सडक सुरक्षामा ध्यान

सुर्खेतको वीरेन्द्रनगरमा बढ्दो सवारी चाप र सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनु अपरिहार्य भइसकेको छ । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा जनसंख्या, सहरीकरण र सवारीसाधनको संख्या बढ्दै जाँदा सडकमा चाप बढेको छ । तर, सोही अनुपातमा सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन र पैदलयात्रीको सुरक्षामा पर्याप्त सुधार हुन सकेको छैन । यस्तो अवस्थामा वीरेन्द्रनगरका मुख्य चार चोकमा ट्राफिक लाइट जडान हुनु सकारात्मक कदम हो । यद्यपि, लाइट जडान गर्नु मात्रै समस्याको समाधान होइन, त्यसको प्रभावकारी सञ्चालन र समग्र सडक व्यवस्थापनमा ध्यान दिनु उत्तिकै आवश्यक छ ।

सडक विभागले पहिलो चरणमा मंगलगढी चोक, यरीचोक, तीनकुने चोक र पीपीराचोकमा ट्राफिक लाइट जडान गरिसकेको छ । करिब ८० लाख रूपैयाँको लागतमा सम्पन्न यो काम बढ्दो सवारी चाप व्यवस्थापन र दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले अघि बढाइएको हो । परीक्षणसमेत भइसकेका लाइट नागरिकलाई सचेतना प्रदान गर्ने र ट्राफिक प्रहरीलाई आवश्यक तालिमको व्यवस्था गरेर सञ्चालनमा ल्याउने तयारी हुनु स्वागतयोग्य छ । यसले चोकहरूमा सवारी आवागमन व्यवस्थित गर्न, अनावश्यक जाम घटाउन र चालकलाई ट्राफिक नियम पालना गर्न अभ्यस्त बनाउन सहयोग पु¥याउन सक्छ । तर, प्रविधि जडान गर्दैमा सडक सुरक्षा सुनिश्चित हुन्छ भन्ने सोच पर्याप्त हुँदैन । ट्राफिक लाइटको प्रभावकारिता त्यसको नियमित सञ्चालन, सवारी चालकको अनुशासन, पैदलयात्रीको सचेतना र ट्राफिक प्रहरीको उपस्थितिमा निर्भर हुन्छ । विशेषगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयले अहिलेको जनशक्तिबाट थपिएका स्थानमा ट्राफिक लाइट सञ्चालन गर्न कठिनाइ हुने जनाएको सन्दर्भलाई गम्भीरतापूर्वक लिनुपर्छ । आवश्यक जनशक्ति र प्राविधिक व्यवस्थापनबिना लाखौँ रूपैयाँ खर्च गरेर जडान गरिएका उपकरण प्रभावहीन बन्न सक्छन् । त्यसैले सम्बन्धित निकायले ट्राफिक प्रहरीको जनशक्ति थप गर्न पहल गर्नुका साथै उपकरणको मर्मतसम्भार र नियमित अनुगमनको व्यवस्था मिलाउनुपर्छ ।

अर्कोतर्फ, वीरेन्द्रनगरको सडक सुरक्षाको समस्या चोकमा मात्रै सीमित छैन । सुब्बाकुनादेखि बाङ्गेसिमलसम्मको करिब आठ किलोमिटर सडक क्षेत्रमा दुर्घटनाको जोखिम रहेको र दैनिकजसो दुर्घटना हुने गरेको तथ्यले सडक पूर्वाधारको अवस्थामाथि प्रश्न उठाउँछ । साँघुरा सडक, अव्यवस्थित नाला, पैदलयात्रीका लागि सुरक्षित मार्गको अभाव र सवारीसाधनको चापले जोखिम बढाइरहेको छ । यस्तो अवस्थामा ट्राफिक लाइटसँगै सडक चौडा गर्ने, नाला निर्माण गर्ने, फुटपाथ व्यवस्थित गर्ने र आवश्यक स्थानमा सर्भिस ट्र्याक निर्माण गर्ने योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । नागरिकको जीवनभन्दा ठूलो विकासको उपलब्धि अरू हुन सक्दैन । त्यसैले सडक सुरक्षा सम्बन्धित सबै निकायको साझा प्राथमिकता बन्नुपर्छ ।

प्रकाशित मितिः   १२ कार्तिक २०८३, बुधबार १३:२६