कर्णाली याक्सको खेल आज

सुर्खेत: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली याक्सले आफ्नो पहिलो खेल आज (मंगलवार) जनकपुर बोल्ट्ससँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ४ः३० बजे सुरु हुनेछ ।

सोमवारदेखि सुरु भएको प्रतियोगितामा कर्णाली याक्सले दोस्रो दिन मैदानमा उत्रिँदै आफ्नो उपाधि यात्राको सुरुवात गर्नेछ । कर्णालीले दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलरलाई अनुबन्ध गरेर विपक्षी टिमहरूलाई दबाबमा पारिसकेको छ । अब मैदानमा कस्तो प्रदर्शन गर्छ, सबैले चासोका साथ हेरिरहेका छन् । कर्णालीले विदेशी खेलाडीका रूपमा पाकिस्तानका साहिबजादा फरहान र हुसेन तलात तथा बंगलादेशका अकबर अली र अरिफुल इस्लामलाई अनुबन्ध गरेको छ । स्कटल्यान्डका मार्क वाट पनि टोलीमा छन् । यद्यपि, पाकिस्तान क्रिकेट बोर्डको आग्रहपछि साहिबजादा फरहान पाकिस्तान फर्किनुपर्ने भएको छ ।

टोलीका मालिक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा पुनः नेपाल फर्किने अपेक्षा गरिएको छ । त्यसैले उनले जनकपुर बोल्ट्स र विराटनगर किङ्सविरुद्धका सुरुवाती दुई खेल गुमाउनेछन् । फरहानको अनुपस्थितिमा कर्णालीले ब्याटिङ संयोजन कसरी मिलाउँछ भन्ने विषय टोलीका लागि महŒवपूर्ण हुनेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीमा नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य गुलशन झा र नन्दन यादव छन् । त्यसैगरी दीपक डुम्रे, पवन सर्राफ, युनिसविक्रम सिंह ठकुरी, युवराज खत्री, बिपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, दिवान पुन, सचिन शर्मा, शुभ कंसाकार, सूर्य तामाङलगायत खेलाडी छन् ।

एनपीएलको तेस्रो संस्करणमा कर्णाली याक्सले कस्तो प्रदर्शन गर्छ भन्ने चासो कर्णाली प्रदेशका क्रिकेट समर्थकमा रहनेछ । अनुभवी नेपाली खेलाडी र अन्तर्राष्ट्रिय क्रिकेट खेलेका विदेशी खेलाडीको संयोजनले टोलीलाई बलियो प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ । तर प्रतियोगितामा राम्रो सुरुवात गर्न जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेल जित्नु कर्णालीका लागि महŒवपूर्ण हुनेछ ।

प्रकाशित मितिः   ११ कार्तिक २०८३, मंगलवार ०९:३९