कर्णालीको प्राचिन रहस्य
प्रकृतिको अनुपम वरदान तर आधुनिक विकासको दृष्टिकोणले दुर्गम—हाम्रो कर्णाली । कर्णाली केवल भूगोल मात्र होइन, यो त नेपालकै प्राचिन सभ्यता, संस्कृति र खस भाषाको उद्गम स्थल पनि हो ।
यहाँका जुम्ला, हुम्ला, मुगु र कालीकोट जस्ता जिल्लाहरूमा एउटा यस्तो जीवन्त संस्कृति छ, जसले मानिसलाई सोझै अदृश्य शक्ति र देउतासँग जोड्छ । यसलाई स्थानीय भाषामा भनिन्छ–पैठ अर्थात् धामी नाच्ने वा पतुरिने संस्कृति ।
विज्ञानले यसलाई एक ‘अन्धविश्वास’ भन्ला । तर, कर्णालीबासीका लागि यो अन्धविश्वास होइन, अटुट आस्था, न्यायको धरोहर र शताब्दीऔँ पुरानो परम्परा बनेको छ । आखिर के हो त यो पैठ
संस्कृति ? धामीहरू कसरी पतुरन्छन् ? यो आलेखमा कर्णालीको यही प्राचिन रहस्य खोतल्ने प्रयास गरिएको छ ।
कर्णालीमा पैठमा ‘पतुरिनु’ भन्नाले साधारण मानिसको शरीरमा कुल देउता वा स्थानीय देवी–देउताको शक्ति प्रवेश गर्नु भन्ने बुझिन्छ । जब देउता कुनै व्यक्तिको शरीरमा आउँछन्, तब त्यो साधारण मानिस ‘धामी’ बन्दछ र उसले गर्ने क्रियाकलापलाई स्थानीय भाषामा ‘पतुरर्ने’ भनिन्छ ।
यहाँ मष्टा, अधिकारी, लाटो, बबुरो, महारुद्र जस्ता विभिन्न दाजुभाइ देउताहरूको पूजा गरिन्छ । कर्णालीमा धामी नाच्ने विशेष अवसरहरू हुन्छन् । जस्तैः साउन पुनि (पूर्णिमा), बडैं (दशैँ) को जुवारे पुनि तथा त्यस्तै गाउँमा कुनै विशेष संकट परेको बेला धामी बसेर समाधान निकालिन्छ, फरक–फरक डोलको बाजाका तालमा ।
धामी विस्तारै काँप्न थाल्छ । उसको सास फेर्ने गति तीव्र हुन्छ । जब गाउँका दमाईं जाति वा बाजा बजाउने नाइकेहरूले देउताको विशेष धुनका देउताका बाजा बजाउन थाल्छन्, तब धामीको शरीरमा कम्पन सुरु हुन्छ । सेतो जामा, हातमा चौंरीको पुच्छर र घन्टी बोकेर धामीहरू मन्दिरको आँगनमा हाम फाल्छन् । यो दृश्य यति ऊर्जावान् हुन्छ कि हेर्ने जोकोहीको आङ सिरिङ्ग हुन्छ ।

न्याय–निसाफ र सामाजिक महत्त्व
धामी उच्च आसनमा बसेको छ । गाउँका मानिसहरू पालैपालो अगाडि आएर आफ्ना समस्याहरू भनिरहेका छन् । धामीले अक्षता (चामलका गेडा) हेरेर जवाफ दिइरहेको हुन्छन् । तपाईंलाई अचम्म लाग्न सक्छ, कर्णालीका यी जिल्लाहरूमा पैठ संस्कृति केवल धार्मिक अनुष्ठान मात्र होइन । यो त एउटा अनौपचारिक अदालत पनि हो । अदालत र प्रहरी चौकी पुग्नुभन्दा पहिले यहाँका कैयौं स्थानीयहरू देउताको ‘थान’ मा पुग्छन् ।
