एकीकृत सुरक्षा योजना बनाइने

सुर्खेत: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि एकीकृत सुरक्षा योजना बनाइने भएको छ । सुरक्षा निकायका छुट्टाछुट्टै योजनालाई एकीकृत गरी संयुक्त सुरक्षा योजना बनाउन कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले निर्देशन दिएका छन् ।

शुक्रवार वीरेन्द्रनगरमा आयोजित सुरक्षा समन्वय बैठकमा मुख्यमन्त्री शाहीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका र राष्ट्रिय अनुसन्धान विभागले योजनालाई एकीकृत गरी स्पष्ट कमान्ड र जिम्मेवारीसहितको कार्ययोजना बनाउन निर्देशन दिएका हुन् । सुरक्षा व्यवस्थापन कुनै एक व्यक्ति वा समितिको मात्र नभइ सबै पक्षको साझा दायित्व भएको भन्दै उनले सूचना आदानप्रदान र नियमित समन्वयमा जोड दिए ।

प्रतियोगिताका लागि बजेट अभाव भएको र थप रकम चाहिएको भन्ने फरक–फरक अभिव्यक्तिले अन्योल सिर्जना गरेको उल्लेख गर्दै उनले स्वीकृत बजेट, हालसम्मको खर्च र अपुग रकमको विवरण माग गरेका छन् । आवश्यक खर्च गर्न प्रदेश सरकार तयार रहेको तर त्यसको प्रयोजन र औचित्य स्पष्ट हुनुपर्ने उनको भनाइ थियो । सम्बन्धित मन्त्री, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव र सचिवलाई आवश्यक विवरणसहित प्रस्ताव तयार गर्न उनले निर्देशन दिए । करिब १० हजार दर्शक क्षमता रहेको प्रदेश रंगशालामा क्षमताभन्दा बढी दर्शक प्रवेश गराउन नहुने भन्दै उनले सोहीअनुसार प्रवेश पास वितरण गर्न सुझाव दिए ।

भीड व्यवस्थापनका लागि प्रवेश र बाहिरिने मार्ग एकतर्फी बनाउन तथा उद्घाटन र समापन समारोहको प्रत्यक्ष प्रसारण अन्य स्थानमा पनि गर्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ थियो । सामाजिक विकास मन्त्रालयका सचिव रोशनी श्रेष्ठले खेलस्थल, खेल तालिका, खेलाडीको संख्या र आवागमनको विवरण सुरक्षा निकाय तथा स्थानीय तहलाई समयमै उपलब्ध गराउनुपर्ने बताइन् । साइकलिङजस्ता खेलका रुट पहिल्यै निर्धारण गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको तयारी गर्नुपर्ने उनको भनाइ थियो ।

श्रेष्ठका अनुसार प्रदेश खेलकुद परिषद्ले प्रतियोगिताका लागि थप रकम माग गरेको छ । तर उक्त रकम कुन स्रोत वा बजेट शीर्षकबाट उपलब्ध गराउने भन्ने स्पष्ट छैन । प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सञ्चालनमै ८० देखि ९० लाख रूपैयाँ अपुग रहेको र परिषद्ले कर्मचारी तथा सवारीसाधनको आवश्यकतासमेत स्पष्ट नपारेको उनले बताइन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले तीन वटै सुरक्षा निकायबीच समन्वय गरेर संयुक्त सुरक्षा योजना बनाइने बताए । खेलस्थलमा सीसीटीभी जडानका लागि स्रोत अभाव भए प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य गरेरे राखेपले पनि सहकार्य गर्ने उनको भनाइ छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले प्रतियोगितामा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको जानकारी दिए ।

प्रकाशित मितिः   ५ मंसिर २०८३, शनिबार ०५:०१