फोहोर व्यवस्थापन गर्न ट्याक्टर
साझा बिसौनी संवाददाता
सुर्खेत, ४ फागुन ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ ले वडाको फोहोर व्यवस्थापनका लागि ट्याक्टर खरिद गरेको छ । शुक्रवार बिहानदेखि सो ट्याक्टरले वडाभित्रको फोहोर बोकेर बिसर्जन गर्न थालेको छ ।
वडा अध्यक्ष निलकण्ठ खनालले सहरोन्मूख रहेको वडामा फोहोर बढ्दै गएको र बेलैमा व्यवस्थापनका लागि ट्याक्टर खरिद गरिएको बताए । उनले वडाकै करिब १९ लाखको बजेटबाट खरिद गरिएको ट्याक्टरले फोहोर व्यवस्थापन गर्न सहयोग पुग्ने जनाए । फोहोर व्यवस्थापनका लागि केही शुल्क लिइने उनको भनाइ छ । नगरपालिकाको ट्याक्टर फोहोर संकलनका लागि करिब १५ दिन पालो आउने गरेकोमा वडाको ट्याक्टरबाट अब प्रत्येक दिन फोहोर संकलन गरी व्यवस्थापन गर्ने वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष खनालले फागुन महिनाभर वडाका टोल विकास समितिहरूको सहयोगबाट फोहोर संकलन गर्दै बिसर्जन गरिने र त्यसपछि कार्यविधि अनुसार शुल्क लिएर फोहोर उठाइने बताए । कार्यविधि अनुसार बढी फोहोर गर्नेले बढी र कम गर्नेले कम शुल्क तिर्नुपर्ने उल्लेख छ । एक सय रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्म शुल्क तोकिएको छ ।
साझा बिसौनी ।