गाउँमा कसैको चौपाया हराएमा, कसैको चोरी भएमा वा सीमानाको विवाद भएमा देउता जगाइन्छ । धामीले पतुरेर ‘यो काम यसले गरेको हो’ वा ‘तेरो सामान यो दिशामा छ’ भनी फैसला सुनाउँछन् । अचम्मको कुरा त के छ भने, धामीले सुनाएको फैसलालाई कसैले पनि उल्लंघन गर्दैनन् । देउताको डर र आस्थाका कारण अपराधीले आफ्नो अपराध सजिलै स्वीकार गर्छ । वर्षौंसम्म अदालतमा सुल्झिन नसकेका कतिपय पारिवारिक र सामाजिक विवादहरू धामीको एउटै आदेशमा छिनोफानो भएका उदाहरणहरू जुम्ला, कालिकोट र मुगुमा प्रशस्तै भेटिन्छन् ।
यसरी यो संस्कृतिले कर्णालीमा सामाजिक सद्भाव र शान्ति कायम राख्न ठूलो भूमिका खेलेको पैठ संस्कृतिको सबैभन्दा रहस्यमयी पाटो भनेको पतुरिएको बेला धामीले देखाउने शारीरिक क्षमता हो । कतिपय धामीहरूले पतुरिएकै अवस्थामा बलिरहेको आगोको भुङ्ग्रो हातमा लिने, तातो तेल पिउने, आगो चाट्ने वा धारिलो खुकुरीमाथि खुट्टाले टेक्ने गर्छन् । सामान्य अवस्थामा मानिसलाई असह्य हुने यी कार्यहरू गर्दा पनि उनीहरूलाई कुनै चोट लाग्दैन ।
बाहिरी संसार र विज्ञानले यसलाई ‘सामूहिक हिस्टेरिया’ वा ‘मानसिक एकाग्रताको चरम रूप’ मान्न सक्छ । तर कर्णालीको जनविश्वास अनुसार, यो देउताकै ‘लीला’ वा ‘शक्ति’ हो । जब देउता धामीको शरीरबाट बाहिरिन्छन्, धामी पुनः एक सामान्य मानिस बन्छ र उसलाई आफूले पतुरेको बेला के–के गरेँ वा के–के बोलेँ भन्ने कुराको पत्तो समेत हुँदैन । यो आफैमा रहस्यमय छ ।
समय बदलिँदो छ । आधुनिक शिक्षा, प्रविधि र स्वास्थ्य सेवाको विस्तारसँगै कर्णालीमा पनि परिवर्तन आएको छ । विगतमा बिरामी हुँदा अस्पताल नगएर केवल धामीकै भर पर्ने चलन अहिले धेरै कम भएको छ, जुन सकारात्मक पनि हो । तर, आधुनिकताको यो लहरमा पैठ संस्कृतिको मौलिकता भने संकटमा पर्न थालेको छ । नयाँ पुस्ताका युवाहरूमा यो परम्पराप्रतिको आकर्षण घट्दो छ । अन्धविश्वास र कुप्रथालाई हटाउँदै यसभित्र लुकेको लोक कला, संगीत, भेषभुषा र खस सभ्यताको इतिहासलाई जोगाउनु आजको मुख्य चुनौती हो ।
कर्णालीको पैठ अर्थात् धामी नाच्ने संस्कृति केवल एउटा धार्मिक परम्परा मात्र होइन । यो त कर्णालीको पहिचान, इतिहास र खस साम्राज्यको जीवित सम्पदा हो । यसलाई अन्धविश्वासको चस्माले मात्र हेर्नु अन्याय हुनेछ । यसको ऐतिहासिक र सांस्कृतिक पाटोलाई बचाएर पर्यटनसँग जोड्न सके यसले कर्णालीको समृद्धिमा ठूलो टेवा पुर्याउनेछ ।
-रेश्मा बुढा क्षेत्री
प्रकाशित मितिः २९ भाद्र २०८३, सोमबार १२:३९

रेश्मा बुढा क्षेत्री ।