कर्णाली उत्सव कुडा कर्नालीका

डटपेनदेखि डटकमसम्म

कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘डटपेनदेखि डटकमसम्म’ सत्रमा परम्परागत पत्रकारितादेखि डटकम तथा डिजिटल पत्रकारितासम्मको विकास, प्रविधिमा आएको परिवर्तन र त्यसले पत्रकारिता तथा सूचना प्रवाहमा पारेको प्रभावका विषयमा छलफल गरिएको थियो । सत्रको सहजीकरण इन्द्रध्वज क्षेत्रीले गरेका थिए भने खोज पत्रकारिता केन्द्रका सम्पादक तथा हिमाल खबरपत्रिकाका पूर्वसम्पादक किरण नेपाल, जुम्लामा रहेर पत्रकारिता गर्दै आएकी तथा बीबीसी नेपाली सेवासँग आबद्ध कृष्णमाया उपाध्याय र नेपालमा डटकम तथा नागरिक पत्रकारितालाई लोकप्रिय बनाउन महŒवपूर्ण भूमिका खेलेका माइसंसार डटकमका संस्थापक तथा नेपाल फ्याक्ट चेकमा सक्रिय उमेश श्रेष्ठ वक्ताका रूपमा सहभागी थिए । छलफलमा पछिल्ला दुई दशकमा पत्रकारिताको स्वरूप, प्रविधि र समाचार सम्प्रेषणको प्रक्रियामा आएको परिवर्तन, डटकम तथा डिजिटल माध्यमको विस्तारसँगै परम्परागत सञ्चारमाध्यममा आएको रूपान्तरण तथा मोबाइल र सामाजिक सञ्जालको विस्तारले हरेक व्यक्तिलाई सूचना प्रवाहमा जोडेको विषयमा वक्ताहरूले आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गरेका थिए । साथै, डिजिटल माध्यमको तीव्र विकाससँगै बढेको सूचना प्रवाह, तथ्य परीक्षण र विश्वसनीयताको आवश्यकता तथा कर्णालीमा स्थानीय पत्रकारिताले भोगिरहेका चुनौती र सम्भावनाका विषयमा समेत छलफल गरिएको थियो ।


किरण नेपाल (सम्पादक– खोज पत्रकारिता केन्द्र, पूर्वसम्पादक– हिमाल खबरपत्रिकाका)

मूलभूत रूपमा हेर्दा पत्रकारिताको आधारभूत काम हिजो पनि जे थियो, आज पनि त्यही नै हो । मिडियाले गर्ने कामको सार परिवर्तन भएको छैन । परिवर्तन भएको मुख्य कुरा भनेको घटनाक्रम र सूचना प्रवाहको गति हो । समाज आफैँ धेरै गतिशील भएको छ र त्यससँगै मिडियाको गति पनि तीव्र भएको छ । पञ्चायतकालमा सीमित मिडियाले नै सूचना प्रवाहको ठूलो हिस्सा धान्ने अवस्था थियो । तर पछिल्लो समय समाजमा चेतनाको विस्तार हुँदै गयो, विभिन्न तह र तप्काबाट सामाजिक, राजनीतिक, जातीय, क्षेत्रीय, भाषिक तथा विकाससम्बन्धी विषयमा हस्तक्षेप हुन थाले र नयाँ–नयाँ मुद्दाहरू सार्वजनिक हुन थाले । आजभन्दा करिब २० वर्षअघि सुर्खेतमा बसेर यति धेरै सार्वजनिक बहस, छलफल र सामाजिक हस्तक्षेप हुन सक्छ भन्ने कल्पना गर्न कठिन थियो । अहिले समाजका कुना–कन्दराका विषयवस्तु पनि बाहिर आउन थालेका छन् । त्यसैले मुद्दा बढेका छन्, विषयवस्तु बढेका छन्, मिडियाको चरित्र परिवर्तन भएको छ र काम गर्ने गति अत्यन्त तीव्र भएको छ । तर गति बढेसँगै पत्रकारिताको चुनौती पनि बढेको छ । यसलाई म सडकमा गाडी चलाउने उदाहरणबाट बुझ्छु । सडक उही भएपनि ४० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउनु र ८० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउनु एउटै कुरा होइन । गति बढेपछि चालक अझ बढी सतर्क र संवेदनशील हुनुपर्छ । दुर्घटना नहोस् भनेर थप ध्यान दिनुपर्छ । पत्रकार र मिडियाकर्मीको अवस्था पनि अहिले त्यस्तै छ ।

सूचना प्रवाहको गति धेरै बढेको छ, त्यसैले पत्रकारले पहिलेभन्दा धेरै सावधानी अपनाउनुपर्ने भएको छ । गति बढेसँगै गल्ती हुने सम्भावना पनि बढेको छ । यही कारणले अहिले तथ्य जाँच (फ्याक्ट–चेकिङ) को महŒव झन् बढेको छ । सूचना छिटो दिनुपर्ने दबाबका बीचमा तथ्य पुष्टि नगरी सामग्री प्रकाशन वा प्रसारण गरियो भने त्यसले मिडियाको विश्वसनीयतामा मात्र होइन, समाजमै गलत प्रभाव पार्न सक्छ । म अहिले खोज पत्रकारिता केन्द्रको सम्पादकको भूमिकामा रहेकाले बाहिरबाट पनि लिगेसी मिडियालाई हेर्ने अवसर पाएको छु । त्यसैले म लिगेसी मिडियाको भविष्यलाई चुनौतीभन्दा पनि अवसरका रूपमा बढी देख्छु । आज दिनभरि विभिन्न सत्र सुन्दै गर्दा पनि मलाई लागिरहेको थियो कि यहाँ लिगेसी मिडियाका लागि कति धेरै सम्भावित स्टोरीहरू छन् । कुरा हामीले कुन दृष्टिकोणबाट हेर्छौं भन्ने हो । कुनै घटना वा कार्यक्रममा तत्काल के भयो भन्ने कुरा अहिले लाइभ स्ट्रिमिङमार्फत संसारभर पुग्न सक्छ । दर्शक–श्रोताले कार्यक्रम चलिरहेकै बेला सूचना पाइसकेका हुन्छन् । तर लिगेसी मिडियाले त्यही घटनालाई केही समय लिएर, शान्त भएर, पृष्ठभूमि खोजेर, अनुसन्धान गरेर र त्यसका विभिन्न आयाम केलाएर गहिरो र सन्दर्भसहितको स्टोरी बनाउन सक्छ । त्यसले समाज परिवर्तन, सुशासन र नीति निर्माणमा महŒवपूर्ण योगदान दिन सक्छ ।

