नागरिक नै सरकार, सरकार नै नागरिक
हरिप्रसाद उपाध्याय
जनताद्वारा जनताका लागि गरिने जनताको शासन नै लोकतन्त्र हो । जब जनता र सरकारबीचको दूरी टाढा देखिन्छ या बुझिन्छ त्यसलाई व्यवहारमा लोकतन्त्र भन्न मिल्दैन । जब हरेक नागरिकले आफू जस्तै देखिने व्यक्ति आफ्नो प्रतिनिधिको रूपमा सरकारमा या नेतृत्वमा पाउँछ र आफ्ना दुःख, पीडा, हक र अधिकारका विषयमा काम गरिरहेको पाउँछ अनि त्यो व्यक्तिले छाति फुलाएर भन्छ, ‘म यो दशको जनता र मलाइ गर्व छ यो देशको जनता हुनुमा ।’
लिखित तथा वैधानिक रूपमा राजतन्त्र हटेर लोकतन्त्र बनेको देश नेपाल (तर व्यवहारिक रूपमा हुँदै गरेको) को एक आशावादी युवा संसारको शक्तिशाली राष्ट्र भनेर चिनिने संयुक्त राज्य अमेरिकाको ३५ दिने भ्रमणले म भित्र उत्पादन गरेका केही विचारहरूलाई एक जिम्मेवार नागरिकका हैसिएतले सवैलाई बाँड्न उचित ठानें र यो प्रयत्न गर्दैछु ।
मानवताको उच्चतम मूल्य, समानता, व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव जस्ता महŒवपूर्ण पाटाहरूनै लोकतन्त्रका प्रमुख विषय मानिन्छन् । लोकतन्त्रको अत्याधुनिक अभ्यास भनेर संघीयतालाई बुझ्ने गरिन्छ । लोकन्त्र या गणतन्त्र भन्ने वित्तिकै जनता भन्ने कुरा प्रमुख प्राथमिकतामा आउँछ, जहाँ लोकतन्त्र या गणतन्त्रको अभ्यास छ त्यहाँको सामाजिक, आर्थिक र भौगोलिक विकासको अवधारणानै त्यहाँको स्थानीय जनतालाई केन्द्रमा राखेर गरेको पाइन्छ फलस्वरूप हरेक जनताले सरकार भनेकै म हो भन्ने महसुस गरोस न कि सरकार र आफूमा भिन्नता पाओस् ।
गणतन्त्रमा जनताद्वारा निर्मित कानुन हुन्छ र त्यो कानुन नै सर्वमान्य हुन्छ त्यसैलाई कानुनको शासन भनिन्छ । हरेक देशबासीले उक्त कानुनको सम्मान गर्छन्, पालना गर्छन् र कार्यान्वयन गर्छन् । त्यो कानुन जसले देशको हरेक व्यक्तिलाई प्रतिनिधित्व गर्दछ, समान अवसर प्रदान गर्दछ र देश विकासको अभियानमा प्रेरित गर्दछ त्यो कानुनको शासन नै गणतन्त्र हो । हरेक व्यक्तिले आफूसँग भएका क्षमता, दक्षता र सिर्जनशिलतालाई संरक्षण र प्रवद्र्धन गर्ने उचित स्थान पाउँछ र त्यो दक्षता र क्षमतालाई समाज र राष्ट्रले प्रोत्साहन गर्छ, स्थान दिन्छ, आत्मसात् गर्दछ र अगाडि बढ्छ । हरेक क्रियाकलापहरू विशुद्ध प्रजातान्त्रिक अभ्यासद्वारा गरिन्छ, स्वच्छ प्रतिस्पर्धा हुन्छ, रचानात्मक आलोचनासहितको प्रतिपक्ष हुन्छ र देश समृद्धितर्फ बृद्धितर्फ अगाडि बढ्छ ।
