मगर भाषालाई कामकाजी बनाउन माग

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ पुस ।
सरकारी कामकाजमा मगर भाषा लागू गर्न सुर्खेतका मगर समुदायले माग गरेका छन् । माघे सक्रान्तिको पूर्वसन्ध्यामा आयोजना गरिएको माघी मेलामा मगर समुदायले प्रदेश र केन्द्र सरकारले मगर भाषालाई कामकाजी बनाउन माग गरेका हुन् ।
बुधवार वीरेन्द्रनगरको मंगलगढीचौकदेखि ¥यालीसहित रङ्गशाला पुगेका मगरसमुदायले मगर भाषाको सम्मान गर्दै सरकारले कामकाजमा लागू गर्नुपर्ने भन्दै नारा जुलुस गरेका थिए । यस्तै, उनीहरूले सरकारसमक्ष छुट्टै मगरात राज्य, मगर भाषामा पाठ्यक्रम निर्माण, भार्षिक संरक्षण लगायतका मागहरू राखेका थिए ।
माघी मेला आयोजक प्रचार–प्रसार उप–समितिका संयोजक दिपबहादुर राना मगरले मगर भाषालाई कामकाजी बनाउन सरकारले कन्जुस्याइँ गरेको बताए । उनले मगर समुदायका चाडपर्वलाई समेत सरकारले बेवास्ता गर्ने गरेकोे बताए । ‘दशैं–तिहारमा सार्वजनिक बिदा हुन्छ तर, माघीमा भने कुनै बिदा हुँदैन’ उनले भने, ‘यसरी सरकारले विभेद गरेको अनुभूति भएको छ ।’
बुधवारदेखि वीरेन्द्रनगरमा सुरु भएको उक्त मेलामा धनुषवाण, छेलो, कुर्ची दौड (महिलाका लागि मात्र), घैंटो फुटाल्ने (महिला÷पुरुष), एकल नृत्य र एकल गायन प्रतियोगिता हुँदैछन् । मेलामा मौलिक संस्कृति झल्कने सोरठी, ठाडी भाका, ख्याली, सालैजो मुख्य आकर्षणको रूपमा रहने संयोजक मगरले बताए । मेलामा मगर परिकारका खानेकुरा, मगर समुदायले बुनेका मगर ड्रेस तथा कन्दमुलहरूको स्टल राखिएको छ । २८ लाख खर्च अनुमान गरिएको उक्त मेला २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मितिः   २६ पुष २०७५, बिहीबार १२:३३