नजिकिदै दशौँ राष्ट्रिय खेलकुद

सुर्खेत: आउँदो मंसिर १६ गतेबाट सुरु हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘काउन्टडाउन’ सुरु भएको छ । प्रतियोगिता सुरु हुन अब ३० दिन मात्रै बाँकी रहँदा सोमवारबाट यसको काउन्टडाउन औपचारिक रूपमा सुरु गरिएको हो ।

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको यो बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने तय भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको उपस्थितिमा सुर्खेतमा आयोजित विशेष छलफलसँगै ३० दिने काउन्टडाउन सुरु गरिएको हो । प्रतियोगिताका लागि देशका विभिन्न जिल्ला तथा प्रदेशहरूमा जिल्लास्तरिय खेलाडी छनोट प्रक्रिया तीव्र रूपमा चलिरहेको छ ।

खेलकुदलाई सुरक्षित र व्यवस्थित बनाउन कमान्ड पोस्ट, मोबाइल गस्ती र कार्यक्रमस्थल सुरक्षासहित १८ प्रकारका जिम्मेवारी तोकेर एक हजार एक सय २६ जना सुरक्षाकर्मी परिचालन गर्ने योजना स्वीकृत भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव रविन्द्र चन्दले बताए । दशौँ संस्करणको मस्कटमा लोपोन्मुख वन्यजन्तु ‘रेडपान्डा’ (हाब्रे) रहेको छ भने लोगोमा नेपालको राष्ट्रिय झन्डा (चन्द्र–सूर्य) र सात रङ अंकित गरिएको छ । कर्णालीका विभिन्न स्थानमा आयोजना हुने यस प्रतियोगितामा कुल ३२ भन्दा बढी खेल विधाहरू समावेश गरिएको सचिव चन्दले जानकारी दिए ।

२० असोजबाट प्रतियोगिता आयोजक मूल समितिको सचिवालय सञ्चालनमा ल्याइएको छ । प्रतियोगिताका लागि आवश्यक समन्वय र व्यवस्थापनका कामलाई तीव्रता दिइएको परिषद्ले जनाएको छ । खेलस्थल, खेलाडी तथा पदाधिकारीको आवास, यातायात, सुरक्षा र स्वास्थ्यलगायत व्यवस्थापन सचिवालयमार्फत समन्वय गरिने आयोजकले जनाएको छ । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुदलाई कर्णालीले खेल उत्सवका रूपमा लिन थालेको बताएका छन् । उनले प्रतियोगिता खेलाडीबीचको प्रतिस्पर्धामा मात्र सीमित नभइ कर्णालीको खेल गतिविधि विस्तार र विकासका निम्ति महŒवपूर्ण अवसर भएको उल्लेख गरे । प्रतियोगिता सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, खेलकुदसँग सम्बन्धित निकाय तथा सरोकारवाला सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेकामा उनले जोड दिए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन चन्दले सचिवालय सञ्चालनमा ल्याइएसँगै दशौँ राष्ट्रिय खेलकुदको तयारीले दिएको र सोमवारदेखि काउन्टडाउन सुरु भएको जानकारी दिए ।

प्रतियोगिता लक्षित ठाउँ–ठाउँमा खेलपूर्वाधार निर्माण भएका छन् । कर्णालीले पहिलो पटक यति ठूलो खेलकुद प्रतियोगिता आयोजनाको अवसर पाएको छ । प्रतियोगिताकै लागि प्रदेशका जिल्ला–जिल्लामा पूर्वाधार निर्माण गरिएको छ । भएका पूर्वाधारलाई मर्मत–सुधारसहित नयाँ पूर्वाधारको विकास निर्माण गरिएको हो । दैलेख र रूकुमपश्चिममा भएका कभर्डहलको मर्मत गरिएको छ । जुम्ला र हुम्लामा पनि खेल मैदान निर्माण भएका छन् । जाजरकोट र कालीकोटमा पनि पूर्वाधार निर्माण गरिएको छ । थप बजेटको व्यवस्था गरेर नयाँ कभर्डहल निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

वीरेन्द्रनगरस्थित प्रदेश गौरवको रंगशाला निर्माण भएको छ । भिआइपी पाराफिटतर्फ माथिबाट आकर्षक टनेल लगाइएको छ । रंगशाला भित्रिन र बाहिरिन १२ वटा साना तथा ठूला गेटहरू निर्माण गरिएका छन् । भिआइपी पाराफिट मुनीको दुई तल्ला अफिसियल काम र खेलाडीहरूका लागि पर्याप्त हलहरू निर्माण गरिएका छन् । साथै दुई सयभन्दा चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन राख्न मिल्ने अण्डरग्राउण्ड पार्किङ बनाइएको छ । मुख्य रंगशालाको बाहिरपट्टि भलिबल कोर्ट, बास्केटबल, स्वीमिङ कोर्टहरू तयार भइसकेका छन् । छेउ छेउमा दुई ठूला कभर्ड हलहरू निर्माण गरिएका छन् । यहाँ एक साथ १२ वटा खेल खेलाउन सकिने जनाइएको छ । कर्णालीको परिचयकै रूपमा रहेको पञ्चदेवल आकृतिमा हरेक गेटमा निर्माण गरिएको छ । रंगशालाको विभिन्न स्थानमा प्रयोग भएका ढुंगाहरू कर्णालीकै हुन् । विदेशबाट खरिद गर्नुपर्ने टायल प्रयोग नगरी पाराफिटदेखि सिँढी, पञ्चदेवल र वालहरूमा कर्णालीकै ढुंगा प्रयोग गरिएका छन् । करिव नौ विघा जमिनमा बनाइएको रंगशाला देशकै लागि नमूनायोग्य खेल संरचना भएको कर्णाली खेलकुद विकास परिषद्को दाबी छ ।

प्रकाशित मितिः   १८ कार्तिक २०८३, मंगलवार ०५:०५