कर्णालीमा खाद्यान्न अभाव नहुने
सुर्खेत: यो वर्ष कर्णाली प्रदेशमा खाद्यान्न अभाव नहुने भएको छ । अघिल्ला वर्षहरूमा चाडपर्वको मुखैमा हुने खाद्यान्न अभाव यसपटक नहुने भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्षका प्रमुख चाडहरू दसैँ, तिहार र छठको अवधिमा कुनै पनि खाद्यान्न अभाव हुन नदिने जनाएको छ ।
खासगरी माथिल्लो कर्णालीका केही जिल्लाहरूमा बर्सेनि खाद्यान्न अभाव हुने गरेको छ । स्थानीय उत्पादन कम हुने ति जिल्लाहरूमा आयातित खाद्यान्नको भर पर्नुपर्ने बाध्यता छ । जसले गर्दा चाडपर्वकै समयमा खाद्यान्न अभाव भएर नागरिकले समस्या भोग्दै आएका थिए । त्यही समस्यालाई मध्यनजर गर्दै यसपटक भने चाडपर्व आउनुअघि नै खाद्यान्न ढुवानी गरिएको छ । दसैँ र तिहार अघि नै कर्णालीका माथिल्लो जिल्लाहरूमा खाद्यान्न ढुवानी भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश प्रादेशिक कार्यालयका प्रमुख केशव बुढाले बताए । हिमाली जिल्ला हुम्लामा मात्र दसैँ अघिसम्म खाद्यन्न पु¥याउने काम भइरहेको उनले जानकारी दिएका छन् । शाखा सिमकोट, डिपो सर्केगाड र श्रीनगरमा स्टक खाद्यन्न राखिएको छ ।
यसैगरी विभिन्न जिल्लाहरूमा चाडपर्व लक्षित सुपथ मूल्य पसलसमेत सञ्चालन गरिरहेको कम्पनीले कर्णालीका ८१ वटा वितरण केन्द्रहरूबाट खाद्यन्न वितरण गर्दै आएको छ । हुम्लामा १३, मुगु, डोल्पा र जाजरकोटमा १२÷१२, जुम्लामा सात, कालीकोटमा १४, दैलेखमा चार, रुकुमपश्चिममा पाँच र सुर्खेतमा दुई वटा वितरण केन्द्रमा ढुवानीका लागि टेण्डर स्वीकृत भएर वितरणको काम धमाधम रूपमा भइरहेको जनाइएको छ ।
विगतका वर्षमा सदमुकामका वितरण केन्द्रबाट सञ्चालन हुने गरेकोमा यो वर्षदेखि ८१ वटा वितरण केन्द्रमा छुटको कोटा बाँडफाँड गरेर गाउँकेन्द्रित बिक्री केन्द्रबाट पनि वितरण भइरहेको प्रमुख बुढाले बताए । कर्णालीमा खाद्यन्न छुटको लागि यो वर्ष एक करोड ४० लाख ५३ हजार विनियोजन भएको थियो । गतवर्षहरूमा चाडपर्व लक्षित सुुपथ पसल सञ्चालन हुने गरेकोमा यो वर्षदेखि वर्षभरिनै सुुपथमा खाद्यन्न बिक्री वितरण भइरहेको जनाइएको छ । यो वर्ष साउन अन्तिम सातादेखि सुपथ पसल सञ्चालनमा आएको छ । दसैँसम्म ८१ वटै वितरण केन्द्रमा खाद्यन्न पु¥याइसक्ने लक्ष्य अनुरूप काम भइरहेको बुढाले जानकारी दिए ।
सुर्खेत कार्यालयमा कम्पनीले उपभोक्तालाई चाडपर्वका लागि १३ हजार क्विन्टल चामल, ६ सय ४० क्विन्टल दाल, ४० हजार लिटर तेल र चार सय ५० क्विन्टल चिनी मौज्यादमा राखेको जनाएको छ । आवश्यक परेको खण्डमा अन्य कार्यालयबाट पनि पूर्ति गर्न सकिनेगरी मौज्याद र आपुर्तिसमेत भइरहेको कार्यालय प्रमुख बुढाले जनाएका छन् । चाडपर्वमा दैनिक उपभोग्य वस्तुको अभाव, कालोबजारी र अखाद्य वस्तुको आपूर्ति हुने गरेका छन् । सरकारले सुफथ पसल सञ्चालनमा ल्याएसँगै निकै सहज भएको जनाइएको छ ।
बजारमा प्रतिकेजी एक सय ४० रूपैयाँ पर्ने चिनी साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा एक सय दश रूपैयाँमा पाउन थालेपछि उपभोक्ताको लामो लाइन लागेको छ । दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिएसँगै वीरेन्द्रनगरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश प्रादेशिक कार्यालयमा उपभोक्ताको भीड लाग्ने गरेको छ । चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको माग र बजार मूल्य बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै उपभोक्तालाई सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले कर्णालीका ८१ वटा वितरण केन्द्रबाट सुपथ पसल सञ्चालन गरिएको छ । बजारमा उपभोग्य वस्तुको मूल्य बढिरहेका बेला यी पसलहरूमा दाल, चामल, तेल, नुन, चिनी र घिउ जस्ता सामग्रीहरूमा प्रति केजी÷लिटर निश्चित छुट (सहुलियत) दिइने हुनाले आफूहरूको रोजाइमा परेको वीरेन्द्रनगर–६ की शान्ता थापाले बताइन् । चाडबाडको बेला बजारमा हुन सक्ने महँगी र सामान लुकाउने प्रवृत्ति (कृत्रिम अभाव) लाई नियन्त्रण गर्न र बजार मूल्य सन्तुलनमा राख्न यसले सहयोग भइरहेको छ ।
प्रकाशित मितिः १२ आश्विन २०८३, सोमबार ०५:०५
साझा बिसौनी ।