स्थानीय उत्पादन प्रवद्र्धन गर्न कोसेली घर सञ्चालन

सुर्खेत: वीरेन्द्रनगरमा शुक्रवारदेखि कोसेली घर सञ्चालनमा आएको छ । प्रदेश सरकारले आफ्नै भवनबाट कोसेली घर सञ्चालनमा ल्याएको हो । उद्यमीले सञ्चालन गरेका उद्योगका उत्पादन तथा स्थानीय हस्तकलाका सामानहरू सुपथ मुल्यमा बिक्री वितरण गर्नेगरी कोसेली घर सञ्चालनमा ल्याइएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले जनाएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले कोसेली घरको उद्घाटन गरिन् । खड्काले उद्योग क्षेत्रलाई प्रवद्र्धन गर्न कोसेली घरले सहयोग पु¥याउने बताइन् । यसको संरक्षण र प्रवद्र्धन गर्नका लागि सरकार योजना निर्माण गरेको भन्दै सवैको पहुँचमा हुनेगरी सञ्चालन गरिने उनको भनाइ छ ।
उद्धाटन कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले मुलुकको आर्थिक अवस्थाको कारण उद्योगी व्यवसायी मारमा परेको बताए । उनले व्यापार व्यवसायमा आएको मन्दीले कतिपय व्यापारी तथा उद्योगी पलायन भइसकेको र कतिपय पलायन हुने स्थितिमा रहेको जनाए ।
प्रदेश सरकारले स्थानीय सरकारले समेत स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने लघु औद्योगिक ग्राम तथा कोसेली गृह सञ्चालक समितिका अध्यक्ष सुमननाथ योगीले बताए । उनले चुनौतीका चाङ्गका बीचमा कोसेली घर सञ्चालनमा ल्याइएको बताउँदै यसको निरन्तरताका लागि उपभोक्तासँगै सरकारले सहयोग गर्नुपर्ने जानकारी दिए ।
कोसेली घर निर्माण कार्य २०७७ असोज २० गतेबाट सुरु गरिएको थियो । एक करोड ९९ लाख लागत अनुमान रहेको भवनको एक करोड २४ लाखमा सम्झौता गरिएको थियो । २०७९ कार्तिकमा सम्पन्न भइ यो वर्षबाट सञ्चालनमा ल्याइएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख मुकुन्द्रनाथ योगीले बताए । स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरूको उत्पादनमा वृद्धि गर्ने र बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले कोशेली घर सञ्चालन गरिएको उहाँको भनाइ छ । घरेलु तथा साना उद्योगहरूबाट निर्माण भएका सामग्रीको उचित बजार मूल्यका साथ कोसेली घरमा राखिएको छ ।
प्रकाशित मितिः २० भाद्र २०८३, शनिबार १९:३४
साझा बिसौनी ।