भवन जीर्ण हुँदा पढाइ प्रभावित

जगतदल जनाला बिक
पञ्चपुरी, २१ भदौ ।
सुर्खेतको पश्चिममा रहेको पञ्चपुरी नगरपालिका वडा नम्बर ७ लेखकोट छाप्रेमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवनहरू जीर्ण हुँदा विद्यार्थीहरूको पढाइ प्रभावित बनेको छ ।


आधारभूत तहसम्म स्थायी मान्यता पाएको उक्त विद्यालयले अस्थायी रूपमा कक्षा ८ सम्म अध्ययन गराइरहेको छ । विद्यालयको कार्यालय भवनबाहेक सबै भवनहरू जीर्ण भएका छन् । लगातारको वर्षासँगै कक्षा ७ को भवन भत्केको छ । विद्यालयको अरु भवन नहुँदा कक्षा ६ र ७ लाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ । दुई वटा कक्षाका ६० जना विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयकी प्रधानाध्यापक भगवती रिमालले बताइन् । दुवै कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाउँदा हो–हल्ला हुने गरेको छ । दुई वटा कक्षाका विषय वस्तु पनि फरक हुने भएकाले प्रभावकारी रूपमा पढाइ सञ्चालन नभइ दिन काट्ने र विद्यार्थी भुलाउने काम भएको छ ।
‘पानी परिरहन्छ सबै भवनका भित्ताहरू चर्किएका छन्, अरु ठाउँ लिउँ भने दुई सय विद्यार्थी अटाउने भवन छैनन्’ प्रधानाध्यापक रिमालले भनिन्, ‘जिल्ला, प्रदेश र स्थानीय सरकारले समेत चासो दिएका छैनन् । नगरपालिकाबाट पोहोर पैसा छुट्याएनन् यो साल एक÷डेढ लाख छुट्याएका छन् भन्ने सुनिन्छ, कहिले आउने हो थाहा छैन ।’
उक्त विद्यालय मात्रै होइन छाप्रेका अन्य चार वटा विद्यालयको भवन पनि जीर्ण अवस्थामा छ । ती विद्यालयका पाँच सय भन्दा बढी विद्यार्थीहरू जोखिम कक्षामै बसेर अध्ययन गर्दै आएका छन् । भौगोलिक हिसाबले ठूलो र विकट ठाउँका रूपमा चिनिएको छाप्रेमा शिक्षा, स्वास्थ्य, यातायात जस्ता विकासका पूर्वाधार निर्माणका लागि बजेटमा नगरपालिकाले उपेक्षा गरेको पञ्चपुरी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कमल बयक बताउँछन् । उनले भने ‘नगरपालिकाबाट बजेट विनियोजन गर्दा पनि अन्य विकसित वडाहरू जस्तै बराबर बाँडिने भएकाले छाप्रेमा अपुग भएको छ ।’ विकासमा पछि परेको विकट क्षेत्रको पूर्वाधार विकास गर्नका लागि त्यहाँको भौगोलिक अवस्थालाई पनि हेरेर बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले साविक छाप्रेमा रहेका विद्यालयहरूका लागि नगरपालिकाले केही बजेट छुट्याएको बताए । उनले जीर्ण अवस्थामा रहेका विद्यालय भवनहरूको स्थलगत अनुगमन गरेर आवश्यक बजेटको व्यवस्था गरिने समेत जनाए ।

प्रकाशित मितिः   २२ भाद्र २०७५, शुक्रबार १५:४४