एकै दिन ६ जनाको मृत्यु

साझा बिसौनी संवाददाता
सुर्खेत, १२ मंसिर ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा श्रृंखलाबद्ध रूपमा सडक दुर्घटना भइरहेका छन् । डोल्पामा जीप दुर्घटना हुँदा १० जना यात्रुको मृत्यु भएको एक महिना नपुग्दै बुधवार दैलेख र सुर्खेतमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एकै दिन ६ जनाले ज्यान गुमाएका छन् ।


बुधवार बिहानै सुर्खेतबाट दैलेखको ठाँटीकाँध बाहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा पाँँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा ठाँटीकाँध गाउँपालिका–१ का ३० वर्षीय निर्मल बम, वडा नं. ३ का ४० वर्षीय राजेन्द्रबहादुर शाही, ४ की ४६ वर्षीया रत्ना शाही, ४६ वर्षीय रमेश शाही र २६ वर्षीय दिलिप शाहीको दुर्घटनामा परी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनास्थलमा दुई जनाको मृत्यु भएको थियो भने उपचारका लागि अस्पताल ल्याउने क्रममा तीन जनाको मृत्यु भएको हो ।
जीपमा सवार आठ जनामध्ये पाँच जनाको मृत्यु भइसकेको र तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठाकुर पोखरेलले जानकारी दिए । दुर्घटनाबाट ठाँटीकाँध–१ का २८ वर्षीय शमशेर बम, ३० वर्षीय युद्ध सूची र २८ वर्षीय मनिष रास्कोटी गम्भीर घाइते छन् । उनीहरूको उपचार दैलेखमा सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएको छ । जीप सडकदेखि करिब ५० मिटर तल खसेको थियो ।
‘कच्ची र घुमाउँरो सडकमा दुर्घटनाको जोखिम उच्च हुन्छ’ डीएसपी ठाकुरले भने, ‘बुधवार भएको दुर्घटना सडक गुणस्तरीय नहुनु पनि हो तर, जीप चालकको मृत्यु भएकाले दुर्घटनाको कारण भने खुलेको छैन ।’ प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उनले साँघुरो सडकमा जीप ‘ब्याक’ गर्दा दुर्घटना भएको बताए । कच्ची सडकमा चालकहरू हतारिने र सवारी साधनको अवस्थासमेत अनियन्त्रित हुँदा दुर्घटना हुने उनले बताए ।
यसैबीच बुधवार नै सुर्खेतको सिम्ता गाउँपालिका–४ गुनेभीरबाट भेरी नदीमा मोटरसाइकल खसेको छ । सल्यानको सल्लीबाट जामुनेतर्फ जाँदै गरेको मोटरसाइकल भेरीमा खस्दा एक जनाको मृत्यु भएको छ । भे ८ प ३४२४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जाजरकोटको शिवालय गाउँपालिका–९ नाडाका ३५ वर्षीय महेन्द्र चन्दको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।
मोटरसाइकल सडक भन्दा करिब एक सय मिटर तल भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनाका मृतक चन्दको शव बुझ्न आएका आफन्तहरू पनि दुर्घटनामा परेका छन् । चन्दको शव लिनका लागि जाजरकोटबाट सुर्खेत आउँदै गरेको ट्याक्टर सिम्ता गाउँपालिकाका–४ बालीखोलामा दुर्घटना भएको हो । लु ३ च ९५७७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनालाई नेपालगन्ज रिफर गरिएको छ । ओभर लोड र घुमाउरो सडक भएकाले दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेहेलकुनाका प्रहरी नायव निरीक्षक सर्वजीत बलेली मगरले बताए । ‘प्रकृति हेर्दा दुर्घटना टर्निङ्गमा भएको छ’ उनले भने, ‘क्षमता भन्दा बढी मान्छे चढेकाले घटना घटेको हो ।’ उनका अनुसार चालक फरार छन् ।
पछिल्लो समय कर्णालीका विभिन्न जिल्लामा नियमित जसो सवारी दुर्घटना हुनुमा यहाँको भौगोलिक अवस्था नै प्रमुख कारण भएको सुरक्षा निकायको निश्कर्ष छ । गत कार्तिक १९ गते डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । दुनै–जुफाल–सूँपानी सडक खण्डमा भएको
दुर्घटनामा परेका एक जना अझै बेपत्ता छन् । उक्त जीप दुर्घटनाको कारण कच्ची सडक भएको प्रहरीले जनाएको छ । ‘कच्ची बाटो दुर्घटनाको मुख्य कारण हो’ जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) अवदेश विष्टले भने, ‘यद्यपि चालकलाई हिरासतमा राखेर दुर्घटनाको अनुसन्धान भइरहेको छ ।’ कच्ची सडक, यात्रुहरूको अत्याधिक चाप, चालकहरूको लापरबाही लगायतका कारण कर्णालीका विकट क्षेत्रमा सडक दुर्घटना बढी हुने गरेको उनको भनाइ छ ।

प्रकाशित मितिः   १३ मंसिर २०७५, बिहीबार १६:१४