आजको कार्यक्रम आजै लाइभ हेर्न सकिन्छ भने भोलिपल्ट पत्रिकाले ‘फलानो कार्यक्रम सम्पन्न भयो, फलानोले यस्तो भन्नुभयो’ भनेर मात्र लेखेर पुग्दैन । त्यो सूचना पाठक, दर्शक र श्रोताले अघिल्लो दिन नै पाइसकेका हुन्छन् । त्यसैले लिगेसी मिडियाले आफूलाई समयअनुकूल परिवर्तन गर्नुपर्छ । डिजिटल प्लेटफर्मलाई स्वीकार गर्नुपर्छ, तर आफ्नो मूल शक्ति भने गुमाउनु हुँदैन । संसारभरका प्रतिष्ठित लिगेसी मिडियाले प्रिन्टसँगै डिजिटल माध्यमलाई पनि आत्मसात् गरेका छन् । उनीहरूको लिगेसी समाप्त भएको छैन । बरु ‘लिगेसी मिडिया’ भन्नुको अर्थ नै उनीहरूको विश्वसनीयता, परम्परा, अनुभव र सामाजिक प्रभाव अझै कायम छ भन्ने हो । डिजिटल माध्यम आफैँमा एउटा प्लेटफर्म हो; त्यसको प्रयोग कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो ।

पाठक, दर्शक र श्रोताको पनि यसमा उत्तिकै जिम्मेवारी छ । हामीले कुन मिडियालाई विश्वास गर्ने र कुनलाई नपत्याउने भन्ने विषयमा सचेत छनोट गर्नुपर्छ । नेपालमा मात्र होइन, संसारभर अहिले ‘न्युज जङ्क’ र ‘इन्फर्मेसन ओभरलोड’ बाट कसरी जोगिने भन्ने विषयमा बहस भइरहेको छ । सामाजिक सञ्जालमा हामीले फलो गरेका व्यक्तिले मात्र होइन, उनीहरूले फलो गरेका व्यक्तिहरूका सामग्रीसमेत एल्गोरिदममार्फत हामीसम्म आइपुग्छन् । यसरी निरन्तर आइरहने सबै सूचनालाई समाचार मानेर बस्ने हो भने हामी सूचनाको भीडमा हराउन सक्छौँ । कतिपय अवस्थामा त्यस्ता सूचनाले आक्रोश, निराशा र विभाजनसमेत बढाउन सक्छन् । त्यसैले सूचना धेरै पाउनु र सही सूचना पाउनु एउटै कुरा होइन । नेपाली समाजमा मिडियाप्रतिको विश्वास किन खस्कियो भन्ने प्रश्नमा मिडियाले आफ्नै कमजोरीलाई पनि स्वीकार गर्नुपर्छ । मेरो विचारमा मिडिया डिस्क्रेडिट हुनुमा आधा जिम्मेवारी मिडियाकै छ । कतिपय अवस्थामा पर्याप्त तथ्य जाँच नगरी समाचार प्रकाशित भएका छन् । यसको पछिल्लो उदाहरणका रूपमा गृहमन्त्री सुदन गुरुङको पोखरास्थित जग्गासम्बन्धी समाचारलाई लिन सकिन्छ । बिहान एउटा दाबी आयो, त्यसपछि अर्को समाचारले त्यसलाई फरक ढंगले प्रस्तुत ग¥यो, फेरि त्यो जग्गा भाडामा लिएको भन्ने आयो, त्यसपछि भाडा नदिएको विषय आयो र अन्ततः फरक–फरक दाबीहरू एकपछि अर्को रूपमा समाचार बने । यस्तो अवस्थामा मिडियाले प्रकाशन गर्नुअघि नै तथ्यको पर्याप्त जाँच गर्नुपथ्र्यो । अहिले तथ्य जाँच गर्ने काम प्रकाशनपछि मात्र गरिने हो भने त्यसले समस्याको समाधान गर्दैन । तथ्य जाँच सम्भव भएसम्म समाचार प्रकाशित गर्नुअघि नै समाचार कक्षमा हुनुपर्छ ।

मिडियाप्रतिको अविश्वास बढ्नुमा बाह्य रूपमा सिर्जना भएका केही न्यारेटिभको पनि प्रभाव छ । उदाहरणका रूपमा ‘१२ भाइ’ भन्ने ट्यागलाई लिन सकिन्छ । डा. गोविन्द केसीले मेडिकल शिक्षामा देखिएका विकृति र सुशासनका पक्षमा पटक–पटक आन्दोलन तथा अनशन गर्नुभएको समयमा हामी केही सम्पादकहरूले उहाँको ज्यान जोगाउन र सुशासनको पक्षमा एउटा विज्ञप्ति जारी गरेका थियौँ । त्यो विज्ञप्ति १२ जना सम्पादकले संयुक्त रूपमा निकालेका थिए र त्यसको ड्राफ्ट मैले नै गरेको थिएँ । तत्कालीन सन्दर्भमा सरकारसँग असहमति राख्दै गोविन्द केसीको समर्थनमा सम्पादकहरूले जारी गरेको उक्त विज्ञप्तिलाई आधार बनाएर ‘१२ भाइ’ भन्ने शब्द प्रयोग गरिएको थियो । पछि त्यो शब्द एउटा फरक राजनीतिक तथा सामाजिक न्यारेटिभका रूपमा स्थापित हुँदै गयो र क्रमशः सिँगो मूलधारको मिडियालाई नै ‘१२ भाइ’ भनेर बुझाउने प्रयास भयो । यसले पहिले नै केही हदसम्म कमजोर बनेको मिडियाप्रतिको विश्वासलाई थप असर गरेको मेरो बुझाइ छ । अहिले यस्तो न्यारेटिभबाट कसरी बाहिर आउने भन्ने कुरा मिडियाका लागि ठूलो चुनौती बनेको छ । तर यसको अर्थ सबै मिडिया गलत छन् भन्ने होइन; मिडियाभित्रकै कमजोरी सुधार्दै जवाफदेही र तथ्यमा आधारित पत्रकारिता बलियो बनाउनुपर्छ ।

