यात्रुलाई सास्ती

दसैँ नेपालीहरूको महान् चाड हो । वर्षभरि अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा घरपरिवारबाट टाढा रहेका नागरिकहरू यही पर्वमा जन्मथलो फर्किने गर्छन् । आफन्तसँग भेटघाट गर्ने, दुःखसुख साटासाट गर्ने र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने अवसरका रूपमा दसैँको विशेष महङ्खव छ । तर, यही खुसी बोकेर घर फर्किन खोज्ने यात्रुहरूका लागि सार्वजनिक यातायातको यात्रा भने बर्सेनि कष्टकर बन्ने गरेको छ । वीरेन्द्रनगर बसपार्कमा दसैँ नजिकिएसँगै देखिएको यात्रुको चाप, टिकटको अभाव र घण्टौँको प्रतीक्षाले यही समस्यालाई उजागर गरेको छ ।

घटस्थापनासँगै वीरेन्द्रनगर बसपार्कमा घर फर्किने यात्रुहरूको चहलपहल बढेको छ । दैलेख, कालीकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा, जाजरकोट, सल्यान र रुकुमपश्चिमलगायतका जिल्लामा जाने यात्रुहरू टिकट काट्न र गाडी चढ्न घण्टौँ कुर्न बाध्य छन् । कतिपयले टिकट पाउन दिनभर बसपार्कमा बिताउनुपरेको छ भने टिकट काटिसकेका यात्रुहरूसमेत आफ्नो सिट सुरक्षित हुनेमा ढुक्क हुन सकेका छैनन् । टिकट काटेर पनि गाडी छुट्ने समयको अन्योल र आफूले पाएको सिटमा अरू नै बसिदिने समस्याले यात्रुको पीडालाई थप बढाएको छ । घर पुग्ने हतारोमा रहेका नागरिकका लागि यस्तो अवस्था दुःखद् छ । दसैँमा यात्रुको चाप बढ्नु स्वाभाविक हो । विशेषगरी रोजगारी, अध्ययन र अन्य अवसरका लागि सुर्खेतमा बसोबास गर्ने कर्णालीका विभिन्न जिल्लाका नागरिकहरू पर्व मनाउन गाउँ फर्किने भएकाले यातायातमा चाप पर्नु अस्वाभाविक होइन । तर, हरेक वर्ष दोहोरिने यो समस्यालाई सामान्य मौसमी अवस्थाका रूपमा मात्रै बुझेर बेवास्ता गर्न मिल्दैन । दसैँ कहिले आउँछ भन्ने निश्चित हुँदाहुँदै पनि यात्रुको सम्भावित चापअनुसार यातायात व्यवस्थापन गर्न नसक्नु व्यवस्थापकीय कमजोरी हो । यात्रुको चाप बढेपछि मात्रै तयारी थाल्ने प्रवृत्तिले नागरिकलाई अनावश्यक सास्ती दिइरहेको छ ।

यातायात व्यवसायीहरूले नियमित सवारीसाधनबाहेक थप गाडी सञ्चालन गरेको बताएका छन् । यो सकारात्मक प्रयास भए पनि यात्रुको वास्तविक चापअनुसार सवारीसाधन पर्याप्त छन् कि छैनन् भन्ने विषय महङ्खवपूर्ण हुन्छ । गाडी थपिएको घोषणा गर्नु मात्रै पर्याप्त हुँदैन, त्यसको प्रभाव यात्रुले टिकट पाउने, निर्धारित समयमा गन्तव्यतर्फ जान सक्ने र सुरक्षित रूपमा यात्रा गर्न पाउने अवस्थाबाट मापन गरिनुपर्छ । यात्रुको चाप व्यवस्थापन गर्ने जिम्मेवारी यातायात व्यवसायीको मात्र होइन । सम्बन्धित सरकारी निकाय, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय र बसपार्क व्यवस्थापन पक्षले पनि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । यात्रुको चाप बढी हुने रुट पहिचान गरी आवश्यकताअनुसार सवारीसाधन थप्ने, टिकट बिक्रीलाई व्यवस्थित बनाउने, गाडी छुट्ने समय स्पष्ट रूपमा सार्वजनिक गर्ने र यात्रुले टिकट काटेको सिटमा अरूले कब्जा गर्ने अवस्था अन्त्य गर्ने व्यवस्था मिलाउनुपर्छ । टिकटको उपलब्धता र सवारीसाधनको समयतालिकाबारे यात्रुलाई विश्वसनीय सूचना दिन सके अनावश्यक भीड, अन्योल र प्रतीक्षा घटाउन सकिन्छ ।

प्रकाशित मितिः   २८ आश्विन २०८३, बुधबार ०५:०३