‘अनुगमन प्रभावकारी बनाऊ’

सुर्खेत, ३१ असार । (साबिस)
स्थानीय तहले निर्माण गरेका विकास आयोजनाको अनुगमन प्रभावकारी बनाउन सुझाव दिइएको छ । सुर्खेत जिल्लाको दोस्रो जिल्ला सभामा सरोकारवालाले आयोजनामा दुरूपयोग रोक्न अनुगमनलाई प्रभावकारी बनाउन सुझाव दिएका हुन् ।
विकास निमार्णमा हुने लापरबाहीले दिगो विकास सम्भव नभएको भन्दै उनीहरूले जिल्ला समन्वय समितिमार्फत् निरन्तर विकास आयोजनाको अनुगमन गर्न आग्रह गरेका हुन् । जिल्लामा विकास निर्माणका काम समयमा सम्पन्न नहुने गरेकाले नियमित अनुगमन गर्नुपर्ने सामाजिक विकास मन्त्री दल रावलले बताए ।
सांसद पद्मा खड्काले जिल्ला समन्वय समितिले अनुगमनमा कडाइ नगरे सरकारको लगानी सुरक्षित नहुने बताइन् । सभामा समन्वय समितिका प्रमुख छविलाल सिग्देलले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जिल्लाको जलस्रोत, शिक्षा, कृषि, पर्यटन, पशुपालन उद्योग व्यापार व्यवसाय प्राथमिकता दिइएको छ ।
जिल्ला समन्वय समितिले यस आवमा तीन करोड ७० लाख ५३ हजार निकासा भएकोमा दुई करोड १४ लाख ७३ हजार खर्च गरेको छ ।

प्रकाशित मितिः   ३२ असार २०७५, सोमबार १५:५९