कर्णालीको सन्दर्भमा ‘कर्पोरेट मिडियाले कर्णालीको दुःख, भोक, रोग र गरिबी मात्र किन देखाउँछ, कर्णालीको शक्ति र सम्भावना किन देखाउँदैन ?’ भन्ने प्रश्न पनि जायज छ । तर समाचारलाई ‘गुड न्युज’ र ‘ब्याड न्युज’ भनेर छुट्याउनुभन्दा त्यसलाई कुन दृष्टिकोणबाट प्रस्तुत गरिएको छ भन्ने कुरा महŒवपूर्ण हुन्छ । करिब २०५० सालतिर कर्णालीमा देखिएको भोकमरीसम्बन्धी समाचारले राष्ट्रिय नीति र राज्यको ध्यान कर्णालीतर्फ आकर्षित गर्न महŒवपूर्ण भूमिका खेलेको मेरो बुझाइ छ । त्योभन्दा अगाडि कर्णालीका समाचार धेरैजसो स्याउ वा कुनै विशिष्ट घटना तथा विशिष्ट व्यक्तिको भ्रमणसँग मात्र जोडिन्थे । कर्णालीका सामान्य नागरिकका समस्या राष्ट्रिय समाचारको विषय बन्ने अवस्था कम थियो । भोकमरी, गरिबी, शिक्षा, स्वास्थ्य, छाउगोठलगायतका विषयमा रिपोर्टिङ हुन थालेपछि कर्णाली राष्ट्रिय मूलधारको बहसमा आउन थाल्यो । त्यसपछि कर्णालीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको उपस्थिति र विभिन्न विकाससम्बन्धी कामहरू पनि बढ्दै गए । त्यसैले नकारात्मक देखिने समाचारले पनि कहिलेकाहीँ राज्यलाई जवाफदेही बनाउन र सुधारको प्रक्रिया अघि बढाउन सकारात्मक भूमिका खेल्न सक्छ ।

पत्रकारिताको एउटा महत्त्वपूर्ण भूमिका भनेको समाजमा भएका विकृति र कुशासनलाई उजागर गर्नु पनि हो । मुर्रा भैँसी खरिदमा भएको भ्रष्टाचार, राउटेलाई दिइने भत्तामा भएको अनियमितताजस्ता विषयमा कर्णालीबाटै पत्रकारहरूले खोजमूलक रिपोर्टिङ गरेका छन् । यस्ता समाचारलाई ‘नकारात्मक समाचार’ मात्र भनेर हेर्नु उचित हुँदैन । भ्रष्टाचार र कुशासन उजागर गर्नु पत्रकारिताको मूल कर्ममध्ये एक हो । सरकारले कारबाही गर्ने हो, प्रहरीले अनुसन्धान गर्ने हो, अख्तियारले अनुसन्धान गर्ने हो र अदालतले न्यायिक प्रक्रिया अघि बढाउने हो । तर कहाँ भ्रष्टाचार भएको छ, कहाँ कुशासन भएको छ, कहाँ अनियमितता भएको छ भनेर उजागर गर्ने काम मिडियाले गर्न सक्छ । त्यस अर्थमा मिडियाले समाजमा सुशासनका लागि महत्वपूर्ण योगदान दिइरहेको हुन्छ ।

अन्ततः नागरिक स्वयम् पनि सुसूचित र जिम्मेवार हुन आवश्यक छ । आज स्मार्टफोन र सामाजिक सञ्जालका कारण हामी केवल समाचार ग्रहण गर्ने व्यक्ति मात्र रहेनौँ; हामी आफैँ सूचना उत्पादन र प्रसारण गर्न सक्ने अवस्थामा पुगेका छौँ । यसलाई टु–वे कम्युनिकेसन का रूपमा बुझ्न सकिन्छ । त्यसैले सूचना सही हो कि होइन भनेर जाँच्ने जिम्मेवारी पनि नागरिकमा बढेको छ । विभिन्न मिडियाले फरक–फरक कुरा भनेको अवस्थामा सबैलाई समान रूपमा पत्याउने होइन, कुन मिडिया जवाफदेही छ, कुन स्रोत प्राथमिक वा विश्वसनीय छ र कुन सामग्री तथ्यमा आधारित छ भन्ने छुट्याउन सक्नुपर्छ । उदाहरणका लागि, कुनै घटनाबारे प्रहरी अधिकारीले एउटा दाबी गरेकै भरमा त्यसलाई अन्तिम सत्य मान्ने कि घटनास्थलमा रहेको सम्बन्धित चिकित्सक वा प्राथमिक स्रोतबाट पनि पुष्टि गर्ने भन्ने विषयमा नागरिक र पत्रकार दुवैले सचेत हुनुपर्छ । मिडियामा जवाफदेहिता आवश्यक छ, तर पाठक र दर्शकमा पनि सूचना छनोट गर्ने क्षमता र जिम्मेवारी उत्तिकै आवश्यक छ ।


कृष्णमाया उपाध्याय (पत्रकार–बीबीसी नेपाली सेवा)

