स्वच्छताका लागि पहल

स्वस्थ जीवनका लागि स्वच्छ, ताजा र गुणस्तरीय खाद्यवस्तुको उपभोग अपरिहार्य हुन्छ । त्यसमध्ये मासु मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील खाद्यवस्तु हो । तर हाम्रो समाजमा मासु उत्पादन, वध, भण्डारण र बिक्री वितरणमा आवश्यक स्वच्छता तथा स्वास्थ्य मापदण्डको पालना नहुँदा उपभोक्ताको स्वास्थ्य जोखिममा पर्ने गरेको छ । यही अवस्थालाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिकाले व्यवस्थित पशु वधशाला सञ्चालन गर्ने तयारी गरेको छ । जुन निकै महङ्खवपूर्ण र सकारात्मक पहल हो ।

अहिले वीरेन्द्रनगरको हटिया क्षेत्रमा सञ्चालन हुँदै आएको पशु वधशाला आवश्यक मापदण्डअनुसार व्यवस्थित छैन । अव्यवस्थित स्थानमा पशु वध गर्ने र मासु बिक्री वितरण गर्ने प्रवृत्तिले एकातिर वातावरणीय प्रदूषण बढाउने जोखिम छ भने अर्कोतर्फ उपभोक्ताको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्छ । यस्तो अवस्थामा वीरेन्द्रनगर ७ मा आवश्यक पूर्वाधारसहित वधशाला निर्माण गरिनु नगरको सार्वजनिक स्वास्थ्य र खाद्य स्वच्छताका दृष्टिले महत्वपूर्ण कदम हो । नगरपालिकाले दुई करोड ३५ लाख रूपैयाँ खर्च गरेर मासु बिक्री कक्ष निर्माण गर्नु र यस वर्षदेखि निजी क्षेत्रसँगको सहकार्यमा वधशाला सञ्चालन गर्ने तयारी गर्नुले यस क्षेत्रलाई व्यवस्थित बनाउने प्रयास अघि बढेको देखिन्छ । पशु वधशाला र मासु जाँच ऐन, २०५५ ले पशु वध गर्नुअघि स्वास्थ्य परीक्षण गर्नुपर्ने, रोगी पशुको वधमा रोक लगाउनुपर्ने, वधपछि मासुको परीक्षण गर्नुपर्ने र बिक्रीयोग्य मासुमा आवश्यक छाप वा चिह्न लगाउनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, रोग लागेर वा अन्य कारणले मरेका पशुको मासु बिक्री गर्न नपाइने र मिसावटयुक्त मासुको कारोबार गर्न नहुने स्पष्ट प्रावधान छन् । यी व्यवस्थाको मुख्य उद्देश्य उपभोक्तालाई स्वच्छ र सुरक्षित मासु उपलब्ध गराउनु हो । तर ऐन बनेको लामो समय बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नु हाम्रो नियमन प्रणालीको कमजोरी हो । अहिले सरकारले काठमाडौं उपत्यकाबाट मासु निरीक्षक परिचालन गरी वधशाला तथा मासु पसलको अनुगमन सुरु गर्नुले कानुनी व्यवस्थालाई व्यवहारमा उतार्ने प्रयास अघि बढेको देखिन्छ ।

वीरेन्द्रनगरमा निर्माण भएको वधशाला पनि संरचना निर्माणमा मात्र सीमित हुनु हुँदैन । यसको वास्तविक सफलता नियमित सञ्चालन, दक्ष जनशक्ति, पशु स्वास्थ्य परीक्षण, मासुको गुणस्तर जाँच, सरसफाइ र प्रभावकारी अनुगमनमा निर्भर हुनेछ । नगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गरेर सञ्चालनको तयारी गरिरहँदा जिम्मेवारी र जवाफदेहिताको स्पष्ट व्यवस्था गर्नुपर्छ । मासु निरीक्षकको नियमित उपलब्धता, पशु चिकित्सकको निगरानी, फोहोर तथा रगतको उचित व्यवस्थापन, स्वच्छ पानी, शीतभण्डारण र उपकरणको नियमित सरसफाइलाई अनिवार्य बनाउनुपर्छ । त्यस्तै, वधशालाबाट उत्पादित मासुमा परीक्षणको आधिकारिक छाप लगाउने व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्छ ।

प्रकाशित मितिः   ७ मंसिर २०८३, सोमबार १६:४८