न्युजिल्याण्डलाई हराउँदै इंग्ल्याण्डले जित्यो क्रिकेट विश्वकप

इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

आइतबार राती सम्पन्न भएको रोमान्चक फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २ सय ४१ रन बनाउँदै  इंग्ल्याण्डलइ २ सय ४२ रनको लक्ष्य दिएको थियो ।

मध्यम लक्ष्य पच्छ्याउँदै जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले पनि ५० ओभरमा अलआउट हुँदै २ सय ४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा इंग्ल्याण्डले १५ रन जोड्दै न्युजिल्याण्डलाई १६ रनको लक्ष्य दियो । जवाफमा न्युजिल्याण्डले १५ रन नै बनायो । तर, सुपर ओभरमा समान स्कोर भएपनि बढी बाउन्ड्री(चौका/छक्का) प्रहार गरेको कारण इंग्ल्याण्डले उपाधि जितेको हो ।

सुपर ओभरमा जानुअघि इंग्ल्याण्डका बेन स्टोक्स र जोश बटलरले अर्धशतकीय इनिङ्स खेले । बटलर ५९ रनमा आउट भए । स्टोक्सले अविजित ८४ रन बनाए ।

न्युजिल्याण्डका जेम्स निशम र लकी फर्गुसनले ३/३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो ।

न्युजिल्याण्डको लागि हेनरी निकोलसले अर्धशतकीय इनिङ्स खेले । उनले ७७ बलमा ४ चौकासहित ५५ रन बनाए ।

यस्तै टम लाथम ४७ रनमा आउट हुँदा कप्तान केन विलियम्सन ३० रनमा आउट भए । मार्टिन गुप्टिल र जेम्स निशमले १९/१९ रन जोड्दा कोलिन डी ग्रान्डहोमले १६ रन जोडे ।

इंग्ल्याण्डका क्रिस वोक्स र लियाम प्लुन्केटले समान ३/३ विकेट लिए ।

योसँगै इंग्ल्याण्डले पहिलो पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । र, एकदिवसीय विश्वकप जित्ने नयाँ राष्ट्र बनेको छ । न्युजिल्याण्ड भने पुन: फाइनलमा पराजित भएको छ । सन् २०१५ मा पनि न्युजिल्याण्ड फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।

प्रकाशित मितिः   ३० असार २०७६, सोमबार ००:३६