कर्णालीको पत्रकारितालाई हेर्दा पछिल्लो समय धेरै परिवर्तन भएको छ । तर हामीले ‘डटपेनदेखि डटकमसम्म’ भनेर जुन परिवर्तनको कुरा गरिरहेका छौँ, त्यो अझै पनि कर्णालीका सबै भूगोलसम्म अपेक्षित रूपमा पुग्न सकेको छैन । विशेषगरी हुम्ला, जुम्ला, डोल्पा, मुगुलगायतका दुर्गम जिल्लामा इन्टरनेटको पहुँच कमजोर छ । कतिपय ठाउँमा टेलिफोन नेटवर्कले समेत राम्रोसँग काम गर्दैन । सरकारले डिजिटल युगको विकासको कुरा गरिरहँदा पनि हामी पत्रकारहरू कतिपय अवस्थामा एउटा सामान्य समाचार संकलन गर्न फोनबाटै जानकारी लिन नसक्ने अवस्थामा छौँ । नेटवर्कले साथ नदिँदा अझै पनि घटनास्थलमै पुगेर रिपोर्टिङ गर्नुपर्ने बाध्यता छ । तर यसको अर्थ परिवर्तन नै भएको छैन भन्ने होइन । सदरमुकाम तथा पहुँच भएका ठाउँमा अहिले ४जी सेवा विस्तार भएको छ । मैले पत्रकारिता सुरु गरेको करिब १५ वर्षअघि कुनै घटना भयो भने फिल्डमै पुगेर मात्रै रिपोर्टिङ गर्नुपर्ने अवस्था थियो । अहिले स्मार्टफोन छ, सामाजिक सञ्जाल छ, विभिन्न डिजिटल माध्यम छन् । कुनै घटना भयो भने त्यसको सूचना र तस्वीर तत्काल प्राप्त गर्न सकिने अवस्था बनेको छ । त्यसैले सूचना प्रवाहको गति धेरै बढेको छ । तर कर्णालीजस्तो दुर्गम प्रदेशका सबै ठाउँमा यो परिवर्तन समान रूपमा पुग्न नसक्नु अझै ठूलो चुनौती हो ।

स्थानीय पत्रकारिताको अर्को महŒवपूर्ण पक्ष कर्णालीका मुद्दाहरूलाई प्रभावकारी रूपमा बाहिर ल्याउने विषय हो । हामीले कर्णालीका धेरै कथा लेखेका छौँ, तर अझै पनि यहाँका धेरै महŒवपूर्ण विषय डिजिटल माध्यमबाट राष्ट्रिय बहसमा आउन सकेका छैनन् भन्ने मलाई लाग्छ । यसको एउटा कारण जिल्लामा रहेका पत्रकारहरूले देखेका विषयलाई आफ्नै दृष्टिकोण र स्थानीय कोणबाट प्रस्तुत गर्ने पर्याप्त अवसर नपाउनु पनि हो । हामीले कर्णालीका पीडा र समस्यामात्र होइन, यहाँ भइरहेका सकारात्मक परिवर्तन र सम्भावनाका कथाहरू पनि बाहिर ल्याउन चाहन्छौँ । कर्णालीलाई केवल अभाव र पछौटेपनको प्रदेशका रूपमा होइन, परिवर्तन र सम्भावनाको प्रदेशका रूपमा पनि प्रस्तुत गर्नुपर्छ भन्ने हाम्रो चाहना हुन्छ । मैले पत्रकारिता सुरु गरेको समय र अहिलेको अवस्थाबीचको फरक देखाउने एउटा घटना मसँग अझै स्पष्ट रूपमा जोडिएको छ । २०६९ साल भदौ २५ गते कर्णाली राजमार्गमा ठूलो दुर्घटना भएको थियो । त्यतिबेला म रेडियो कर्णालीमा काम गर्थेँ । दुर्घटनाको फोटो तत्काल पाउने अवस्था थिएन, फोन पनि राम्रोसँग लाग्दैनथ्यो । राति करिब ११ बजे ल्यान्डलाइनबाट सूचना आएपछि हामी रिपोर्टिङका लागि कालिकोटको बिर्तामोड पुगेका थियौँ । आज त्यही ठाउँ वा त्यस्तै घटनामा प्रहरी वा अन्य निकायले सामाजिक सञ्जालमा फोटो तथा सूचना राख्नेबित्तिकै हामीले तत्काल जानकारी पाउन सक्छौँ । केही समयअघि कालिकोटमै भएको एम्बुलेन्स दुर्घटनाको घटनामा पनि प्रहरीले फेसबुकमा तस्वीर राखेपछि हामीले तत्काल जानकारी पाएका थियौँ । यसले प्रविधिले सूचना प्रवाहमा कति ठूलो परिवर्तन ल्याएको छ भन्ने देखाउँछ ।

सामाजिक सञ्जालको विकाससँगै पत्रकारितामा नयाँ चुनौती पनि थपिएको छ । फेसबुकमा समाचार वा सूचना आयो भन्दैमा त्यसलाई जस्ताको तस्तै प्रकाशित गर्नु हुँदैन । सामाजिक सञ्जाल एउटा सूचना वा संकेत दिने माध्यम हुन सक्छ, तर त्यो सूचना सत्य हो कि होइन, आधिकारिक हो कि होइन भन्ने पुष्टि गर्ने जिम्मेवारी पत्रकारको हो । अहिले प्रत्येक व्यक्तिको हातमा स्मार्टफोन छ । कसैले कुनै ठाउँमा घटना भएको जानकारी दिन सक्छ, फोटो राख्न सक्छ वा भिडियो सार्वजनिक गर्न सक्छ । तर त्यसलाई समाचार बनाउनुअघि पत्रकारले स्रोतसम्म पुग्नुपर्छ, तथ्य पुष्टि गर्नुपर्छ र आवश्यक परे धेरै स्रोतसँग क्रसचेक गर्नुपर्छ । छिटो समाचार दिने नाममा तथ्य पुष्टि नगरी समाचार प्रकाशित गर्दा पत्रकारिताको विश्वसनीयतामाथि नै प्रश्न उठ्छ । मैले कालिकोटमा भएको एम्बुलेन्स दुर्घटनाको घटनामा पनि यही अनुभव गरेँ । दुर्घटनापछि ‘एम्बुलेन्स दुर्घटना भयो’, ‘यति जना घाइते भए’, ‘यति जनाको मृत्यु भयो’ भनेर फरक–फरक सूचना आइरहेका थिए । तर ती सूचना स्पष्ट र विश्वसनीय थिएनन् । त्यसपछि मैले आधिकारिक स्रोत खोजेँ, घटनास्थलमा पुगेका व्यक्तिहरूसँग कुरा गरेँ, आफन्तहरूसँग सम्पर्क गरेँ र एम्बुलेन्स कहिले छुटेको थियो, कसरी दुर्घटना भयो तथा वास्तविक क्षति के भयो भन्ने विवरण पुष्टि गरेँ । त्यसपछि मात्रै समाचार तयार गरेँ । मेरो विचारमा समाचार केही ढिलो प्रकाशित हुनु ठूलो कुरा होइन, तर गलत समाचार प्रकाशित हुनु ठूलो समस्या हो । केही समयका लागि छिटो समाचार दिएर लोकप्रिय हुन सकिएला, तर गलत समाचार गएपछि त्यसले दीर्घकालीन रूपमा पत्रकार र सञ्चारमाध्यमको विश्वसनीयता कमजोर बनाउँछ । त्यसैले समाचार छिटोभन्दा पनि वास्तविक, प्रमाणित र विश्वसनीय हुनुपर्छ ।

