सुझाव संकलन गर्दै कांग्रेस

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ मंसिर ।
नेपाली कांग्रेसको आशन्न महासमिति बैठकमा पेश गर्ने राजनीतिक प्रस्ताव मस्यौदामाथि कर्णाली प्रदेशबाट सुझाव संकलन गरिदैंछ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा प्रदेशस्तरीय सुझाव संकलन कार्यशाला हुँदैछ ।
सुझाव संकलनका लागि सम्पूर्ण तयारी पूरा भएको कांग्रेस सुर्खेतले जनाएको छ । कार्यशालामा कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख उपस्थिति रहनेछ भने केन्द्रीय सदस्य किशोरसिंह राठौर, हृदयराम थानी र विज्ञ श्रीकृष्ण अनिरुद्र गौतमको पनि उपस्थितिमा मस्यौदामाथि सुझाव संकलन हुनेछ । सो कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा सदस्यहरू, महासमिति सदस्यहरू, क्षेत्रीय सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संगठनका प्रदेश प्रमुख तथा अध्यक्षहरू, नगरपालिकाका प्रमुख, उप–प्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवम् उपाध्यक्ष गरी करिब डेढ सय जनाको उपस्थिति रहने कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए ।
उनका अनुसार आज (मंगलवार) बिहान ९ बजेदेखि कार्यक्रम सुरु हुनेछ । कार्यशालामा कांग्रेसको विगत, वर्तमान र भविष्यको अवस्था, नयाँ पुस्तालाई आवद्ध गर्ने उपाय, स्थानीय, प्रदेश सरकारका काम कारबाही, वर्तमान सरकारप्रतिको हेराइ, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको व्यवस्थापन, अन्य दलप्रति कांग्रेको दृष्टिकोण, संघीयता कार्यान्वयनमा देखापरेका समस्या र समाधानका उपाय, परराष्ट्र नीति लगायतका बारेमा छलफल तथा सुझाव संकलन गर्ने बताइएको छ ।

प्रकाशित मितिः   ४ मंसिर २०७५, मंगलवार १५:४५