सुरक्षित सडक

सडक विकास मानव जीवनको सहजताका लागि हो । बढ्दो सवारी चापका कारण सडक सुविधाका लागि मात्रै उपयोगी छैन, उत्तिकै जोखिमपूर्ण बनेको छ । तर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सडक सुरक्षाको अवस्था हेर्दा पैदलयात्रीको सुरक्षाले प्राथमिकता पाउन नसकेको देखिन्छ । सडकमा सवारीसाधनको चाप बढ्दै गएको छ, बजार विस्तार भइरहेको छ, नागरिकको आवागमन बाक्लिँदै छ । तर त्यसअनुसार सडक पूर्वाधार र व्यवस्थापनमा सुधार हुन नसक्दा पैदलयात्रीले ज्यान नै गुमाउनुपर्ने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय हो । सडक दुर्घटनालाई केवल चालकको लापरबाही वा पैदलयात्रीको असावधानीका रूपमा मात्र हेरेर पुग्दैन । दुर्घटनाका पछाडि सडकको संरचना, पूर्वाधारको अवस्था, ट्राफिक नियमको कार्यान्वयन र सम्बन्धित निकायको जिम्मेवारीसमेत जोडिएका हुन्छन् । वीरेन्द्रनगरमा यी सबै पक्षमा सुधारको खाँचो देखिएको छ ।

सडक छेउमा सुरक्षित फुटपाथ नहुँदा पैदलयात्री मूल सडकमै हिँड्न बाध्य छन् । फुटपाथ भएका सीमित स्थानमा पनि व्यवसायीले सामान राख्दा पैदलयात्रीका लागि उपलब्ध ठाउँ साँघुरिएको छ । फलस्वरूप पैदलयात्री र सवारीसाधन एउटै सडक प्रयोग गर्न बाध्य हुने अवस्था छ । यस्तो परिस्थितिमा सामान्य असावधानीले समेत गम्भीर दुर्घटनाको रूप लिन सक्छ । सडक सुरक्षाका लागि आवश्यक जेब्रा क्रसिङ, साइकल लेन र सडक बत्तीजस्ता पूर्वाधारको अभाव अर्को समस्या हो । भएका जेब्रा क्रसिङका रेखासमेत मेटिँदै गएका छन् । कतिपय स्थानमा जेब्रा क्रसिङ भए पनि तिनको प्रयोग प्रभावकारी हुन सकेको छैन । पैदलयात्री जथाभावी बाटो काट्ने र चालकले जेब्रा क्रसिङनजिक समेत गति कम नगर्ने प्रवृत्तिले जोखिम थप बढाएको छ । यसले सडक अनुशासनको अभाव मात्र होइन, नागरिकको सुरक्षाप्रति जिम्मेवार हुनुपर्ने सबै पक्षको कमजोरी पनि देखाउँछ । यस्तो अवस्थामा ट्राफिक प्रहरीको भूमिका अझ महत्त्वपूर्ण हुन्छ । ट्राफिक नियम बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन पनि आवश्यक हुन्छ । मुख्य चोकमै पैदलयात्रीले जथाभावी बाटो काट्दा वा सवारीचालकले नियम उल्लंघन गर्दा नियमनकारी निकाय मौन बस्नु हुँदैन ।

नियम पालना नगर्नेलाई कारबाही गर्ने, पैदलयात्रीलाई सुरक्षित रूपमा बाटो काट्न सिकाउने र चालकलाई जिम्मेवार बनाउने काम निरन्तर हुनुपर्छ । सडक सुरक्षासम्बन्धी सचेतना अभियान आवश्यक छ, तर सचेतना मात्रै पर्याप्त हुँदैन । प्रभावकारी अनुगमन र कानुनको निष्पक्ष कार्यान्वयन पनि उत्तिकै जरुरी छ । अर्कोतर्फ, पैदलयात्रीले पनि आफ्नो जिम्मेवारी बुझ्नुपर्छ । तोकिएको स्थानबाट बाटो काट्ने, सवारीसाधनको अवस्थालाई ध्यान दिने र ट्राफिक नियमको पालना गर्ने बानी विकास गर्नुपर्छ । चालकले निर्धारित गतिमा सवारी चलाउने, पैदलयात्रीलाई प्राथमिकता दिनुपर्ने स्थानमा गति घटाउने र सडक अनुशासन पालना गर्ने दायित्वबाट उम्कन मिल्दैन ।

प्रकाशित मितिः   १० कार्तिक २०८३, सोमबार ०९:२२