पत्रकारितामा स्रोतको आधिकारिकता पहिचान गर्ने विषय पनि उत्तिकै महŒवपूर्ण छ । जुम्लामा गोविन्द केसी १९ दिनसम्म अनशनमा बस्नुभएको समयको एउटा घटना म कहिल्यै बिर्सन सक्दिनँ । त्यतिबेला उहाँको समर्थनमा ठूलो भिड थियो । मेडिकल शिक्षाको विषय उठिरहेको थियो र स्थानीय समुदायको पनि आन्दोलनप्रति समर्थन थियो । त्यही क्रममा भिड नियन्त्रण गर्ने क्रममा एकजना प्रहरी जवानको मृत्यु भएको भनेर प्रहरीबाट जानकारी सार्वजनिक भयो र धेरै मुख्यधारका सञ्चारमाध्यमले पनि प्रहरी जवानको मृत्यु भएको समाचार प्रकाशित गरे । तर मैले त्यो सूचनालाई मात्रै आधिकारिक मानेर समाचार लेखिनँ । मेरो लागि कुनै व्यक्ति मृत्यु भएको हो कि होइन भन्ने पुष्टि गर्ने आधिकारिक स्रोत चिकित्सक हो । त्यसैले मैले डाक्टरसँग सम्पर्क गरेँ । डाक्टरले ती व्यक्ति मरेको नभएको पुष्टि गर्नुभयो । मैले आफ्नो सम्पादकलाई पनि त्यो व्यक्ति जीवित रहेको जानकारी दिएँ । त्यसपछि चिकित्सकीय पुष्टि आएपछि मात्रै समाचार तयार भयो । तर त्यतिबेलासम्म धेरै सञ्चारमाध्यममा उहाँको मृत्यु भएको समाचार आइसकेको थियो । त्यसको असर परिवारसम्म पनि पुगेको थियो । यस घटनाले पत्रकारका लागि स्रोतको गहिराइसम्म पुगेर तथ्य पुष्टि गर्नु कति महŒवपूर्ण छ भन्ने देखाउँछ ।

कर्णालीका कथाहरूको कुरा गर्दा म विगत १५ वर्षदेखि कर्णालीमै बसेर, जुम्लामा बसेर पत्रकारिता गर्दै आएको छु । यस अवधिमा मैले कर्णालीका पीडा र संघर्षका कथामात्र होइन, यहाँ भइरहेका सकारात्मक परिवर्तनका कथाहरू पनि लेखेकी छु । कर्णाली राजमार्ग बनेपछि त्यसले जुम्लीको जीवनमा ल्याएको परिवर्तन, मार्सी फल्ने फाँटमा स्याउ खेती सुरु भएको विषयलगायत धेरै कथा लेख्ने अवसर पाएकी छु । मेरो विचारमा कर्णालीका यस्ता सकारात्मक कथा अझ धेरै बाहिर आउनुपर्छ । जिल्लामा रहेका रिपोर्टरलाई स्थानीय कोणबाट कथा खोज्ने र लेख्ने पर्याप्त स्वतन्त्रता र अवसर दिने हो भने कर्णालीका पीडा मात्र होइन, यहाँका सम्भावना र परिवर्तनका कथा पनि राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा पु¥याउन सकिन्छ । अहिले डिजिटल युगको कुरा गरिरहँदा कर्णालीमा सञ्चारमाध्यम सञ्चालन गर्नमै केही संरचनागत समस्या छन् । अनलाइन मिडिया दर्ता गर्न काठमाडौं पुग्नुपर्ने, कम्पनी रजिस्ट्रारको कार्यालय तथा प्रेस काउन्सिललगायतका निकायसम्म धाउनुपर्ने अवस्था छ । कर्णालीमा बसेर एउटा डिजिटल मिडिया सुरु गर्न चाहने व्यक्तिले त्यसका लागि काठमाडौं पुग्दा लाग्ने समय र खर्च सबैले धान्न सक्दैनन् । त्यसैले सरकारले डिजिटल युगको नीति बनाउँदा काठमाडौंलाई मात्र केन्द्रमा राखेर होइन, कर्णालीजस्ता दुर्गम प्रदेशका नागरिकले व्यवहारमै त्यसको लाभ लिन सक्ने गरी व्यवस्था गर्नुपर्छ ।

डिजिटल पहुँच भनेको इन्टरनेट र स्मार्टफोन मात्रै होइन । कर्णालीका धेरै ठाउँमा अझै पनि रेडियो नै सबैभन्दा लोकप्रिय सञ्चार माध्यम हो । सबै नागरिकले स्मार्टफोन चलाउन सक्ने अवस्था छैन । सरकारी कार्यालयका अनलाइन फारामहरू हेर्दा धेरैजसो अंग्रेजी भाषामा हुन्छन्, जसका कारण ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले सामान्य फारामसमेत भर्न नसक्ने अवस्था छ । हामीले यस्ता विषयमा समाचार लेख्दै आएका छौँ । त्यसैले मलाई लाग्छ, ‘डटपेनदेखि डटकमसम्म’ भन्ने डिजिटल यात्रा कर्णालीका सबै नागरिकसम्म समान रूपमा पुगेको छैन । डिजिटल पहुँचसँगै डिजिटल साक्षरता, भाषिक सहजता र सेवामा समान पहुँचको विषयलाई पनि प्राथमिकतामा राख्न आवश्यक छ । दुर्गम क्षेत्रमा रिपोर्टिङ गर्दा भौतिक कठिनाइ पनि कम थिएन । मुगु, कालीकोट र जुम्लामा म स्थलगत रूपमा हिँडेरै रिपोर्टिङ गर्न पुगेकी छु । राम्रो बसोबासको व्यवस्था नहुने, यात्रा कठिन हुने र महिला भएकै कारण ‘एउटी छोरी मान्छेले पनि यस्तो काम गर्न सक्छे ?’ भन्ने खालका प्रतिक्रिया सुन्नुपर्ने अवस्था थियो । तर आज त्यही समुदायका मानिसहरूले ‘पत्रकारिता राम्रो रहेछ, यहाँसम्म पुग्न सफल हुनुभयो’ भनेर प्रतिक्रिया दिँदा मलाई सबैभन्दा ठूलो कुरा निरन्तरता र संघर्ष रहेछ भन्ने लाग्छ । पत्रकारितामा आफ्नो आवाज र दृष्टिकोणलाई स्थापित गर्न निरन्तरता चाहिन्छ । कठिनाइ आए पनि आफ्नो कामप्रतिको प्रतिबद्धता नछोड्ने हो भने विस्तारै समाजले पनि त्यसलाई स्वीकार गर्छ भन्ने मेरो अनुभव हो ।


