भूकम्पपछिको पुनर्निर्माण सुस्त

पूर्वाधारलाई प्राथमिकता, प्रभावित नागरिक उपेक्षामा

सुर्खेत: जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनर्निर्माण सुस्त देखिएको छ । कतिपय सार्वजनिक संरचनाहरू निर्माण गरिए पनि प्रभावित नागरिकहरूको पुनस्र्थापनामा भने अपेक्षित काम हुन सकेको छैन ।

क्षतिग्रस्त पूर्वाधार निर्माणलाई प्राथमिकता दिएपनि पीडित नागरिकको पुनस्र्थापनामा ध्यान नदिएको भन्दै पीडितहरूले गुनासो गरिरहेका छन् । कर्णाली प्रदेश सरकारले भने विद्यालय, स्वास्थ्य संस्थालगायतका पूर्वाधार पुनर्निर्माणमा जोड दिएको छ । यो वर्ष प्रदेश सरकारले विपतबाट क्षति भएका पूर्वाधार निर्माण प्राथमिकताका आधारमा गर्ने योजना निर्माण गरेर कार्यान्वयन नै गर्न लागेको छ ।

प्रदेश सरकारले नै जाजरकोट भूकम्प प्रभावित ८२ संरचनाको पुनर्निर्माण गरेको छ । लामो समय बितिसक्दा पनि केन्द्रबाट पुनर्निर्माणको कुनै पहल नभएपछि कर्णाली प्रदेश सरकारले आफ्नै तर्फबाट क्षतिग्रस्त सरकारी स्वास्थ्य संस्था र विद्यालयको पुनर्निर्माण गरेको हो । यसैअनुसार ‘भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय तथा सरकारी स्वास्थ्य संस्थाको भवन पुनर्निर्माण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८१’ निर्माण गरी कार्यान्वयनमा ल्याइएको प्रदेश सरकारले जनाएको छ । उक्त कार्यविधिमा टेकेर कर्णाली प्रदेश सरकारले जाजरकोट, रुकुम पश्चिम र सल्यानमा क्षतिग्रस्त ८२ वटा स्वास्थ्य संस्था र सामुदायिक विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको हो ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार ६७ वटा सामुदायिक विद्यालय र १५ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको मन्त्रालयका सचिव अर्जुनकुमार बमले बताए । २०८१ असोजदेखि पुनर्निर्माणको काम सुरु गरेको भन्दै उनले हाल ३२ वटा विद्यालय र १२ वटा स्वास्थ्य संस्थाका संरचना पुनर्निर्माणकै चरणमा रहेको जनाए ।

प्रदेश सरकारले बनाएको कार्यविधिअनुसार सम्बन्धित जिल्लामा रहेका पूर्वाधार विकास कार्यालयहरूले पुनर्निर्माणको काम गरिरहेका छन् । ‘विद्यालयको हकमा अधिकतम ७५ लाख र स्वास्थ्य संस्थाको हकमा ५० लाख रूपैयाँ बराबरको लागत अनुमान गरेर पुनर्निर्माणको काम भइरहेको छ,’ सचिव बमले भने ।’ प्रदेश सरकारले सम्पन्न आर्थिक वर्ष (२०८२/०८३) मा ७८ वटा संरचनाको पुनर्निर्माण गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा ३ विद्यालय र १ स्वास्थ्य संस्था निर्माण भएका थिए । सम्पन्न आर्थिक वर्षमा जाजरकोटमा ५२ विद्यालय र १५ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण गर्ने लक्ष्य थियो । आर्थिक वर्षको अन्तिमसम्ममा ३३ विद्यालय र सात वटा स्वास्थ्य संस्था गरी ४० वटा संरचनाको पुनर्निर्माण भएको छ । रुकुमपश्चिममा ४३ विद्यालय र १० स्वास्थ्य संस्थाको पुनर्निर्माण लक्ष्य राखिएकोमा २७ विद्यालय र पाँच स्वास्थ्य संरचना बनेका छन् । यस्तै, सल्यानमा लक्ष्यअनुसार चार विद्यालय र दुई स्वास्थ्य भवन गरी ६ वटै संरचनाको काम सम्पन्न भइसकेको छ । गत वर्ष समग्रमा एक सय २६ वटा संरचनाको पुनर्निर्माण लक्ष्य राखिएकोमा ६५ प्रतिशत भौतिक प्रगति भएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा सरकारी संरचनाको पुनर्निर्माणको काम अघि बढाइरहेको सचिव बमले बताए । जाजरकोट भूकम्पले जाजरकोट र रूकुम पश्चिमका ४५ वटा स्वास्थ्य संस्थाका भवनमा क्षति पु¥याएको थियो । जाजरकोटमा ६ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रूकुमपश्चिममा दुई वटा पूर्ण र २२ वटा आंशिक गरी २४ वटा र सल्यानमा तीन वटा पूर्ण क्षतिसहित कुल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको तथ्याङ्क छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार करिब ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएका थिए। जाजरकोटमा एक सय ४३ र रुकुमपश्चिममा ४९ वटा विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । त्यस्तै, जाजरकोटमा आंशिक क्षति भएका विद्यालयको संख्या दुई सय ९६ र रूकुमपश्चिममा दुई सय १३ छ । भूकम्पबाट जाजरकोटका ७७ हजार ६ सय ५६ विद्यार्थी प्रभावित बनेका थिए । सो भूकम्पमा परी ४५ जना विद्यार्थीको मृत्यु भएको थियो भने ९७ जना घाइते भएका थिए ।

यस्तै, रूकुमपश्चिमका ५३ हजार ३८ विद्यार्थी प्रभावित हुँदा ३० जनाको मृत्यु र एक जना घाइते भएका थिए । प्रदेश सरकारले तीन जिल्लाका स्वास्थ्य संस्था र विद्यालयको पुनर्निर्माणका लागि आर्थिक वर्ष २०८१/८२ मा ५० करोड रकम विनियोजन गरेको थियो भने सम्पन्न आर्थिक वर्षमा ४२ करोड १० लाख विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पुनर्निर्माण सम्पन्न गर्न थप १४ करोड ५० लाख रकम विनियोजन गरिएको छ ।

प्रकाशित मितिः   २७ भाद्र २०८३, शनिबार १३:२३