वीरेन्द्रनगरका चार स्थानमा ‘ट्राफिक लाइट’

सुर्खेत: वीरेन्द्रनगरको सवारी चाप बर्सेनि बढ्दो छ । सवारी चापलाई व्यवस्थापन गर्न सडक विभागले वीरेन्द्रनगरका मुख्य चोकमा ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याउने तयारी गरेको छ । विभागले वीरेन्द्रनगरका मुख्य चार वटा चोकमा ट्राफिक लाइट राख्ने काम सकिएको जानकारी दिएको छ ।

पहिलो चरणमा मंगलगढी चोक, यरिचोक, तीनकुने चोक र पीपीराचोकमा लाइट जडान गरिएको सडक विभागका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले बताए । हालै ट्राफिक लाइटको परीक्षण गरिएको र केही समयमा सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । गत आर्थिक वर्षबाट टेण्डर गरेर लाइट जडानको काम थालिएको थियो । सडक विभाग र निर्माण कम्पनी एभरेष्ट टु.सी अमर ज्योती जे.भी पोखराबीच कामको सम्झौता भएको थियो । आर्थिक वर्ष २०८२÷०८३ बाट काम थालिएको थियो । चालु आर्थिक वर्ष २०८३÷०८४ मा निर्माण कम्पनीले काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको महर्जनले बताए ।

नागरिकलाई सचेतना र ट्राफिक प्रहरीलाई तालिमको व्यवस्थापन गरेर लाइट सञ्चालन गर्न लागिएको विभागले जनाएको छ । यसअघि राजमार्ग क्षेत्रमा पर्ने वीरेन्द्रनगरका मुख्य–मुख्य चोकमा लाइट जडानका लागि अध्ययन गरिएको थियो । गरिएको अध्ययन अनुसार लाइट जडान गरिएको विभागका इन्जिनियर महर्जनले जानकारी दिए । ट्राफिक जनशक्ति थपका लागि प्रहरी हेटक्वाटरमा माग गरिएको समेत विभागले जनाएको छ । करिब ८० लाख लागतमा पहिलो चरणमा वीरेन्द्रनगरका चार स्थानमा लाइट जडान गरिएको हो । आवश्यकताको आधारमा अन्य स्थानमा अध्ययन गरेर लाइट जडान गरिने विभागले जनाएको छ ।

ट्राफिक लाइट सञ्चालन गर्नुअघि पैदल यात्री र सवारी चालकहरूलाई सचेतनामूलक कार्यक्रम गरिने विभागले जनाएको छ । यो वर्ष ट्राफिक प्रहरीसँग समन्वयन गरेर सचेतना कार्यक्रम सञ्चालन गर्नका लागि बजेटको व्यवस्थापन गरिएको विभाले जनाएको छ । बढ्दो सडक दुर्घटनालाई न्यूनिकरण गर्न लाइन जडान गरिएको हो । वीरेन्द्रनगरको सडक क्षेत्र राजमार्गअन्तर्गत पर्छ । सडक विभागले दुर्घटनाको जोखिम बढ्न थालेपछि ट्राफिक व्यवस्थापन गर्न ट्राफिक लाइट जडान गरेर सञ्चालन गर्न लागेको हो ।

यस्तै चालु आर्थिक वर्षमा राजमार्गका सडक क्षेत्रमा फुटपाथ व्यवस्थापन गर्न लागिएको छ । बजार क्षेत्रको आठ किलोमिटर सडक जोखिममा छ । जसले गर्दा दिनहुँ दुर्घटना हुने गरेको छ भने ज्यानसमेत जानेगरेको छ । सडक डिभिजन कार्यालय सुर्खेतले सडक व्यवस्थापनको बृहत् योजना कार्यान्वयन गर्न लागिएको जनाएको छ । सुब्बाकुनादेखि बाङ्गेसिमलसम्म आठ किलोमिटर सडक चौडा गर्ने काम अघि बढाउन लागिएको जनाएको छ । नाला निर्माण, फुटपाथ व्यवस्थापन र सर्विस ट्रयाक निर्माण गरिने कार्यालय प्रमुख विवशवावु सदादेवले बताए । यो वर्ष बृहत् योजना कार्यान्वयनका लागि बजेटको माग गरिएको उनको भनाइ छ । पछिल्लो समय वीरेन्द्रनगरमा सडक दुर्घटनाको जोखिम बढ्न थालेपछि विभागले चासो दिएको हो ।

यसअघि वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रचोकमा ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याएको छ । बीचमा केही समस्या देखिएको भएपनि अहिले भने नियमित रूपमा सञ्चालन भइरहेको छ । अहिलेको जनशक्तिले थप भएका स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याउन समस्या हुने जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । नागरिकलाई सचेतना कार्यक्रम जरुरी हुने जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख रोहितकुमार शाहीले बताए । न्यून जनशक्ति हुँदा थप चुनौतीको विषय बन्ने भएकाले जनशक्ति थप गरेर सञ्चालन गरे प्रभावकारी हुने उनको भनाइ छ । सडक विभागले वीरेन्द्रनगरका चार स्थानमा छिट्टै ट्राफिक लाइट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मितिः   ११ कार्तिक २०८३, मंगलवार ०९:३२