प्राथमिकताका आधारमा पूर्वाधार निर्माण
सुर्खेत: कर्णाली प्रदेश सरकारले विपद्बाट क्षति भएका पूर्वाधार निर्माण प्राथमिकताका आधारमा गर्ने भएको छ । यसअघि विपद्बाट क्षति भएको लामो समयसम्म पनि पूर्वाधारका काममा ढिलाइ हुने गरेको थियो । जसले गर्दा नागरिकले वर्षाैंसम्म समस्या झेल्दै आएका थिए । यो पटक भने प्रदेश सरकारले योजना नै निर्माण गरेर कार्यक्रम कार्यान्वयन गर्न लागेको छ ।
कर्णाली प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी निर्णय गरेर कार्यान्वयन गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले गरेका निर्णय बुधवार प्रमाणीकरण गरिएको छ । जसमा जाजरकोटको बाढी प्रभावित क्षेत्रदेखि रसुवा बाढीबाट प्रभावित कर्णालीका नागरिकका पक्षमा निर्णय भएको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले बताए । साउन ३० गते जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ्मा अविरल वर्षा पश्चात् गएको बाढीमा प्रभावितहरूका लागि आपतकालीन गोदामबाट जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाइएका राहत सामग्रीहरूको निकासालाई अनुमोदन गरिएको छ । साथै, गोदाममा आवश्यक मौज्दात कायम राखिने भएको छ । जाजरकोटको बाढी, पहिरो प्रभावित र अन्य जिल्लाहरूमा भएका प्राकृतिक प्रकोपबाट पूर्ण क्षति भएका घरहरूको पुनर्निर्माण कार्य भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरी प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ ।
कर्णाली प्रादेशिक आपतकालीन केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको छ । ‘प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र पीइओसी सञ्चालन कार्यविधि’ एक महिनाभित्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउने तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ । सम्भावित विपद्का समयमा उद्धार कार्यका लागि आवश्यक पर्ने उद्धार सामग्रीहरू विभिन्न सुरक्षा निकायहरूसँग समन्वय गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत स्वीकृत कार्यक्रम बमोजिम उपलब्ध गराउने व्यवस्था मिलाउने जनाइएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट मृत्यु भएका व्यक्तिहरूको आफ्नो धर्मअनुसार काजकिरिया खर्च र शव फेला परेको स्थानबाट शव व्यवस्थापन गर्ने क्षेत्रसम्म शव ढुवानीका लागि मृतकका परिवारलाई विपद् पीडित उद्धार तथा राहत वितरणसम्बन्धी कार्यविधि, २०७९ बमोजिम रकम उपलब्ध गराउन तथा गृह मन्त्रालय, नेपाली सेना र स्थानीय प्रशासनले रसुवा बाढी पीडित भनी प्रमाणित गरेका व्यक्तिलाई सम्बन्धित प्रभावित क्षेत्रबाट वा बाढी प्रभावित भइ उद्धार भएको क्षेत्र वा उद्धार पश्चात अस्पतालमा उपचार भइ डिस्चार्ज भएको अस्पतालबाट कर्णाली प्रदेशको आफ्नो स्थायी घर ठेगानासम्म सार्वजनिक सवारी साधनबाट आउनको लागि आवश्यक पर्ने यातायात खर्च वापतको रकम उपलब्ध गराउने लगायत विपद् व्यवस्थापनमा खर्च गर्नका लागि प्रत्येक जिल्ला विपद् व्यवस्थापन कोषमा प्रदेश विपद् व्यवस्थापन कोषबाट १५ लाख उपलब्ध गराउने जनाइएको छ ।
सरकारले यस्तो निर्णय गरेपनि जाजरकोट भूकम्पका पीडितहरूको उचित व्यवस्थापन हुन सकेको छैन । जाजरकोट केन्द्रविन्दु भएर विनाशकारी भूकम्प गएको तीन वर्ष भयो । तर भूकम्पका कारण घरबास गुमाएकाहरू अस्थायी टहरामै बस्न बाध्य छन् । २०८० कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडालाई केन्द्रविन्दु बनाउँदै गएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुमपश्चिममा एक सय ५४ जनाको ज्यान गएको थियो । अहिले भूकम्पबाट बाँचेकाको पनि बिचल्ली भएको छ । पुनर्निर्माणमा सरकारले ध्यान नदिँदा यस्तो अवस्था आएको हो । सुरुमा उद्धार, राहत र अस्थायी आवास निर्माणमा तीव्रता दिएको सरकारले पुनस्र्थापना र पुनर्निर्माणमा गरेको ढिलाइले अझै पनि कतिपय नागरिकले अस्थायी आवासमा बस्न बाध्य भएका छन् । समयमै पुनर्निमार्णका काम अघि बढ्न सकेको छैन ।
लगातार वर्षा हुन थालेपछि भूकम्पपीडितको बसाइँ थप जोखिमपूर्ण बन्न थालेको छ । भूकम्पले घर भत्किएपछि आवासविहीन जनता सरकारले दिएको अस्थायी आवासमा जोखिमपूर्ण रूपमा बस्दै आएका छन् । चालु आर्थिक वर्षमा जाजरकोट भूकम्पका क्रममा भएको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न प्रदेश सरकारले १४ करोड बजेट विनियोजन गरेको छ । यो वर्ष जाजरकोट भूकम्पबाट क्षतिग्रस्त भएका रूकुमपश्चिम र जाजरकोट जिल्लाका सामुदायिक विद्यालय तथा सरकारी स्वास्थ्य संस्थाहरूको पुननिर्माण गर्न १४ करोड ५० लाख बजेट विनियोजन गरिएको हो । तीन तहकै सरकारको पहलमा जाजरकोट भूकम्पबाट भएको क्षतिको पुननिर्माण भइरहेको छ । तर नागरिकले सरकारी सेवा लिन नै सास्ती भोगिरहेका छन् । तीन तहकै सरकारले प्रत्येक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको भएपनि कार्यान्वयन प्रभावकारी नहुँदा भूकम्प पीडित सन्तुष्ट बन्न सकेका छैनन् । सरकारले निर्णय गर्ने तथा कार्यान्वयन नगर्दा निकै समस्या भएको हो ।
प्रकाशित मितिः १९ भाद्र २०८३, शुक्रबार १९:४३
रजनी याेगी ।