‘विप्लव समूह ठूलो चुनौती होइन’

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ फागुन ।
कर्णाली प्रदेशका सुरक्षा अधिकारीहरूले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह सुरक्षा चुनौती भएको बताइरहँदा गृहमन्त्री रामबहादुर थापाले भने विप्लव समूह ठूलो चुनौती नरहेको दाबी गरेका छन् । कर्णाली प्रदेशको सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न सुर्खेत आएका गृहमन्त्री थापाले पत्रकारहरू कुरा गर्दै यस्तो बताएका हुन् ।

थापाले विप्लवविरुद्ध कठोरताका साथ प्रस्तुत हुने समेत बताएका छन् । ‘यो अहिले धेरै ठूलो चुनौतीको रूपमा त होइन् तर राष्ट्रको शान्ति सुरक्षाका लागि केही सुरक्षा चुनौती भएको छ,’ थापाले भने ‘त्यो समूहले भखैरै देशव्यापी रूपमा विध्वांसात्मक गतिविधि विस्तार गरेको छ, उनीहरूलाई राज्यले केही पक्षमा संरक्षण र उन्मुक्ति दिएकाले उनीहरूको हौसला बढेको देखिन्छ ।’
गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपाले गर्ने भनेको क्रान्तीको अहिले कुनै आधार नभएकोले उनीहरू सफल हुने कुनै अवस्था नरहेको दाबी गरे । ‘हिजो राज्यका थप्रै कमजोरी थिए, जनता अधिकारका लागि लागेका थिए,’उनले थपे ‘हिजोको जस्तो राज्यको अवस्था नभएकाले पनि विप्लवको समूहको क्रियाकलाप सफल हुनेछैन, हुँदैन ।’
शान्तिपूर्ण रूपमा आए त्यही अनुसार सरकारले लिने र हिंसात्मक गतिविधि गर्न थाले निस्तेज पार्ने उनको भनाइ थियो । ‘अहिले देशमा नयाँ संविधान निर्माण भएको छ, देश विकास र समृद्धिको बाटोमा हिँडिरहेको छ, उनीहरू निस्तेज हुन्छन्’ थापाले भने । अब सरकारले राज्य विरोधी र संविधान विरोधी गतिविधिको अन्त्य गर्ने गृहमन्त्रीको भनाइ छ । ‘सरकार राज्यमा शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध छ, राज्य र संविधान विरोधी तत्व विरुद्ध सरकार कठोरताका साथ प्रस्तुत हुन्छ,’ गृहमन्त्रीले भने ‘कानुन बमोजिम नियन्त्रण गछौं, हामीले वार्ताका लागि पनि आव्हान पनि गरेका छौ मूल प्रवाहमा आउन आग्रह गरेका छौ ।’ विप्लव समूहको ज्यादति धेरै नटिक्ने गृहमन्त्री थापाको भनाइ छ । ‘स्थानीय तहमा अलिकति हस्तक्षेप गर्ने गरेको हामीले सुनेका छौं, त्यो धेरै दिन टिक्दैन, निस्तेज गर्छौं’ थापाले भने ।
उनले सरकारले एक बर्षमा अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ र विस्तार गर्ने काम गरेको बताए । उनले सरकारले संघीयता कार्यन्वयनका क्रममा संरचनागत कामलाई पूरा गरेका, विकासका आधारहरू तयार पार्ने काम गरेको, विकासाका निम्ति आवश्यक योजना निर्माण गरेको बताए । अब हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनले देशको विकासमा गति दिने थापाको दाबी छ ।
शान्ति सुरक्षाका क्षेत्रमा पनि आधारभूत रूपमा कायम गर्न सरकार सफल भएको बताए । सिके रावतको समूहलाई इंगित गर्दै थापाले भने ‘तराईमा देश विखण्डनमा लागेको समूहलाई मूलधारमा ल्याएका छौं, अन्य आपराधिक गतिविधिलाई पनि हामी निस्तेज गर्छौं ।’

प्रकाशित मितिः   २६ फाल्गुन २०७५, आईतवार १४:०१