि आर्थिक अभावले पिरोल्दैन भन्ने मेरो भनाइ हो । अझै मलाई अगरबत्ती उद्योग सञ्चालन गर्ने रहर छ । केही समयपछि त्यो पनि सुरु गर्ने सोच बनाएको छु ।

प्रकाशित मितिः   ८ श्रावण २०७६, बुधबार १४:५६