पूर्वाधार निर्माणमै विलम्ब

कर्णाली प्रदेशको विकासको प्रमुख आधार पूर्वाधार हो । सडक, पुल, भवन तथा अन्य भौतिक संरचनाको विस्तारबिना प्रदेशको आर्थिक, सामाजिक र भौगोलिक रूपान्तरण सम्भव छैन । तर, यही पूर्वाधार विकासको जिम्मेवारी बोकेको प्रदेश सरकार आयोजना कार्यान्वयनमा भने वर्सेनि कमजोर देखिँदै आएको छ । चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले अपेक्षित गतिमा काम अघि बढाउन नसक्नु यसको पछिल्लो उदाहरण हो । विकासका ठूला योजना बनाउने तर कार्यान्वयनमा सुस्ताउने प्रवृत्तिले कर्णालीको विकास यात्रालाई प्रभावित गरिरहेको छ ।

चालु आर्थिक वर्षमा मन्त्रालयले नयाँ कार्यान्वयन गर्नुपर्ने र स्रोत सहमति लिएर ठेक्का लगाउनुपर्ने गरी कुल पाँच सय २८ आयोजना अघि बढाउनुपर्नेछ । तर, हालसम्म जम्मा १२ वटा आयोजना मात्रै ठेक्का प्रक्रियामा जानु चिन्ताजनक अवस्था हो । अझ स्रोत सहमति लिएर कार्यान्वयन गर्नुपर्ने एउटा पनि आयोजना अघि बढ्न नसक्नुले सरकारी तयारी र कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएको छ । कुल आयोजनाको तुलनामा ठेक्का प्रक्रियामा प्रवेश गरेका योजनाको संख्या अत्यन्त न्यून छ । यसले विकास निर्माणको गति कति सुस्त छ भन्ने स्पष्ट पार्छ । प्रदेश सरकारको यो सुस्तताको एउटा कारण राजनीतिक अस्थिरता पनि हो । आर्थिक वर्षको सुरुवातमै सरकार परिवर्तनको राजनीतिक गोलचक्करमा अल्झिँदा प्रशासनिक तथा विकास निर्माणका काम प्रभावित भए । सरकार परिवर्तन हुनु लोकतान्त्रिक प्रक्रियाको हिस्सा हो, तर त्यसको असर बजेट र योजनाको कार्यान्वयनमा पर्नु हुँदैन । सरकारमा जो आए पनि प्रदेशको विकास प्राथमिकता र प्रशासनिक कामले निरन्तरता पाउनुपर्छ । नेतृत्व परिवर्तनसँगै योजना कार्यान्वयनको गति रोकिने हो भने प्रदेशको विकास कहिल्यै अपेक्षित दिशामा अकघि बढ्न सक्दैन ।

कर्णाली प्रदेशको कुल ३५ अर्ब ३९ करोड रूपैयाँ बजेटमध्ये भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले मात्रै १० अर्ब ९३ करोड २१ लाख रूपैयाँ पाएको छ । यसमध्ये विकास बजेट १० अर्ब ५९ करोड रूपैयाँ छ । तर, कार्तिक मसान्तसम्म विकास बजेटको ६.४४ प्रतिशत अर्थात् ६८ करोड २१ लाख रूपैयाँ मात्रै खर्च भएको छ । विकासका लागि छुट्याइएको ठूलो बजेट खर्च हुन नसक्नुले प्रदेशको विकास प्राथमिकता र कार्यान्वयनबीचको दूरी देखाउँछ । चालुतर्फ २०.६१ प्रतिशत खर्च हुँदा विकासतर्फको खर्च निकै न्यून रहनुले प्रशासनिक खर्च र विकास निर्माणको प्राथमिकताबीच सन्तुलन कायम हुन नसकेको संकेत गर्छ । गत वर्ष पाँच सय १२ नयाँ आयोजना छनोट गरिएकामा कार्तिक मसान्तसम्म दुई सय ४५ आयोजनाको ठेक्का लागिसकेको थियो । यस वर्ष भने पाँच सय २८ आयोजनामध्ये १२ वटा मात्रै ठेक्का प्रक्रियामा जानुले विगतबाट पाठ सिक्न नसकेको देखाउँछ ।

प्रकाशित मितिः   ९ मंसिर २०८३, बुधबार ०५:०३