प्राज्ञिक लेखनसम्बन्धी कार्यशाला

सुर्खेत: नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) कर्णाली प्रदेशको आयोजनामा प्राज्ञिक लेखन तथा प्रस्तुतीकरण सीपसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । अमरज्योति माध्यमिक विद्यालय नेवारेमा कार्यशाला सञ्चालन गरिएको हो ।

नेल्टा कर्णाली प्रदेशका प्रेसिडेन्ट धनीराम शर्माको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यशालामा सल्लाहकारहरू खगेन्द्रबहादुर थापा, नेत्रमणि चालिसे लगायत अङ्ग्रेजी शिक्षकहरूको उपस्थिति रहेको थियो । शिक्षकहरूको प्राज्ञिक लेखन, अनुसन्धान तथा प्रस्तुतीकरणसम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यशालामा चार जना सहजकर्ताले विभिन्न विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तथा योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले शैक्षिक अनुसन्धान तथा प्रकाशनका विविध पक्षबारे प्रस्तुति दिएका थिए । शिक्षक तालिम प्रशिक्षक लोकबहादुर खत्रीले कक्षाकोठाका अनुभवलाई अनुसन्धान तथा सम्मेलन प्रस्तुतिसँग जोड्ने विषयमा सहजीकरण गरेका थिए ।

त्यसैगरी, नेल्टा कर्णाली प्रदेशका अध्यक्ष धनीराम शर्माले प्राज्ञिक लेखन तथा व्यावसायिक विकासका विषयमा र महासचिव बेतेन्द्र कुमार दहालले सम्मेलनका लागि प्रस्तावना, सारांश, सत्रको रूपरेखा तथा प्रभावकारी पावरपोइन्ट प्रस्तुतीकरण निर्माणका पक्षमा सहजीकरण गरेका थिए । कार्यशालाले शिक्षकहरूलाई आफ्ना शिक्षण अनुभव र अभ्यासलाई अनुसन्धानमूलक लेखनमार्फत अभिलेखीकरण गर्न तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्राज्ञिक सभासम्मेलनमा प्रस्तुत गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको महासचिव दहालले जानकारी दिए ।

प्रकाशित मितिः   २० कार्तिक २०८३, शुक्रबार ११:३८