घरघरमा पुग्यो खानेपानी

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ भदौ ।
चार करोडभन्दा बढीको लागतमा बराहताल गाउँपालिकामा खानेपानी आयोजना निर्माण गरिएपछि साढे सात सय बढी घरधुरी लाभान्वित भएका छन् । एघार वर्षअघि एक सय ६४ वटा धारा वितरण गरेर सुरु गरिएको उक्त खानेपानी आयोजनालाई थप लगानी गरी सात सय ५६ घरपरिवारलाई धारा वितरण गरिएको हो ।
बराहताल गाउँपालिकाको वडा नम्बर–५ र ८ मा वि.सं. २०६४ सालमा बड्डिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बड्डिचौरले योजना सुरुवात गरेको थियो । समितिले स्थानीय दमारे खोला, कुन्टा खोला र सोतखोलाको पानी संकलन गरी दुई वटा वडामा वितरण गरेको छ ।
वि.सं. २०७१ सालमा आएको बाढीले क्षति पुगेपछि अवरुद्ध खानेपानी आयोजना पुनः सञ्चालनमा आएको हो । नेपाल सरकारको चार करोड ४७ लाख ६६ हजार रूपैयाँ लागतमा आयोजनाको थप स्तरोन्नति गरी घर–घरमा खानेपानी पु¥याइएको छ । समितिले आयोजनाको गुणस्तर सुधार गरी गुणस्तरयुक्त खानेपानी वितरण गरेपछि खोला र मुहानको पानीको प्रदूषित पानी पिउनुपर्ने बाध्यता टरेको छ । घरआँगनमै खानेपानी पुगेपछि स्थानीयहरू खुशी भएका छन् ।
गर्मीयाममा खानेपानीको समस्या र वर्षात्मा धमिलो पानी खानुपर्ने बाध्यता हटेको बराहताल गाउँपालिका–५ का स्थानीय चन्द्रा सुवेदीले बताइन् । ‘टोलभरी एउटा धारा थियो, कहिले पानी आउने कहिले नआउने समस्या थियो’ उनले भनिन्, ‘धारामा धमिलो पानी आउने गरेकाले स्वास्थ्य समस्याले ग्रसित हुन्थे । अहिले त्यस्तो छैन ।’ स्वच्छ पानी खुवाउने लक्ष्यसहित आयोजनाले दुई सय घनमिटरका दुई वटा आरसीसी ट्यांकी र २८ घनमिटरका चार वटा सिमेन्ट ट्यांकी निर्माण गरेको छ । दुई वटा मुहानदेखि १७ हजार तीन सय ८० मिटर प्रसारण लाइनमार्फत् प्रतिसेकेन्ड १२ लिटर पानी मुख्य वितरण केन्द्रसम्म पु¥याइएको छ । आयोजनाले हाल सात सय ७२ वटा निजी, १० वटा सार्वजनिक र न्यून आयस्तर भएका परिवारका लागि चार वटा धारा जडान गरेको छ ।
स्वस्थ पानी आँगनमै पुगेपछि तरकारीखेती गर्नसमेत सकिएको स्थानीय डम्मर गरंजाले बताए । विपन्न परिवारलाई लक्षित गरी आयोजनाले प्रतियुनिट ६ रूपैयाँका दरले शुल्क तोकेको छ । उक्त खानेपानी आयोजना सम्पन्न भएपछि तीन हजार पाँच सय ७७ जना प्रत्यक्ष लाभान्वित भएको आयोजनाका अध्यक्ष अर्जुनकुमार बुचा मगरले बताए । उनले आयोजनाको मुहानदेखिमाथि खेतीयोग्य जमिन भएकाले किसानहरूले खेतीमा गर्ने विषादी प्रयोग हटाउन चुनौती बनेको बताए । शतप्रतिशत शुद्ध खानेपानी वितरणको लक्ष्यसहित आयोजनाले घर–घरमा धारा वितरण गरिएको उनले बताए ।
स्तरोन्नति गरिएको आयोजनाको सोमवार नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री विना मगर र प्रतिनिधि सभा सदस्य नवराज रावतले उद्घाटन गरेका छन् । खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री मगरले स्वच्छ, स्वस्थ र गुणस्तरयुक्त पानी खान पाउने अधिकारको ग्यारेण्टी संविधानमा गरिएको बताइन् । जनताका समस्यामा सरकार सधैं काम गर्ने प्रतिबद्धतासहित उनले सरकारले खानेपानी समस्या समाधान गर्ने गरी काम थालेको बताइन् ।
यस्तै सुर्खेतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रावतले पश्चिम सुर्खेतका नागरिकले समृद्धिको अनुभूति गर्ने गरी विकास निर्माणमा लाग्ने बताए । ‘पश्चिम सुर्खेतका समस्याका बारेमा सरकार र सदनमा जानकारी गराइरहेको छु’ उनले भने, ‘संघीय सरकारसँग जनताका समस्या राख्ने र समाधानका लागि पहल हुन्छ ।’ खानेपानी, सडक, बत्ती लगायतका आयोजना निर्माण तथा स्तरोन्नतिका काम चालु आर्थिक वर्षमा नै थालिने उनले बताए ।
उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती, प्रदेश सभा सदस्य विन्दमान विष्ट, यज्ञ बिसी, बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत, क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतका प्रमुख आविद हुसैन लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १९ भाद्र २०७५, मंगलवार १८:०४