सिँचाइ नहुँदा रोपाईंमा ढिलाइ

पानी माग्दै किसानद्वारा भेडा बली

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० असार ।
धान रोपाईंका लागि पर्याप्त पानी नपरेपछि सुर्खेतका किसानहरू ‘भगवान’ गुहार्न थालेका छन् । असार सकिन लाग्दासम्म पनि धान खेती गर्न नपाएका किसानहरूले पानी माग्दै मन्दिर धाउन थालेका हुन् ।


रोपाईंका लागि आवश्यक पानी नपरेपछि चिन्तित बनेका किसानहरूले मन्दिरमा भेडाको बलीसमेत चढाएका छन् । वीरेन्द्रनगर नगरपालिका–९ पातलगंगास्थित गणेशजल मन्दिरमा पानी माग्दै स्थानीय किसानहरूले शनिवार भेडाको बली दिइएका हुन् । देउता रिसाउँदा पानी नपरेको भन्दै किसानहरूले दिँदा भगवान खुशी पार्न भेडाको बली दिएका हुन् । अन्य ठाउँमा वर्षाले क्षति गरेका समाचार आइरहे पनि सुर्खेतमा भने पर्याप्त पानी परेको छैन । पानी नपर्दा नियमित सिचाइँ सुविधा भएका खेतबाहेक अन्य स्थानमा रोपाईं नभएकाले भगवानसँग पानी माग्दै गणेशजल मन्दिरमा भेडाको बली दिइ देउताको पूजा गरिएको पातलगंगाका स्थानीय कृषक टम चौधरीले बताए ।
पानी नपर्दा ब्याडमै धानको बीऊसमेत सुक्न थालेपछि मन्दिरमा पुजाआर्चना गरिएको हो । स्थानिय बुद्धिजीवि धु्रवकुमार श्रेष्ठका अनुसार पहिला–पहिला यसरी वर्षाको समयमा पानी नपर्दा पातलगंगा स्थित कुवामा गएर पूजा गर्दा पानी पर्दछ भन्ने जनविश्वास थियो । सोही विश्वास अनुसार पूजा गर्ने र पानी माग्ने प्रचलन रहेका श्रेष्ठको भनाइ छ । पुर्खादेखि नै गोठीकाँडाबाट खेती गर्न विगतमा सुर्खेत उपत्यकामा पुग्ने किसानहरूले उक्त मन्दिरमा भेडा, बोखा वा हाँसको बली दिने प्रचलन कायम भएको पाइन्छ । पानी नपर्दा देवी देउता रिसाएको विश्वासमा जनावरको बली दिइदै आएको हो ।
पानी नपर्दा असार अन्तिमसम्म पनि धान रोप्न नपाएका किसान पानी माग्दै सामूहिक रूपमा कुलदेवताको पूजाआजा गर्न थालेका हुन् । चौधरी बस्ती रहेका पातलगंगास्थित गणेशजल मन्दिरमा दिइने भेडाको बली प्रसादका
रूपमा खाने गरिएको छ । मन्दिरमा ब्राम्हण र थारु जातबाट मन्त्र जप्ने र उपस्थित किसानहरूले एकमुष्ट रूपमा पूजा अर्चना गरी भगवानसँग पानी मागिन्छ । तर, यस पटक भने ब्राम्हण र थारु जातीको गुरुवाले मन्दिरमा पूजा गर्न नमानेको कृषहरूले बताए । मन्त्र जप्न आग्रह गर्दा ब्राम्हण र गुरुवाले अस्वीकार गरेपछि स्थानीय कृषक प्रेमबहादुर बलीले पूजा गरेका हुन् ।

सुर्खेतमा ५० प्रतिशत रोपाइ
जिल्ला कृषि विकास कार्यालय सुर्खेतका अनुसार जिल्लामा हालसम्म करिब ५० प्रतिशत मात्रै रोपाई भएको छ । पर्याप्त वर्षा नभएका कारण रोपाईं ढिलो हुँदा धान उत्पादन घट्ने अनुमान कृषि कार्यालयको छ । समयमा पानी नपर्दा असारमा विगतका वर्ष भन्दा कम रोपाईं भएको हो । वरिष्ठ कृषि विकास अधिकृत कालिकाप्रसाद कोइरालाले आकाशे पानीका भरमा परेकै कारण रोपाईं पर्याप्त नभएको बताए । नहर, कुलो पुगेका स्थान र सुर्खेत उपत्यका बाहिर मात्रै रोपाईं भएको उनले जानकारी दिए । ‘पर्याप्त वर्षा नहुँदा पानीका मुहानसमेत फुटेका छैनन्’ उनले भने, ‘विगतका वर्षहरूमा जस्तो खोलामा बग्ने पानी नपरेकाले छिटफुट मात्रै रोपाईं भएका छन् । पानी नपरेकै कारण धान खेती हुने जमिनसमेत सुख्खा देखिएको छ ।’
विगतका वर्षहरूमा साना सिँचाइ आयोजना निर्माण तथा मर्मत सुधार गर्दै आएको कृषि विकास कार्यालयमा यस वर्षदेखि कुनै कार्यक्रम छैनन् । संघीय संरचना कार्यान्वयनमा आएसँगै अधिकार सम्पन्न मानिएको स्थानीय तहले बजेट विनियोजनको अधिकार पाएपनि कृषिलाई महŒव दिएका छैनन् । सडक निर्माण, विद्यालय भवन निर्माण, खानेपानी आयोजना लगायतका आयोजनामा कार्यकर्ता पोस्न र खुशी पार्न बजेट छुट्याएका जनप्रतिनीधिले कृषि उत्पादन बृद्धि गर्ने कार्यक्रममा पर्याप्त बजेट विनियोजन नगरेको गुनासो किसानहरूले गर्दै आएका छन् ।

प्रकाशित मितिः   ३१ असार २०७५, आईतवार १५:५५