आन्दोलन थप सशक्त बनाउने तयारीमा प्राध्यापकहरु

सुर्खेत, २३ चैत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापकहरुले आन्दोलनलाइ थप सशक्त बनाउने निर्णय गरेका छन् । विश्वविद्यालयमा हाल कार्यरत प्राध्यापक तथा कर्मचारीहरुको हितविपरित सेवा आयोगको कार्यविधि बनाउन लागिएको भन्दै आन्दोलनमा उत्रिएका प्राध्यापकहरुले पठनपाठन नै ठप्प बनाउने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । 
प्राध्यापकहरुले सोमबार उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेपछि म‌ङ्गलवार दुइपक्षबीच वार्ता भएको थियो । तर वार्ता विफल भएपछि प्राध्यापकहरु थप आक्रोशित बनेका छन् । योसँगै  स्थापनासँगै सुरु भएको आन्दोलनको शृङ्खला केही महिनासम्म रोकिए पनि पुनः दोहोरिएको छ ।
प्राध्यापक तथा विद्यार्थीले आ–आफ्ना माग राखेर सङ्घर्षका कार्यक्रम सार्वजनिकसमेत गरेका छन् ।
विश्वविद्यालयले यही चैत १९ गते कर्मचारी तथा प्राध्यापकको करारमा लिने विज्ञापन सार्वजनिक गरेपछि प्राध्यापक तथा विद्यार्थी सङ्गठनले आन्दोलन थालेका हुन् । उनीहरुले अविलम्ब सो विज्ञापन रोक्न माग गर्दै सेवा आयोगबाट प्रक्रिया थाल्न सुझाव दिएका छन् ।
नेपाल प्राध्यापक सङ्घ मध्यपश्चिमाञ्चल विश्वविद्यालयले उक्त विज्ञापन तत्काल स्थगित गरी सेवा आयोगमार्फत स्थायित्व र पदोन्नतिको प्रक्रिया थाल्न माग गरेको छ ।
सङ्घका कावा सभापति अम्मरबहादुर रोकायले विश्वविद्यालयमा कार्यरत सम्पूर्ण प्राध्यापक तथा कर्मचारीको भेला बसेर विज्ञापन स्थगित गर्न माग गरे ।
प्रकाशित मितिः   २३ चैत्र २०७२, मंगलवार १५:४७