नेकपाको जिल्ला कमिटी सदस्यहरु उपभोक्ता समितिमा बस्न नपाउने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सुर्खेतका सदस्यहरु कुनै पनि उपभोक्ता समितिमा बस्न नपाउने भएका छन् ।
मंगलवार वीरेन्द्रनगरमा सबेको पार्टीको प्रथम जिल्ला कमिटिको वैठकले यस्तो निर्णय गरेको हो ।

उपभोक्ता समितिमा बस्दा विवादित हुने भएकाले जिल्ला कमिटिका कुनै पनि सदस्यहरु कुनै पनि उपभोक्ता समितिको पदाधिकारी तथा सदस्य हुन नपाउने निर्णय वैठकले गरेको जनाइएको हो ।

यसैगरी वैठकले चार सदस्यीय कार्यालय गठन गरेको छ । जसमा जिल्ला कमिटी अध्यक्ष ध्रुवकुमार शाही र सचिव कृष्ण जिसीसहित मोहन बडुवाल र टोपबहादुर रास्कोटी रहेका छन् । अन्य तीन जना भने पछि थपिने जनाइएको छ ।

कार्यालय सदस्य बडुवालका अनुसार आगामी एक महिनाभित्र जिल्लाका सबै स्थानीय तहममा पार्टी एकता टुंग्याउने निर्णय पनि वैठकले गरेको छ । उनका अनुसार तीन वटै तहका सरकारको कामलाई प्रभावकारी र जनमैत्री बनाउनका लागि पहल गर्ने निर्णय समेत भएको छ ।

यसैबीच जिल्ला कमिटी सुर्खेतका पदाधिकारी तथा सदस्यहरुले मंगलवार नै सपथ ग्रहण गरेका छन् । पार्टीका कर्णाली प्रदेश सह–इन्चार्ज यामलाल कंडेलले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण तथा प्रथम जिल्ला कमिटि वैठक पार्टी अध्यक्ष ध्रुवकुमार शाहीको अध्यक्षता तथा प्रदेश कमिटीका सहइन्चार्ज कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय सदस्यहरु नरबहादुर विष्ट, विन्दमान विष्ट र झकबहादुर मल्लसहित प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ३१ असार २०७६, मंगलवार २०:५९