मेरो अमेरिका बसाइँमा दुई दिन एउटा सामान्य परिवारसँग बिताएँ । ५५ वर्षीया इसेला र उनको श्रीमान् बस्थे । दुवै जागीरे, छोराछोरी पढाइको शिलशिलामा बाहिर । क्यालिफोर्निया राज्यको सान डीएगो जिल्ला अन्तर्गत ‘लाहोआ’ भन्ने समुद्री छालमा अवस्थित नगरमा उनीहरूको घर (अपार्टमेन्ट) थियो । सुन्दर भ्रमण योग्य ठाउँ भएर होला त्यो ठाउँ, अरुको तुलनामा त्यहाँको कर निकै महंगो थियो । मलाई उत्सुकता लाग्यो र उसलाई सोधें ‘तपाईंहरू त यो जिल्लाको अन्य नगरहरूको तुलनामा धेरै कर तिर्नु तिर्नु हुँदो रहेछ, नराम्रो लाग्दैन ?’ उनले भनिन् ‘निश्चय पनि लाग्दैन । यो कर हामीले जिताएर पठाएका प्रतिनिधिहरूले हाम्रो ठाउँ र हामी जनताको राम्रोकै लागि हो, जसको कारणले सरकारले हामीलाई अरु ठाउँको भन्दा राम्रो सुविधा पनि उपलब्ध गराएको छ । म खुशी छु यो ठाउँमा बस्न पाउँदा ।’ उनको यो भनाइले मलाइ प्रतिबिम्वित गरायो कि गणतन्त्रमा कर बढी उठायो भन्ने भन्दा पनि कति उठाउने, उठाएर के मा लगाउने, कस्तो नीति बनाउने, कसरी कार्यान्वयन गर्ने भन्ने कुरा त जनप्रतिनिधिमार्फत् जनताले नै गर्ने हो । जनभावना अनुरूप जनप्रतिनिधिले स्थानीय सरकारमा रही कर संकलन गरी जनताकै उच्चतम हित र सुविधामा लगाउँछन् । उनले यस्तो भनिरहँदा मरो मनमा अर्को प्रस्न उब्जियो र सोधे जति पनि नेताहरू छन् या जनप्रतिनिधिहरू छन् उनीहरूले यो राज्यको कोषको सही सदुपयोग गर्छन् त ? कसैले गलत फाइदा उठाउने हुँदैन ? उनले मुस्कुराउँदै जवाफ दिइन् ‘पक्कै पनि सबै मान्छे एउटै हुन्छन् या इमान्दार हुन्छन् भन्न सकिन्न, मान्छेको चरित्र व्यक्ति अनुसार फरक हुन्छ, कहीं गलत पनि हुन्छन् तर हामीले हरेक व्यक्तिलाई शंका गर्ने या विश्वास गर्ने भन्दा पनि विधि या कानुनलाई विश्वास गर्ने हो । यदि कसैले कानुन विपरित गर्छ भने त्यो सजायको भागीदार हुन्छ, त्यसमा दुई मत नै छैन । र नेता चयन गर्दा खेरी नै यस्ता आधारभूत कुराहरू हेरेरै मात्र हुन्छ, जस्तै उसको इच्छाशक्ति, क्षमता, अनुभव, चरित्र जस्ता कुराहरू हेरेर नै नेता चयन हुन्छ र उसको कामलाई सहयोग र खबरदारी दुवै आवश्यकता अनुरूप हामीले नै गर्ने हुनाले नराम्रो प्रवृतिको मान्छे टिक्नै सक्दैन ।
अर्को दिन समुद्री छालहरू घुमाउन लागिन् । म त्यो रमणीय र मनोरम दृश्य हेरेर रमाइरहेको थिएँ, यत्तिकैमा एउटा रिसाएको चर्को आवाज मेरो कानमा पर्यो, ‘ए नानी त्यता किन गएको ? त्यहाँ के लेखेको छ हेर न, त्यता नजाउ फर्किहाल त ।’ यसरी किन कोही कराईरहेको भनेर हेर्दा त तिनै इसेला पो रहिछन्न । उनी त निकै रिसालु मुद्रामा देखिइन् । रातो अनुहार बनाएर ठूलो–ठूलो स्वरमा चिल्लाहीरहेकी, म अचम्भित भएँ । एक्कासी के भएछ यिनलाई ? उनले ती युवतीलाई गाली गरेर फर्काइन् । एकछिनमा शान्त भएपछि मलाई सुनाउँदै भनिन्, ‘मानिसहरू कतिसम्म लापरवाह हुन्छन्, उनीहरूलाई आफ्नो व्यक्तिगत रमाइलोको मात्र मतलब छ, सेल्फी भए पुग्छ, यो समुद्री सिल्सले आफ्नो बाच्छालाई कसैले छोइ दिए यो बाछालाई छोडिदिन्छ र त्यो बाछा मर्छ । त्यसैले त्यो क्षेत्रमा ‘रेस्ट्रिक्टेड’ भनेर लेखिएको छ, यो कानुनमै लेखिएको छ, हामीले यसको संरक्षणका लागि कर तिर्छौं । यी हाम्रा सम्पति हुन्, मानिसहरू एकपटक घुम्न आएर नष्ट गर्नु त भएन नि ?’ उनको कुरा सुन्दा मलाई लाग्यो, वाह्, कस्तो अपनत्व ? कस्तो जिम्मेवारीपन ? यस्तो लाग्यो कि त्यो उनैको सम्पति थियो जसको लागि उनि यति धेरै चिन्तित थिइन् । फेरि झसङ्ग भएँ, ए हो क्यार गणतन्त्रको सरकार भनेकै म (नागरिक) हो । उनले पनि त्यहाँको सुरक्षा अधिकारिलाई दोष लगाउन सक्थिन, भिडियो बनाएर सामाजिक सञ्जालमार्फत् के गर्दैछ सरकार भनेर राख्न सक्थिन् । वा नजरअन्दाज गर्न सक्थिन् तर उनले त्यसो केही गरिनन् एउटा सच्चा नागरिकको भूमिका निर्वाह गरिन्, गणतान्त्रिक अभ्यासको नमुना प्रस्तुत गरिन, सत्कर्म गरिन र मलाइ ठूलो ज्ञान सिकाइन, प्रेरणा दिइन एक जिम्मेवार नागरिकको ।
सबैभन्दा महŒवपूर्ण कुरा सोचाइ हो र सोचाइ भन्ने कुरा शिक्षा, संस्कार, सामाजिक मान्यता, राजनैतिक नेतृत्वशैली जस्ता कुराले विकास हुने कुरा हो । जुन पढेर, सुनेर भन्दा पनि देखेर धेरै विकास हुन्छ । र त्यहि सोच व्यक्तिको आचारण, प्रवृति र कार्यशैलीमा परिणत हुने गर्दछ । जब हरेक जनताको आचरण र प्रवृतिमा सुधार हुन्छ त्यहाँ हरेक व्यक्तिलाई मेरो हरेक व्यवहारले सरकारलाई पनि असर गर्दछ या सहयोग गर्दछ भन्ने कुराको अनुभूति हुँदो रहेछ । कानुनमा लेखिएका कुरा हरेकको व्यवहारमा देखिन थाल्दो रहेछ जब हरेकको व्यवहारमा देखिन्छ अनि उसलाई अनुभूत हुँदो रहेछ सरकार भनेकै म हो, सरकार सफल बनाउनु मेरो पनि जिम्मेवारी हो अनि पो देश सफल हुँदो रहेछ, अनि पो गणतन्त्र सफल हुँदो रहेछ, अनि पो संघीयता सफल हुँदो रहेछ ।
हामि राम्रो व्यवहार चाहन्छौं, राम्रो प्रवृति चाहछौं, राम्रो काम चाहन्छौं तर त्यसका लागि चाहिने राम्रो सोच परिवर्तनको भूमिका निर्वाह गर्न सक्दैनौं, प्रेरित गर्न सक्दैनौं र नतिजा जहिले अनपेक्षित नै पाउँछौं । त्यहाँको बसाइँमा धेरै घटनाहरूले निकै ठूलो प्रेरणाहरू दिइरहे जुन मेरा लागि सिकाइ बने । हामीले यातायातको लागि मेट्रो प्रयोग गर्दै–गर्दा त्यहाँ टिकेट काट्ने या टिकेट चेक गर्ने कुनै ठाउँ व्यक्ति नभेटेपछि मैले एक जनालाई सोधें र उसले त्यहाँ स्टेशनमा एउटा मेसिन देखाउँदै भन्यो ‘त्यो मेसिनबाट आफैले टिकेट या कार्ड लिने हो र त्यो कार्ड त्यो मेसिनले चेक गर्छ ।’ त्यसो भनिरहँदा मैले उसलाई एउटा प्रश्न सोधें ‘त्यसो भएत कसैले पनि छल्नसक्ने भो, विना टिकेट पनि यात्रा गर्नसक्ने भो त्यसरी त सरकारलाई घाटा पो हुन्छ होला ?’ उसले आश्चर्यको मुद्रामा मलाइ जवाफ दियो ‘हामी सबैले कानुनलाई विश्वास गर्ने हो हरेक व्यक्तिलाई शंका गर्न जरुरी नै छैन, त्यस्तो कसैले गर्छन भन्ने लाग्दैन । यद्धपि त्यसको लागि समय समयमा पुलिसले यो कुराको चेक गर्छ र यदि कोही विना टिकेट भए उसलाई हदैसम्मको जरिवाना हुन्छ, उसको प्रोफाइलमा नराम्रो दाग लाग्छ जुन कुराले उसको अन्य कुरामा समेत असर गर्छ त्यसैले त्यसरी छल्नेतर्फ सायदै कसैले सोच्छ ।
मलाइ हरेक व्यक्तिसँगको भेट, घटना र अनुभूतिले राज्य समृद्ध हुनुमा सबैभन्दा ठूलो भूमिका कसको हो भन्ने प्रष्ट पार्दै थियो । मैले देखेका र भोगेका कुराहरू राज्यको कानुनसँग सम्बन्धित पक्कै थिए तर ती कुराहरू कानुनमा मात्रै सीमित थिएनन्, ती हरेक जनताको मनसँग पनि जोडिएका छन्, फलस्वरूप व्यवहारमा देखिन्थे, अनि मैले हरेक जनताको व्यवहारमा सरकारको प्रतिनिधित्व देख्थें, अपनत्व देख्थें । म त्यहाँ गर्दा केही उद्देश्य बोकेर गएको थिएँ, संयुक्त राज्य अमेरिकाको संघीयता, सामाजिक विकास रणनीति, सामुदायिक संस्थाको भूमिका र त्यो सम्पूर्ण विषयमा एउटा नागरिकको हैसिएतले मेरो के भूमिका रहला ? आदि ।
सैद्धान्तिक रूपमै पनि संघीयता फरक पाउनु स्वभाविकै हो । ५० वटा अलग–अलग राज्यहरूको संघीय राज्य नै संयुक्त राज्य अमेरिका हो जसको बलियो आधार भनकै राज्यहरू हुन् जसमा संघीय राज्य र सथानीय तहको अस्तित्व टिकेको छ । जुन हामी कहाँ फरक छ, एउटै राज्यलाई सात वटा प्रदेशमा विभाजित हुनुलाई संघीयता भन्दा विकेन्द्रीकरणको सिद्दान्तमा आधारित भन्दा अझ उचित होला । तर जनताको अभिमतद्वारा सरकार वनी स्थानीय स्रोत, साधन र सम्भावनाका आधारमा जनताद्वारा नै सञ्चालित हुनुपर्छ भन्ने भावनाको चाहिँ समर्थन गर्नैपर्छ । यसै सन्दर्भमा नेपाली मुलका युवा नेता जसले भर्खरै सम्पन्न अमेरिकी चुनावमा मेरिल्याण्ड राज्यको राज्यसभा सदस्यको पदमा विजय हासिल गरे उनीसँग पनि छलफल, अन्तक्रिया गर्ने अवसर मिल्यो । उनले नेपालको समृद्धिका लागि केही महŒवपूर्ण सुझावहरू राखे । जस्तैः स्थानीय भूगोल, स्रोत र सम्भावना अनुरूपको विकास, पोषण, प्राकृतिक तथा आध्यात्मिक पर्यटन र राजनीतिमा इमान्दारिता जस्ता कुरालाई आत्मसात् गर्नसके नेपालको समृद्धि निश्चित छ ।
साझा बिसौनी ।