दुग्ध उत्पादनलाई प्रवद्र्धन गर्न जोड

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ पुस ।
पशुपालन व्यवसाय र दुग्ध उत्पादनलाई बढावा दिन सरकारले विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । नेपाल डेरी एशोसियशनको शनिवार वीरेन्द्रनगरमा सम्पन्न वार्षिक साधारणसभामा सहभागी व्यवसायीहरूले यस्तो बताएका हुन् ।
दुग्ध उत्पादनमा दिन प्रतिदिन लागत बढ्दै गएको भन्दै व्यावसायीले चिन्ता व्यक्त गरेका छन् । कूल ग्राहस्त उत्पादनको नौ प्रतिशत दुग्घ क्षेत्रले ओगटेको उनिहरूको भनाइ छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कर्णालीमा कृषि पकेट क्षेत्र तोक्न प्रदेश सरकारलाई आग्रह गरे । उनले मानिसलाई कुपोषणवाट बचाउने दुध जस्तो अमूल्य वस्तु उत्पादनमा किसानलाई प्रोत्साहन गर्नुपर्ने बताए । नेपाल डेरी एशोसियशनका अध्यक्ष राधाकृष्ण सापकोटाले दुग्ध क्षेत्रको विकासका लागि गोठ सुधार,
पशुलाई सन्तुलित आहार र अर्गानिक घाँस नै उपयुक्त हुने बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले पशुपालनलाई व्यवसायिक रूपमा विकास गर्न प्रदेश सरकार तयार रहेको बताइन् । कर्णालीमा अझै पनि दुध अपुग रहेको बताउँदै मन्त्री केसीले पशुपालनलाई प्रोत्साहन गर्ने कार्यक्रमको तयारी भइरहेको जनाइन् । ‘कृषि पेशालाई सम्मान गर्ने प्रवृत्तिको विकास हुन जरुरी छ’ मन्त्री केसीले भनिन् । सरकारले आगामी वर्ष दुग्ध जन्य वस्तु उत्पादनमा मात्रै विशेष बजेट विनियोजन गर्ने मन्त्री केसीको भनाइ छ ।
हाल कर्णाली प्रदेशमा दैनिक २ लाख लिटर दुध खपत हुने गरेको नेपाल डेरी एशोसियशनले जनाएको छ । दैनिक एक लाख लिटर दुध प्रशोधन हुने गरेको छ । यसबाट एक हजार जनालाई प्रत्येक्ष र तीन हजार लाई अप्रत्येक्ष रोजगारी दिइदै आएको एशोसियशनले जनाएको छ । दुग्ध व्यावसायबाट दैनिक २० लाख रूपैयाँ सहरबाट गाउँमा आउने गरेको एशोसियशनको दाबी छ ।

प्रकाशित मितिः   १५ पुष २०७५, आईतवार १४:००