‘स्वयम्सेविकालाई विभेद’

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ फागुन ।
पञ्चपुरी नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वमयसेविकाहरूले राज्यले आफूहरूलाई विभेद गरेको गुनासो गरेका छन् । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) पञ्चपुरी नगर कमिटीले शनिवार आयोजना गरेको प्रशिक्षण भेलामा सहभागी स्वास्थ्य स्वयम्सेवीहरूले यस्तो गुनासो गरेका हुन् ।
भेलामा उपस्थित आम श्रमिकहरूले स्थानीय सरकारले श्रम ऐन, कानुन र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा महŒवपूर्ण भूमिका खेल्नुपर्ने माग समेत गरेका छन् । जतिसुकै दुःख सहेर काम गरे पनि आश्वासन दिनेहरूको संख्या बढ्यो तर मागहरू पूरा नहुँदा अब कडा रूपमा प्रस्तुत हुने सहभागीहरूले जनाएका छन् ।
भेलाको उद्घाटन गर्दै पञ्चपुरीका नगर उप–प्रमुख मुक्तिदेवी रेग्मीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत आम स्वयम्सेवीहरूलाई उचित न्याय दिन पहिलो प्राथमिकतामा राखी नीति तथा कार्यक्रमहरू तय गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
जिफन्ट कर्णाली प्रदेश अध्यक्ष तेजप्रकाश जिसीले गाउँघरमा दिनरात नभनी निस्वार्थ सेवा गर्ने स्वयम् सेवीकाहरूलाई युनियन र युनियन व्यवस्थापन सम्बन्धी एक दिने प्रशिक्षण दिएका थिए । प्रशिक्षण समापनमा बोल्दै जिसीले स्वास्थ्य क्षेत्रमा सरकारले गरेको लगानी जतिसुकै बजेटमा उच्च देखिएता पनि स्वास्थ्य स्वयम्सेवीहरूले गरेको सेवा अनुसार पारिश्रमिक र सेवा सुविधाप्रति देखाएको व्यवहार सम्मान जनक नभएको आरोप लगाए । स्थानीय र प्रदेश सरकारले यस विषयमा गम्भीर भएर अबको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने औंल्याए । जिसीले समस्या समाधान गरेर श्रमिकको जीवन रूपान्तरण नै आजको आवश्यकता ठानेर सबै पक्ष एकजुट भएर लाग्न समेत सुझाव दिए ।
नगर कमिटी अध्यक्ष अध्यक्ष पवित्रा बिसीले स्वयम्सेवीको पीडा जति सुनाए पनि कम पर्ने बताउँदै अब सुनाउने होइन, मागेर अधिकार लिन सबैजना एकजुट भइ अगाडि बढ्ने बताइन् । नगर सचिव निर्मला सिंहले सञ्चालन गरेको सो भेलामा स्वास्थ्य इन्चार्ज सिद्धराज रेग्मीको समेत उपस्थिति रहेको थियो । स्वास्थ्य स्वयम्सेवीहरूले स्वास्थ्य क्षेत्रमा तत्काल उपयुक्त बजेट छुट्याउन समेत जोड दिएका छन् ।

प्रकाशित मितिः   २६ फाल्गुन २०७५, आईतवार १४:००