संशोधनसहित बजेट पारित

सुर्खेत, २९ असार ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेट संसदबाट पारित भएको छ । आइतवार बसेको कर्णाली प्रदेशसभाको वैठकबाट बजेट पारित गरिएको हो ।

सांसदहरुको सुझाव अनुसार बजेट संशोधनसहित सदनबाट पारित गरिएको हो । यो सँगै सरकारले प्रस्तुत गरेको कर्णाली प्रदेश विनियोजन विधेयक २०७६ र उक्त विधेयकसँग आश्रित अन्य दुई वटा विधेयक पनि पारित भएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए ।

उक्त बजेटमाथिको छलफलका क्रममा सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरुले चर्को आलोचना गर्दै संशोधन गर्न माग गरेका थिए । सांसदहरुको माग अनुसार संशोधनको प्रतिवद्धता सरकारले गरेपछि ध्वनीमतद्धारा बजेट पारित गरिएको हो । संशोधनका वुदा बजेटकै अङ्ग हुनेगरी पारित गरिएको हो ।

प्रकाशित मितिः   २९ असार २०७६, आईतवार १७:४२