उमेश श्रेष्ठ (संस्थापक, माइसंसार डटकम, नेपाल फ्याक्ट चेक)

मेरो विचारमा पत्रकारितामा आएको सबैभन्दा ठूलो परिवर्तन भनेकै समाचारको गति र माध्यममा आएको परिवर्तन हो । पहिले हामी भोलिको समाचार बनाउँथ्यौँ भने अहिले तत्कालको समाचार त्यही क्षणमा सम्प्रेषण गर्न सकिन्छ । कर्णाली उत्सवलाई नै उदाहरणका रूपमा हेर्दा, पहिले यस्तो कार्यक्रमको समाचार भोलिपल्ट पत्रिकामा पढ्नुपर्ने अवस्था थियो भने अहिले कार्यक्रम चलिरहेकै बेला लाइभ स्ट्रिमिङमार्फत संसारभरबाट हेर्न सकिन्छ । डटपेन आज पनि चलिरहेको छ, तर त्यसको प्रयोग गर्ने तरिका बदलिएको छ । पहिले डटपेनले कागजमा लेखेर कागजमै प्रकाशित गरिन्थ्यो भने अहिले मोबाइलबाटै लेखेर तत्काल समाचार प्रकाशन गर्न सकिन्छ । त्यसैले पाठकको समाचार पढ्ने बानी पनि पत्रिकाबाट मोबाइलतर्फ सरेको छ । फ्याक्ट–चेकिङको दृष्टिले हेर्दा पनि ठूलो परिवर्तन आएको छ । पहिले समाचार प्रकाशित गर्नुअघि तथ्य जाँच गरिन्थ्यो भने अहिले धेरै अवस्थामा समाचार प्रकाशित भइसकेपछि त्यसको तथ्य जाँच गर्नुपर्ने अवस्था आएको छ ।

पत्रकारिताको विश्वसनीयता जोगाउन पत्रकारिताले आफ्नो मूल जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्छ । अहिले सामाजिक सञ्जालमा कुनै नेताले लेखेको कुरा वा कसैले पोस्ट गरेको सामग्रीलाई जस्ताको तस्तै समाचार बनाउने प्रवृत्ति बढेको छ । तर त्यो कुरा पाठकले सामाजिक सञ्जालमै हेरिसकेको हुन्छ भने त्यसलाई फेरि समाचार बनाउनुको औचित्य के हो भन्ने प्रश्न उठ्छ । लिगेसी मिडियाले सामाजिक सञ्जालले दिएको सूचनाभन्दा फरक, थप मूल्य दिने र तथ्यमा आधारित सामग्री दिनुपर्छ । अहिले पाठक स्वयं पनि कन्टेन्ट क्रिएटर बनेका छन् । त्यसैले पत्रकार र सामाजिक सञ्जालका सामग्रीबीचको अन्तर स्पष्ट पार्नु र पत्रकारिताको विश्वसनीयता कायम गर्नु झन् चुनौतीपूर्ण भएको छ ।

यसको एउटा उदाहरणका रूपमा म सन् २०२२ मा सुर्खेतमा मिथ्या सूचनासम्बन्धी कार्यशालाका क्रममा सुनेको ‘मोटे ग्याङ’ को प्रसङ्ग सम्झन्छु । सुरुमा मलाई ‘मोटे ग्याङ’ भनेको के हो भन्ने नै थाहा थिएन । पछि बुझ्दा त्यो सुर्खेत वरिपरिका घटनालाई प्राथमिकता दिएर सामग्री बनाउने एउटा कन्टेन्ट क्रिएसन पेज रहेछ । कतिपय अवस्थामा पत्रकार दिनभरि रिपोर्टिङ गरेर तयार पारेको समाचारभन्दा त्यस्ता सामाजिक सञ्जालका पेजमा घटना पहिल्यै आइसकेको हुने रहेछ । काठमाडौंमा पनि यस्ता पेजहरू छन् र कतिपय अवस्थामा स्थापित सञ्चारमाध्यमले भन्दा सामाजिक सञ्जालका लोकप्रिय पेजले लेखेको कुरालाई मानिसहरूले बढी विश्वास गर्ने अवस्था देखिन्छ । तर त्यस्तो सामग्री पत्रकारिता होइन भन्ने कुरा बुझ्न आवश्यक छ । पत्रकारिताको मूल काम सूचना मात्र दिनु होइन, त्यसलाई प्रमाणित गर्नु, सन्दर्भ दिनु र जिम्मेवारीपूर्वक प्रस्तुत गर्नु हो ।

मिथ्या सूचनाको प्रभाव कति गम्भीर हुन सक्छ भन्ने कुरा पछिल्ला आन्दोलनका घटनाहरूबाट पनि देख्न सकिन्छ । सामाजिक सञ्जालमा ‘संसद्भित्र १८ जना मारिए’ जस्ता अपुष्ट दाबीहरू फैलिँदा त्यसले मानिसको आक्रोश र भ्रमलाई अझ बढाउने काम गर्छ । यस्तो गलत सूचना एकपटक व्यापक रूपमा फैलिसकेपछि त्यसले वास्तविक घटनाक्रम र जनधारणामा समेत ठूलो असर पार्न सक्छ । त्यसैले पत्रकार मात्र होइन, सामाजिक सञ्जाल प्रयोग गर्ने प्रत्येक व्यक्तिले आफूले सेयर गर्ने सामग्रीप्रति जिम्मेवार हुन आवश्यक छ ।

