हिमतालको अध्ययन

कर्णाली प्रदेश हिमाल, हिमताल र प्राकृतिक सम्पदाको दृष्टिले अत्यन्त समृद्ध प्रदेश हो । पछिल्लो समय डोल्पा, मुगु, हुम्लालगायतका हिमाली जिल्लामा नयाँ–नयाँ हिमताल पहिचान हुनु यस प्रदेशको प्राकृतिक विविधता र पर्यटकीय सम्भावनाको महङ्खवपूर्ण संकेत हो । तर हिमतालको संख्या थपिँदै जानुलाई केवल पर्यटन र आम्दानीको अवसरका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । बदलिँदो जलवायुका कारण हिमतालको अवस्था र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमलाई समान गम्भीरताका साथ बुझ्न आवश्यक छ । त्यसैले कर्णाली प्रदेश सरकारले हिमतालको अध्ययनका लागि प्राविधिक टोली परिचालन गर्ने योजना अघि सारेको छ । जुन निकै सकारात्मक छ ।

नयाँ तथा पुराना हिमतालको अवस्थाबारे वैज्ञानिक अध्ययन, उचाइ र क्षेत्रफलको मापन, पानीको मात्रा, बाँध तथा आसपासको भौगोलिक अवस्थाको परीक्षण र सम्भावित जोखिमको मूल्यांकन अब ढिला गर्नु हुँदैन । हिमतालबारे भरपर्दो तथ्यांक र वैज्ञानिक अभिलेख तयार नभएसम्म जोखिमको वास्तविक अवस्था पहिचान गर्न र आवश्यक पूर्वतयारी गर्न कठिन हुन्छ । पछिल्लो समय डोल्पाका विभिन्न क्षेत्रमा स्थानीय युवाहरू र पालिकाले नयाँ तालहरू पहिचान गरिरहेका छन् । पाँच हजार मिटरभन्दा माथिका उचाइमा रहेका तालहरूको खोजीले कर्णालीको पर्यटकीय सम्भावनालाई थप उजागर गरेको छ । शे–फोक्सुण्डोजस्ता विश्वस्तरमा परिचित प्राकृतिक सम्पदासँगै नयाँ तालहरूको पहिचान हुनुले कर्णालीको पर्यटन विकासका लागि नयाँ ढोका खोल्न सक्छ । तर नामकरण र प्रचारभन्दा अघि तिनको आधिकारिक मापन, वैज्ञानिक प्रमाणीकरण, संरक्षण र पहुँचको व्यवस्थापन आवश्यक छ । स्थानीय तहले ताल तथा प्राकृतिक सम्पदाको खोजी गरेर पर्यटन र आन्तरिक आय बढाउने लक्ष्य लिनु स्वाभाविक हो । तर पर्यटकीय सम्भावनालाई आर्थिक लाभमा रूपान्तरण गर्ने क्रममा प्राकृतिक सम्पदाको संरक्षण कमजोर हुनु हुँदैन । हिमाली क्षेत्रमा जथाभावी सडक, पूर्वाधार वा पर्यटकीय गतिविधि विस्तार गर्दा त्यहाँको संवेदनशील पारिस्थितिक प्रणालीमा थप असर पर्न सक्छ । त्यसैले पर्यटन विकास र वातावरणीय संरक्षणबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता छ ।

अझ महङ्खवपूर्ण पक्ष हिमतालबाट उत्पन्न हुन सक्ने विपद्को जोखिम हो । हिमताल फुट्ने वा अचानक पानीको बहाव बढ्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति हुन सक्छ । त्यसैले जोखिमयुक्त हिमतालको पहिचान गरेर जोखिमको स्तर निर्धारण, नियमित निगरानी, पूर्वसूचना प्रणाली, स्थानीय समुदायलाई सचेतना र आपत्कालीन उद्धार तथा पुनःस्थापनाको योजना बनाउनुपर्छ । विपद् भएपछि प्रतिक्रिया जनाउनेभन्दा विपद् आउनुअघि नै जोखिम पहिचान गरेर तयारी गर्नु प्रभावकारी उपाय हो । यसका लागि प्रदेश सरकारको पहल संघीय सरकार, स्थानीय तह, विज्ञ तथा अनुसन्धान संस्थासँग जोडिनुपर्छ । हिमतालसम्बन्धी अध्ययन कुनै एकपटकको सर्वेक्षणमा सीमित हुनु हुँदैन ।

प्रकाशित मितिः   १२ आश्विन २०८३, सोमबार ०५:०३