भोटेकोशी बाढीः दश दिनसम्म के भयो ?

सुर्खेत: रसुवाको भोटेकोसी नदीमा विनाशकारी बाढी आएको दश दिन पूरा भएको छ । भदौ १० गते बिहान अकस्मात आएको भीषण बाढीले चीनसँग सिमा जोडिएको रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका बस्तीमा पसेर ठूलो मानवीय तथा भौतिक क्षति पु¥यायो । घरहरूभन्दा माथिबाट उर्लिएको बाढीले केही मिनेटमै नदी आसपासका बस्ती र संरचना तहसनहस बनायो । त्यसपछि त्रिशूली हुँदै बाढी नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीसम्म पुगेको थियो ।

बाढी आएको दश दिन बितिसक्दा पनि सयौँ परिवार आफ्ना आफन्तको खोजीमा छन् । बाढीले क्षति पु¥याएको नदी किनार, बस्ती, सडक र जलविद्युत आयोजनाका संरचनामा खोजी जारी छ । दशौँ दिनले एउटा आशाजनक खबर पनि दिएको छ–त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा फसेका दुई जनालाई जीवितै उद्धार गरिएको छ ।

सुरुवाती अवस्थामा बाढीको कारणबारे अन्योल थियो । भूकम्पदेखि हिमताल फुट्नेसम्मका अनुमान गरिए । तर पछिल्ला वैज्ञानिक अध्ययनले लाङटाङ लिरुङ हिमालको उत्तरी क्षेत्रमा भएको ठूलो हिमपहिरो तथा त्यसबाट सिर्जित हिम चट्टान र माटोको बहाव बाढीको मुख्य कारण भएको संकेत गरेका छन् । बाढीले रसुवामा घर, बजार, बस्ती, सरकारी कार्यालय, सुरक्षा चौकी, सडक, पुल र जलविद्युत संरचनामा ठूलो क्षति पुर्‍याएको छ ।

घटनाको पहिलो दिन नै टिमुरे र आसपासमा ठूलो क्षति भएको विवरण आएको थियो । हजारौँ अन्य नागरिकका साथसाथै सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तत्काल खोज तथा उद्धारमा परिचालित भए । दर्जनौँ हेलिकोप्टर उद्धारका लागि प्रयोग गरिए ।

बाढीपछिको क्षतिको तथ्यांकले विपद्को भयावह तस्वीर देखाउँछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रवारसम्म एक हजार दुई सय ८७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । पाँच हजारभन्दा बढी अझै सम्पर्कविहीन छन् । १३ हजारभन्दा बढीको उद्धार गरिएको दावी सरकारले गरेको छ । पाँच हजार बढी संख्यामा घाइतेहरूको उपचार भइरहेको छ ।

एक हजार बढीको शव फेला परेपनि ९६ जनाको मात्रै सनाखत भएर आफन्तले बुझेका छन् । अन्यको सनाखत हुन सकेको छैन । शवको पहिचानका लागि नेपाल प्रहरीले डीएनए नमुना संकलन थालेको छ । बेपत्ता व्यक्तिका नजिकका आफन्तबाट नमुना लिएर फेला परेका शव तथा मानव अवशेषसँग मिलान गर्ने प्रक्रिया अघि बढाइएको छ ।

शव व्यवस्थापनका साथसाथै उद्धार अभियानलाई पनि तीव्र पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । जसको प्रयासमा अहिलेसम्म १२ हजारभन्दा बढी मानिसको जीवित उद्धार भइसकेको छ । नेपाली सेनाले मात्र हवाई तथा स्थलमार्गबाट हजारौँ मानिसको उद्धार गरेको छ ।

 

बाढीपछि जलविद्युत

आयोजनाका सुरुङहरूमा कामदार फसेको खबरले उद्धार अभियानलाई थप जटिल बनायो । नेपाली सेना तथा सशस्त्र प्रहरी सहितको टोलीले सुरुङभित्र प्रवेश गरेर सम्भावित जीवित व्यक्तिको खोजी गरिरहेको थियो । दशौँ दिनमा भने यही खोजी अभियानले आशाको खबर ल्यायो । त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्र मानिस जीवित रहेको संकेत पाएपछि उद्धार टोलीले खोजी तीव्र बनायो । त्यसक्रममा दुई जनालाई जीवितै बाहिर निकालिएको छ । यो घटनाले अझै पनि सुरुङ तथा भग्नावशेषभित्र फसेका व्यक्तिहरू जीवित हुनसक्ने आशा जगाएको छ । त्यसैले खोजी अभियान रोकिएको छैन ।

मानवीय क्षतिसँगै भोटेकोसी बाढीले नेपालको पूर्वाधारमा पनि ठूलो धक्का दिएको छ । रसुवा–केरुङ नाका जोड्ने सडक संरचना, पुल, बजार क्षेत्र, सुरक्षा तथा सरकारी कार्यालय र जलविद्युत आयोजना प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार भोटेकोसी–त्रिशूली करिडोरका १४ जलविद्युत आयोजना प्रभावित भएका छन् । तीमध्ये सञ्चालनमा रहेका नौ र निर्माणाधीन पाँच आयोजना छन् । प्रभावित आयोजनाको कुल क्षमता करिब ७४८ मेगावाट रहेको प्रारम्भिक विवरण छ ।

बाढीले प्रसारण संरचना, पहुँचमार्ग, बाँध, पावरहाउस तथा आयोजनाका अन्य संरचनामा समेत क्षति पु¥याएको छ । तर वास्तविक आर्थिक क्षतिको पूर्ण विवरण भने विस्तृत प्राविधिक मूल्यांकनपछि मात्रै आउनेछ । उद्धारसँगै अहिले सरकारको ध्यान राहत, विस्थापितको व्यवस्थापन र पुनस्र्थापनातर्फ पनि बढ्दै गएको छ । रसुवा, नुवाकोट र धादिङमा विस्थापितहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ । सडकमार्ग अवरुद्ध भएका क्षेत्रमा हेलिकोप्टरबाट राहत सामग्री पु¥याइएको छ ।

टेलिफोन तथा इन्टरनेट सम्पर्क पुनःस्थापित गर्ने काम पनि अघि बढाइएको छ । नेपाल टेलिकमका क्षतिग्रस्त टावरहरू पुनः सञ्चालनमा ल्याइएको र एनसेलका अधिकांश क्षतिग्रस्त टावरसमेत सञ्चालनमा आएको विवरण सार्वजनिक भएको छ ।

सरकारले प्रभावित संरचनाको प्रारम्भिक मूल्यांकन सुरु गरिसकेको छ । घर, सडक, पुल, जलविद्युत तथा अन्य पूर्वाधारको विस्तृत क्षति मूल्यांकनपछि पुनर्निर्माणका लागि आवश्यक स्रोत निर्धारण गर्ने तयारी छ ।

प्रकाशित मितिः   २० भाद्र २०८३, शनिबार १९:२९