पत्रकारिताको विश्वसनीयता जोगाउन पत्रकारहरूले आफ्ना गल्ती स्वीकार गर्न पनि सिक्नुपर्छ । हामी पत्रकारहरू आफूलाई सबै कुरा थाहा भएको र गल्ती नै नगर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्छौँ, तर हामी भगवान् होइनौँ, गल्ती हुन्छ । गल्ती भएपछि त्यसलाई स्पष्ट रूपमा स्वीकार गरेर सच्याउनु ठूलो कुरा होइन । ‘अन्यथा भएकोमा सच्याइएको छ’ भन्ने अस्पष्ट भाषाभन्दा ‘हामीले गलत सूचना पायौँ, हाम्रो गल्ती भयो, क्षमा चाहन्छौँ’ भनेर स्पष्ट रूपमा भन्न सक्नुपर्छ । यसले पत्रकारिताको विश्वसनीयता घटाउँदैन, बरु बढाउँछ । पत्रकार आफैँले विषय नबुझेको अवस्थामा पनि आफ्नो धारणा वा निष्कर्ष प्रस्तुत गर्नु हुँदैन । विषय बुझ्न, अध्ययन गर्न र आवश्यक स्रोतसँग पुष्टि गर्न पत्रकार उत्तिकै जिम्मेवार हुनुपर्छ ।

मिथ्या सूचना पहिचान गर्ने सबैभन्दा सजिलो उपाय भनेको हरेक कुरामा तत्काल विश्वास नगरी शंका गर्ने बानी विकास गर्नु हो । कुनै सामग्री देख्नेबित्तिकै कमेन्ट गर्ने, सेयर गर्ने वा आफ्नो धारणा बनाउनेभन्दा पहिले एकपटक रोकिएर सोच्नुपर्छ । विशेषगरी आफूलाई अत्यन्तै रिस उठाउने, अत्यन्तै खुसी बनाउने वा भावनामा खेल्ने सामग्रीप्रति अझ बढी सावधान हुनुपर्छ । कोरोना महामारीका समयमा ‘नेपालीले नै कोरोनाको खोप बनाए’ भन्ने समाचारसमेत फैलिएको थियो । हामीले त्यसको फ्याक्ट–चेक गर्दा दाबी गर्ने व्यक्तिसँग आधारभूत प्रश्नहरूको समेत स्पष्ट उत्तर नभएको पायौँ । गलत सूचनाका आधारमा सम्बन्धित व्यक्तिलाई सरकारी अनुदान दिनेसम्मको प्रक्रिया अघि बढेको अवस्था थियो । त्यसैले खुसी लाग्ने समाचार भए पनि र दुःख वा आक्रोश पैदा गर्ने समाचार भए पनि समान रूपमा शंका गर्नुपर्छ ।

त्यसबाहेक मिथ्या सूचना पहिचान गर्न केही प्राविधिक उपाय पनि प्रयोग गर्न सकिन्छ । रिभर्स इमेज सर्च गर्ने, भिडियोको मूल स्रोत खोज्ने र भिडियो काटिएको वा सम्पादन गरिएको छ कि छैन भनेर जाँच्ने जस्ता उपाय महत्वपूर्ण छन् । पछिल्लो समय हामीले फ्याक्ट–चेक गरेका सामग्रीमा एआईबाट बनाइएका भिडियोभन्दा पनि वास्तविक भिडियो काटछाँट गरेर अर्कै अर्थ लाग्ने गरी प्रस्तुत गरिएका सामग्री धेरै समस्याजनक देखिएका छन् । चुनावका क्रममा पनि कुनै व्यक्तिले बोलेको कुरालाई बीचबाट काटेर अर्कै सन्देश दिने गरी भाइरल बनाइएका सामग्री भेटिएका थिए । त्यसैले भिडियो देख्नेबित्तिकै त्यसलाई एआई भनेर निष्कर्ष निकाल्नु वा त्यसैका आधारमा धारणा बनाउनु उचित हुँदैन । अध्ययन गर्ने, स्रोत खोज्ने र तथ्य पुष्टि गर्ने बानी नै मिथ्या सूचनाबाट जोगिने मुख्य उपाय हो ।

कर्णालीमा पत्रकारिताको अवस्था हेर्दा अर्को ठूलो समस्या स्रोत र लगानीको अभाव हो । लिगेसी मिडियासँग पर्याप्त स्रोत नभएकाले पत्रकारलाई जुम्ला वा कर्णालीका अन्य विकट भूभागमा पठाएर लामो समय लगाएर अनुसन्धानमूलक रिपोर्टिङ गराउने अवस्था कमजोर छ । काठमाडौंमै पत्रकारहरूले पारिश्रमिक र स्रोतको अभावका विषयमा आवाज उठाइरहेको अवस्थामा कर्णालीमा त्यसको चुनौती अझ ठूलो छ । कतिपय अवस्थामा एउटा पत्रकार वा ब्युरोले पूरै प्रदेशको समाचार समेट्नुपर्ने अवस्था हुन्छ । यस्तो अवस्थामा कर्णालीका विकट भूगोल, स्थानीय समस्या र नागरिकका वास्तविक कथाहरू राष्ट्रिय सञ्चारमाध्यममा पर्याप्त रूपमा आउन नसक्नु स्वाभाविक पनि हो ।

