पदक प्रतिस्पर्धामा कर्णाली कमजोर

दोस्रो दिनसम्म पदकविहीन

सुर्खेत: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा घरेलु टोली कर्णाली कमजोर देखिएको छ । प्रतियोगिताअन्तर्गत खेल सञ्चालनको दोस्रो दिनसम्म कर्णाली पदकविहीन बनेको छ ।

बुधवारसम्म ६८ वटा पदकको टुँगो लागिसक्दा कर्णालीले कुनै पनि पदक जित्न सकेको छैन । पदक तालिकामा १९ पदकसहित बागमती प्रदेश शीर्ष स्थानमा छ । उसले नौ वटा स्वर्ण पदक आफ्नो पोल्टामा पारिसकेको छ । चार वटा रजत र ६ वटा कास्यसहित पदक तालिमा आफ्नो वर्चस्व बनाउँदा विभागीय टोलीहरू पछि परेका छन् ।

बलिया मानिएका तीन वटै विभागीय टिमहरूलाई पछि पार्दै एनआरएनए दोस्रो स्थानमा रहेको छ । उसले दोस्रो दिनसम्म कुल नौ पदक जितेको । जसमा ६ वटा स्वर्णपदक, एउटा रजत र दुई वटा कास्यपदक छन् ।

तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लब पदक संख्यामा सबैभन्दा अघि छ, तर उसले अधिकांश रजत र कास्यपदक जितेको छ । तीन वटा मात्रै स्वर्णपदक हात पारेको पुलिस समग्र पदक तालिकामा तेस्रो स्थानमा रहेको हो । नेपाल आर्मी पनि १८ पदकसहित चौथो स्थानमा छ । उसले आठ वटा रजत पदक र आठ वटै कास्य पदक जितेको छ । जबकी स्वर्ण पदकको संख्या त्रिभुवन आर्मीसँग दुई वटा मात्रै छ ।

अर्को विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो दिनसम्म पदकविहीन नै छ । बरु सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशले केही पदक आफ्नो पोल्टामा पारिसकेका छन् । सुदूरपश्चिमले एउटा स्वर्णसहित दुई वटा रजत पदक हात पारेको छ । कोशीले एउटा स्वर्णपदक मात्रै जितेको छ । त्यसबाहेक प्रतियोगिताका अन्य प्रतिस्पर्धी टोलीहरू गण्डकी, कर्णाली, लुम्बिनी र मधेश प्रदेश पदकविहीन अवस्थामा छन् ।

प्रतियोगिता अन्तर्गत बुधवार पनि विभिन्न खेल सञ्चालन भए । महिला बास्केटबलतर्फ बुधवार चार वटा खेल सम्पन्न भएका छन् । नेपाल पुलिस क्लब र कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश, त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश तथा मधेश प्रदेश र बागमती प्रदेशबीच खेल भएका हुन् । कर्णाली रंगशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र बागमती प्रदेश विजयी भएका छन् । महिला बास्केटबलतर्फ मंगलवार पनि चार वटा खेल भएका थिए ।

यस्तै महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले जित निकालेको छ । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा एक सय १२ रन बनाएको थियो । एक सय १३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले तीन विकेटको क्षतिमा १८ ओभरमा लक्ष्य पूरा गर्‍यो । बुधवार नै भएको अर्को खेलमा कोशी प्रदेशले कर्णालीलाई ४९ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको कोशीले एक सय २५ रन बनाएको थियो । एक सय २६ रनको लक्ष्य पछ्याएको कर्णाली ७६ रनमै समेटियो ।

पुरुष फुटबलतर्फ बुधवारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लव विजयी भयो । आर्मी क्लवले लुम्बिनी प्रदेशलाई ३–० गोलले पराजित गरेको हो । अर्को खेलमा कोशी प्रदेश र बागमती प्रदेशले बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले २–२ गोल गरेपछि अंक बाँडिएको हो ।

प्रतियोगिताअन्तर्गतकै पौडीमा बुधवार चार नयाँ कीर्तिमान पनि बनेका छन् । पुरुष चार सय मिटरमा सुदूरपश्चिमका अर्थव सिंह, एक सय मिटर ब्रेस्ट स्ट्रोकमा बागमतीका अभिव प्रधान र महिला आठ सय मिटर फ्रिस्टायलमा एनआरएनएका लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

प्रकाशित मितिः   १० मंसिर २०८३, बिहीबार ११:३३