सुर्खेतबाटै सवारी लाइसेन्स नवीकरण

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ पुस ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण सेवा सुर्खेतबाटै सुरु गरिएको छ । वीरेन्द्रनगरमा रहेको यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले सवारी चालक अनुमति पत्र नवीकरण सेवा सुरु गरेको हो ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. डम्बर खड्काको अनुमति पत्र नवीकरण गरी बिहीवारदेखि सेवा उद्घाटन गरेका छन् । यसअघि नवीकरण सेवा लिन कर्णालीका सेवाग्राहीहरू प्रदेश ५ को नेपालगन्ज धाउनुपर्ने बाध्यता थियो ।
वि.सं. २०७१ सालमा सुर्खेतमा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालयले एकलौटी फर्म तथा व्यक्तिगत आय, सवारी सधान, सवारी चालक अनुमितपत्र ईजाजत दस्तुर र यातायात क्षेत्रको आम्दानी मात्रै संकलन गर्दै आएको थियो । सुर्खेतबाटै सवारी चालक अनुमित पत्र नवीकरण सेवा सुरु भएपछि सेवाग्राहीलाई प्रदेश ५ को यातायात व्यवस्था कार्यालय नेपालगन्ज पुग्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । एक साताभित्रै सवारी दर्ता सेवा पनि सञ्चालनमा ल्याइने कार्यालयले जानकारी दिएको छ ।
सेवा उद्घाटन गर्दै मन्त्री ज्वालाले प्रदेशकै यातायात व्यवस्था सेवा कार्यालयलाई सक्षम बनाउन आवश्यक बजेट विनियोजन गर्ने र नयाँ लाइसेन्स वितरण सेवा पनि छिट्टै नै सञ्चालनमा ल्याइने जानकारी दिए ।

प्रकाशित मितिः   ६ पुष २०७५, शुक्रबार १२:०६