गाडी दुर्घटना हुँदा ३२ जना घाइते

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ कार्तिक ।
सुर्खेतमा सोमवार गाडी दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । दैलेखदेखि सुर्खेतको वीरेन्द्रनगरतर्फ आउँदै गरेको फोर्स गाडी सोमवार दुर्घटना भएको हो । वीरेन्द्रनगर–१३ मा बा ५ ख ६२०५ नम्बरको फोर्स दुर्घटना हुँदा ३२ जना यात्रुहरू घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदिपबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुर्घटनाका घाइतेहरूको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ र देउती अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । ‘गाडी सडकदेखि करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको हो’ उनले भने, ‘गाडीका चालक फरार छन् । प्रहरीले खोजी गरिरहेको छ ।’

प्रकाशित मितिः   ६ कार्तिक २०७५, मंगलवार १५:२७