आठ जनाद्वारा अभियोग स्वीकार

साझा बिसौनी संवाददाता
कालिकोट, १८ असोज ।
कालिकोटमा एक युवतीमाथि सामूहिक बलात्कार भएको आरोपमा पक्राउ परेको आठै जनाले बलात्कार गरेको स्वीकार गरेका छन् । कालिकोटको खडाचक्र नगरपालिका–१० की १९ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा असोज ९ गते राती पक्राउ परेका उनीहरूले बलात्कार गरेको स्वीकारेको कालिकोटका डीएसपी विनोद शर्माले जानकारी दिए ।
१० दिनको म्याद लिएर अनुसन्धान गरेको प्रहरीले भोलि शुक्रवार उनीहरूलाई अदालत उपस्थित गराउने भएको छ । उनीहरूले ती युवतीमाथि असोज ९ गते बेलुका ६ बजे धिमाल देवताको पैठको मेला हेरेर घर फर्किने क्रममा सामूहिक बलात्कार गरेका थिए । बलात्कारको आरोपमा प्रहरीले खाँडाचक्र नगरपालिका खडाचक्र–९ का २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, २० वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विक, खडाचक्र–१० का १७ वर्षीय पर्व विक, १६ वर्षीय गोर्ख विक, १८ वर्षीय सर्जन विकलाई पक्राउ गरेको थियो । दुई जना भने अझै फरार छन् ।
सबै जनाले मादक पदार्थ सेवन गरेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।
उनीहरूमध्ये तीन जनाले बलात्कार गरिसकेको र बाँकीले बलात्कार गर्न लागेको अवस्थामा स्थानीय आएपछि भागेको प्रहरीले जनाएको छ । मेडिकल रिपोर्टमा पनि बलात्कार भएको पुष्टि भएको छ ।

प्रकाशित मितिः   १९ आश्विन २०७५, शुक्रबार १४:१४