कर्णालीमा एक सय ७५ सदस्य

सुर्खेत, ८ कार्तिक । (साबिस)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटी एक सय ७५ सदस्यीय हुने भएको छ । पूर्व माओवादीबाट ८८ र पूर्व एमालेबाट ८७ जना गरी एक सय ७५ सदस्यीय प्रदेश कमिटी बनाउने प्रस्ताव कर्णालीबाट केन्द्रमा बुझाइएको छ । यो प्रदेशको इञ्चार्ज जनार्दन शर्मा, सह–इञ्चार्ज यामलाल कँडेल चयन भइसकेका छन् । प्रदेश अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मा छन् ।
कर्णाली र प्रदेश नम्बर २ बाहेक अन्य ५ प्रदेशका कमिटीमा औषतमा ५५÷४५ को अनुपातमा भागवण्डा गर्दै नेकपाका सातै प्रदेश कमिटीलाई पूर्णता दिने गरी प्रस्ताव तयार पारिएको छ । केन्द्रीय सचिवालयको बिहीवार बसेको बैठकले प्रदेश कमिटी र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको टुङ्गो लगाउन सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई जिम्मा लगाएको छ ।
प्रदेश कमिटीका पदाधिकारीहरू सँगको छलफल र यसअघिका कार्यदलले दिएको रिपोर्टका आधारमा प्रदेश कमिटीका सदस्यहरू टुङ्गो लगाइने महासचिव पौडेलले बताए । कतिपय प्रदेश कमिटीले स्थानीय तहको एकीकरणको कामसमेत अघि बढाइसकेका छन् ।
यसैबीच नेकपा सचिवालय बैठकले चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजनको गृहकार्य गर्ने जिम्मा पनि महासचिव पौडेल र सचिवालय सदस्य थापालाई दिएको छ । नेकपाको नौ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी
कमिटी बने पनि पोलिटब्यूरो बन्न बाँकी छ । विधान अनुसार केन्द्रीय कमिटीको एक तिहाई पोलिटब्यूरो हुनेछ । यस हिसाबले एक सय ४७ सदस्यसम्मको पोलिटब्यूरो गठन हुने स्रोतले जनाएको छ । त्यसो हुँदा तत्कालीन एमालेका सबै पोलिटब्यूरो सदस्यहरू समायोजन हुनेछन् भने तत्कालीन माओवादीका केन्द्रीय सचिवालय र स्थायी कमिटीमा रहेका नेताहरू पोलिटब्यूरोमा पर्नेछन् ।
थप संख्या वरिष्ठ केन्द्रीय सदस्यहरूबाट ल्याइने भएको छ । स्रोतका अनुसार प्रदेश कमिटी अध्यक्ष र सचिवहरूलाई पोलिटब्यूरो सदस्य बनाइने सम्भावना छ । ७७ जिल्ला इञ्चार्ज पोलिटब्यूरो सदस्यहरूबाट पठाउने सम्भावना रहेकाले प्रदेश पदाधिकारीहरूलाई पोलिटब्यूरो सदस्य बनाउनुपर्ने भएको हो । स्थायी कमिटी सदस्यहरू प्रदेश इञ्चार्ज भएकाले जिल्ला इञ्चार्ज पोलिटब्यूरो सदस्यहरूलाई बनाउने र महानगर तथा कतिपय राजनीतिक महŒवका स्थानीय तहमा केन्द्रीय सदस्यलाई इञ्चार्ज बनाउने तयारी भइरहेको स्रोतले बतायो । केन्द्रीय सदस्यहरूलाई भूगोलमा खटाउन यो योजना ल्याइएको हो ।

प्रकाशित मितिः   ९ कार्तिक २०७५, शुक्रबार १५:१०