बालबालिकालाई सहयोग

साझा बिसौनी संवाददाता
पञ्चपुरी, २० भदौ ।
पञ्चपुरी नगरपालिकामा रहेका ५२ वटा सरकारी विद्यालयका एक सय ३६ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । कक्षा एकदेखि १० सम्म अध्ययनरत आर्थिक रूपले विपन्न, आमा–बुबा नभएका अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।
पञ्चपुरी नगरपालिकाले दुई लाख रूपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरिएको जनाएको छ । प्रत्येक विद्यालयका प्रधानाध्यापकले गरीब, विपन्न र अनाथ विद्यार्थीहरूलाई सिफारिस गरी सामग्री वितरण गरिएको पञ्चपुरी नगरपालिकाका शिक्षा शाखाका स्रोतव्यक्ति द्रोणराज पाठकले जानकारी दिए । विद्यार्थीहरूलाई झोला, विद्यालय पोशाक, कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।
नगरपालिकाका प्रमुख उपेन्द्र थापाले शिक्षाको उज्यालो किरणबाट कोही पनि बालबालिकालाई वञ्चित नगरिने बताए । आर्थिक विपन्नताका कारण केही बालबालिका विद्यालय जान नसकेको पाइएमा नगरपालिका र आफूले व्यक्तिगत रूपमै पनि सहयोग गर्ने उनले जनाए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख मुक्ति रेग्मी र लेखा अधिकृत रत्न सुवेदीले अभिभावकले पनि बालबालिकालाई अध्ययन गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए ।

प्रकाशित मितिः   २१ भाद्र २०७५, बिहीबार १५:५८