अन्ततः विभिन्न सञ्चारमाध्यमबाट आउने सूचनालाई बुझ्दा कुनै एउटा पक्षको व्याख्यालाई मात्र सत्य मानेर अघि बढ्नु हुँदैन । कोही दायाँतर्फको दृष्टिकोणबाट समाचार लेख्छन्, कोही बायाँतर्फको दृष्टिकोणबाट । त्यसैले पाठक वा दर्शकले आफूले पढेको सामग्रीको स्रोत के हो, तथ्य केमा आधारित छ, सम्बन्धित व्यक्तिको प्रत्यक्ष भनाइ छ कि छैन, प्रमाण प्रस्तुत गरिएको छ कि छैन र केवल ‘यस्तो सुनिएको छ’ भन्ने आधारमा लेखिएको हो कि होइन भन्ने कुरा हेर्नुपर्छ । एउटै विषयलाई फरक व्यक्तिले फरक ढंगले व्याख्या गर्न सक्छन्, तर त्यसको आधारभूत तथ्य भने एउटै हुन्छ । त्यसैले हाम्रो ध्यान व्याख्याभन्दा पहिले फ्याक्ट के हो भन्ने पत्ता लगाउनमा हुनुपर्छ । तथ्य पहिचान गर्ने र त्यसलाई प्रमाणित गर्ने बानी विकास गर्न सकियो भने पत्रकारिता मात्र होइन, समग्र समाजलाई पनि मिथ्या सूचनाको प्रभावबाट धेरै हदसम्म जोगाउन सकिन्छ ।


इन्द्रध्वज क्षेत्री (सहजकर्ता)

२००० को दशकमा डटकम मिडियाको तीव्र विस्तार हुँदा रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमले नयाँ चुनौती सामना गर्नुपरेको थियो । तर २०१० को दशकमा आइपुग्दा परम्परागत मिडियाले पनि डटकम तथा डिजिटल प्रविधिलाई आत्मसात् गर्दै आफूलाई परिवर्तनसँग जोड्दै लगियो । अहिले २०२० को दशकमा आइपुग्दा परम्परागत माध्यमलाई लिगेसी मिडियाको रुपमा तथा मोबाइल र सामाजिक सञ्जालको व्यापक पहुँचका कारण हरेक व्यक्ति आफैँ सूचना प्रवाह गर्ने अवस्थामा पुगेको छ । यसले पत्रकारिताको स्वरूप, समाचारको प्रस्तुति, सूचना उपभोग गर्ने तरिका र पत्रकारिताको भूमिकामै महत्वपूर्ण परिवर्तन ल्याएको छ । यस परिवर्तनसँगै पत्रकारिताको आधारभूत काम समाचार संकलन र सम्पादन नै भए पनि त्यसको गति, पहुँच र प्रस्तुतीकरणमा ठूलो परिवर्तन आएको छ । पहिले कुनै कार्यक्रम वा घटनाको समाचार अर्को दिन पत्रपत्रिका वा साँझको टेलिभिजनमा मात्र देखिने अवस्था थियो भने अहिले त्यही सामग्री तत्काल लाइभ स्ट्रिमिङमार्फत संसारको जुनसुकै ठाउँबाट हेर्न सकिने भएको छ । सामाजिक सञ्जाल र मोबाइल प्रविधिले स्थानीय घटनाका सूचना तथा तस्बिर तत्काल उपलब्ध गराउने अवस्था सिर्जना गरेको छ । तर सूचना प्रवाहको यो तीव्रतासँगै मिथ्या सूचना र कुसूचना फैलिने जोखिम पनि बढेको छ । त्यसैले पत्रकारिता र डिजिटल सामग्रीबीचको भिन्नता, लिगेसी मिडियाको जवाफदेहिता तथा तथ्य परीक्षणको आवश्यकता अहिले अझ महत्वपूर्ण बनेको मेरो बुझाइ छ ।

विशेषगरी सामाजिक सञ्जाल र कन्टेन्ट क्रिएटरको बढ्दो प्रभावले मुख्यधारका सञ्चारमाध्यमलाई नयाँ प्रतिस्पर्धाको सामना गराएको छ । एउटा समाचार पुष्टि र सम्पादन गरेर प्रकाशन गर्ने क्रममा लाग्ने समयका कारण मेनस्ट्रिम मिडियाले तत्काल प्रकाशित हुने अपुष्ट सामग्रीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । यसले भ्युज, भ्युअर्स र त्यससँग जोडिएको आम्दानीको दबाबसमेत सिर्जना गरेको छ । त्यसैले प्रविधिको गति पछ्याउँदा पत्रकारिताका आधारभूत मूल्य, विश्वसनीयता र जवाफदेहितालाई कमजोर हुन दिन नहुने विषयमा विशेष ध्यान दिन आवश्यक छ । साथै, सामाजिक सञ्जालमा आएको प्रत्येक सूचना समाचार नहुने भएकाले पत्रकार र सञ्चारमाध्यमले स्रोतको पुष्टि, तथ्य परीक्षण र सन्दर्भको जाँचलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।

कर्णालीको सन्दर्भमा हेर्दा यो परिवर्तनसँगै अवसर र चुनौती दुवै छन् । मोबाइल र डिजिटल माध्यमको पहुँच भएका स्थानमा स्थानीय घटनाको सूचना तत्काल बाहिर ल्याउन सहज भएको छ, तर कर्णालीका सबै भूगोलमा इन्टरनेट र सञ्चारको समान पहुँच अझै स्थापित भइसकेको छैन । त्यसैले स्थानीय पत्रकारिताले प्रविधिको प्रयोगसँगै आफ्नो मौलिक भूमिका पनि कायम राख्नुपर्ने हुन्छ । मेरो विचारमा डटकम र सामाजिक सञ्जालले सूचना प्रवाहलाई छिटो बनाए पनि पत्रकारिताको मूल्य केवल छिटो सूचना दिनुमा सीमित हुँदैन । विश्वसनीय सूचना, जवाफदेहिता, तथ्यमा आधारित रिपोर्टिङ र समाजका महत्वपूर्ण विषयलाई गहिराइमा उठाउने क्षमता नै पत्रकारिताको वास्तविक शक्ति हो । त्यसैले बदलिँदो प्रविधिलाई आत्मसात् गर्दै पनि पत्रकारिताको विश्वसनीयता र जिम्मेवारीलाई केन्द्रमा राखेर अघि बढ्नु आवश्यक छ ।


(ऋति फाउन्डेसनले २०८२ चैत्र २८ देखि ३० गतेसम्म वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली उत्सवको सातौँ संस्करणमा विमर्श गरिएका सबै सत्रहरू क्रमशः साझा बिसौनी दैनिकमा प्रकाशित भइरहेका छन् ।) 

प्रकाशित मितिः   २७ भाद्र २०८३, शनिबार १३:२१