लुम्बिनीसँग जोडिदैं काँक्रेविहार
साझा बिसौनी संवाददाता
सुर्खेत, २६ जेठ ।
सुर्खेतको ऐतिहासिक तथा पर्यटकीय स्थल काँक्रेविहार अब लुम्बिनीसँग जोडिने भएको छ । देशकै प्रमुख पर्यटकीय स्थल लुम्बिनी र काँक्रेविहार क्षेत्र बुद्धसँग सम्बन्धित भएकाले यी दुवै क्षेत्रलाई समावेश गरेर पर्यटन प्रवद्र्धन सम्बन्धी संयुक्त प्याकेज बनाइने भएको हो ।
लुम्बिनी आएका पर्यटकलाई काँक्रेविहारसम्म ल्याउनका लागि पहल समेत गरिनेछ ।
दोस्रो लुम्बिनीको रूपमा चर्चा बटुलेको काँक्रेविहारको आवश्यक विकास तथा संरक्षणमा अब लुम्बिनी विकास कोषले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यी दुई क्षेत्रलाई जोडेर पर्यटन प्रवद्र्धन गर्नका लागि सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुर्खेत आएको भैरहवाको टोली र सुर्खेतको टोलीले बुधवार वीरेन्द्रनगरमा सुर्खेत घोषणापत्र जारी गरेका हुन् । यो घोषणापत्र जारी भएसँगै अब लुम्बिनीले काँक्रेविहारको संरक्षकत्वको भूमिका खेल्नेछ ।
लुम्बिनी र काँक्रेविहारको विशेषता समान भएकाले एकीकृत पर्यटन विकासको योजना बनाउन दुई पक्ष सहमत भएका हुन् । घोषणापत्रमा लुम्बिनीले काँक्रेविहारको संरक्षकत्व प्रदान गर्ने, लुम्बिनी र सुर्खेतलाई एकीकृत भ्रमण प्याकेजको रूपमा विकास गर्ने, सुर्खेतदेखि लुम्बिनीसम्म सिधा हवाइ तथा सडक यातायात सेवा सञ्चालनका लागि पहल गर्ने, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी–सुर्खेत पर्यटन समिति गठन गर्ने र सरकारले घोषणा गरेको घुमफिर वर्ष–२०७३ लाई सफल बनाउने उल्लेख छ । यस्तै यसै वर्ष सुर्खेतको जिल्लास्तरीय टोलीले लुम्बिनीको भ्रमण गर्ने, लुम्बिनीमा आएका पर्यटकलाई काँक्रेविहारमा आउनैपर्ने खालका आकर्षक योजनाहरू बनाउने र मध्यपश्चिममा उत्पादन भएका सामग्रीहरू सेजमार्फत् निर्यात गर्ने पनि घोषषापत्रमा उल्लेख गरिएको छ । यसका लागि लुम्बिनी विकास कोष, सिद्धार्थनगर उद्योग वाणिज्य संघ, सुर्खेत उद्योग वाणिज्य संघ र नेपाल पर्यटन बोर्डले आवश्यक योजना बनाउने छन् ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी प्रेस क्लब भैरहवाले बुधवार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा यस्तो सहमति भएको हो । काँक्रेविहार नेपालमा रहेका बौद्ध सम्पदाहरू मध्येको महत्वपूर्ण क्षेत्र मानिन्छ । यो क्षेत्रमा ढुङ्गामा कुदिएका बौद्ध आकृति, महत्वपूर्ण प्राचीन बौद्ध सम्पदा र भग्नावशेषहरू रहेका छन् । काँक्रेविहारलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लुम्बिनीका पर्यटन व्यवसायीहरू तयार भएका
हुन् । उनीहरूले लुम्बिनी र काँक्रेविहारलाई जोडेर टूर प्याकेज बनाउने, लुम्बिनी–सुर्खेत–कर्णाली–गण्डकी पर्यटन सर्किट बनाउनुपर्ने, लुम्बिनी–सुर्खेत सिधा हवाइ उडान सञ्चालन गर्नुपर्ने लगायतका निश्कर्ष निकालेका छन् । काँक्रेविहारमा रहेका प्राचीन बौद्ध सम्पदाहरूको अध्ययन, अन्वेषण र संरक्षण गर्दै गुरुयोजना बनाएर लुम्बिनी आउने पर्यटकहरूलाई काँक्रेविहार ल्याउन सकिने उनीहरूको भनाइ छ । सो अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव हरिध्वज राईले पर्यटन प्रवद्र्धनका लागि पर्यटकलाई कौतुहलता सिर्जना गर्नुपर्ने बताए । साथै अब लुम्बिनी र काँक्रेविहार बीच मित्रता कायम भएको भन्दै उनले यसबाट पर्यटन विकासमा टेवा पुग्ने उल्लेख गरे ।
लुम्बिनी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष तुलसी चौधरीले काँक्रेविहारको पर्यटन प्रवद्र्धनका लागि लुम्बिनीदेखि सुर्खेतसम्मका भौतिक पूर्वाधारहरूको विकास गर्नुपर्ने बताए । लुम्बिनीबाट सुर्खेत हुँदै रारा तालसम्म पुग्ने रुटको विकास गरेमा यस क्षेत्रको पर्यटन विकासले गति लिने सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष डा. शान्तकुमार शर्माको भनाइ छ । यस्तै लुम्बिनीका पर्यटन व्यवसायी गोविन्द ज्ञवाली र मिथुनमान श्रेष्ठले लुम्बिनीको टूर प्याकेजमा काँक्रेविहारलाई पनि समेट्ने प्रतिबद्धता ब्यक्त गरे । मध्यपश्चिम क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले लुम्बिनीसँग जोडिएपछि काँक्रेविहारमा पर्यटकहरू आउने र यसले यस
क्षेत्रको आर्थिक विकासमा मद्दत पुग्ने बताए । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले लुम्बिनीदेखि सुर्खेत हुँदै सुदूरपश्चिमसम्म रहेका पर्यटकीय क्षेत्रहरूलाई जोड्न सके लुम्बिनी आउने पर्यटकलाई पश्चिम नेपालमै भुलाउन सकिने बताए ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ र सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले काँक्रेविहारलाई थप उत्खनन् गर्दै दोस्रो लुम्बिनीको रूपमा प्रचारप्रसार गर्नुपर्ने धारणा राखेका थिए । काँक्रेविहारलाई लुम्बिनीसँग जोड्ने सहमति भएसँगै यहाँका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् । कार्यक्रममा बोल्दै व्यवसायी टोपबहादुर रायमाझी, पर्यटन विकास मञ्च सुर्खेतका अध्यक्ष चिन्तामणि शर्मा, बागीना समूहका अध्यक्ष गोविन्द कोइराला, गैसस महासंघका अध्यक्ष हरिप्रसाद अधिकारी, जिविसका टंकप्रसाद लामिछाने लगायतले लुम्बिनी र सुर्खेतको पर्यटनलाई जोड्दा पश्चिमका सबै पर्यटकीय क्षेत्रहरूलाई समेटेर टूर प्याकेज निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।
साझा बिसौनी संवाददाता ।