‘विकासको अवरोध भ्रष्टाचार’

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ माघ ।
प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णालीको समृद्धि र विकासका लागि भ्रष्टाचारलाई शून्यमा झार्नुपर्ने बताएका छन् । विकास निर्माणमा हुने भ्रष्टाचार र अनियमितताका कारण कर्णालीका बासिन्दाले विकासको अनुभूति गर्न नपाएको उनले बताए ।
‘कर्णाली आज पनि विकट छ, सबै ठाउँमा सञ्चार सुविधा पुग्न सकेको छैन’ उनले भने, ‘कर्णाली समृद्ध नहुनुको मुख्य कारण भ्रष्टाचार र अनियमितता हो, अब कर्णालीको परिचय बदल्नुपर्छ । कर्णालीमा भ्रष्टाचार हुनुहुँदैन ।’ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसका अवसरमा सोमवार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख खनालले भ्रष्टाचार न्यूनीकरणका लागि आयोग सक्रिय हुनुपर्ने बताए ।
‘विकासको सबैभन्दा ठूलो अवरोध भ्रष्टाचार हो, यसको अन्त्य विना विकासका लक्ष्य प्राप्त गर्न सकिदैंन’ उनले भने, ‘कर्णालीका जनतामा रहेको रोग, भोक, गरिबी, अशिक्षा र कु–संस्कारको अन्त्य गर्न कटिबद्ध भएर लाग्नुपर्ने बेला आएको छ ।’
प्रदेश प्रमुख खनालले इमान्दारिपूर्वक भ्रष्टाचारविहीन स्थानीय निकाय, प्रदेश र राष्ट्र निर्माणमा योगदान दिन सबैलाई आग्रह गरे । कर्णालीमा भ्रष्टाचारको अन्त्यका लागि कर्मचारी, राजनीतिक नेतृत्व र अख्तियारको कार्यालयले महŒवपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए । मुलुकका सात प्रदेशमध्ये कर्णाली प्रदेशलाई भ्रष्टाचाररहित दक्ष प्रशासन र स्वच्छ आर्थिक कारोबारमा अनुकरणीय नेतृत्व प्रस्तुत गर्न आव्हान गरेका थिए । उनले भ्रष्टाचार भइसकेपछि त्यसको रोकथाममा लाग्नुभन्दा पनि भ्रष्टाचार हुनै नदिने अभियानलाई सशक्त बनाउँदै अनुगमन, निरीक्षण र सचेतनाको पाटोलाई सक्रिय राख्न आग्रह गरे । ‘प्रशासकीय संरचना अनुरूप राष्ट्रिय, प्रदेश र स्थानीय साधन र सम्पत्तिको अक्षरस् सदुपयोग गर्ने, गराउने भूमिकामा अख्तियार सफल हुन्छ’ उनले भने, ‘राजनीतिक नेतृत्व र कार्यरत राष्ट्रसेवक कर्मचारीको अबको दायित्व भनेको भ्रष्टाचार न्यूनीकरण गर्दै जनताको समृद्धिका लागि जुट्ने हो ।’ आर्थिक तथा भौतिक सम्पत्तिको हिनामिना र रातारात धनी बन्न रकम लिनु मात्रै भ्रष्टाचार नभइ अनुशासनहिनता, समयमा कार्यालय नआउनु, तोकिएको जिम्मेवारी पूरा नगर्नु र मनोमानी रूपमा काम गर्नु तथा काममा अनियमितता देखिनु पनि भ्रष्टाचार भएको उल्लेख गरे । अख्तियार कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मितिः   २९ माघ २०७५, मंगलवार १५:३४