सडक सुरक्षा
वीरेन्द्रनगरका अधिकांश सडक साँघुरा छन् । त्यसमाथि सडक प्रयोगमा हेलचक्य्राइँ हुँदा सडक दुर्घटनाको जोखिम बढेको छ । यात्रु र सवारी साधन मूल सडकमै हिँड्ने र गुड्ने हुँदा दुर्घटनाको जोखिम झन् बढी हुन्छ । जेब्रा क्रस नहुँदा सवारी चलाउने र पैदल यात्री दुवैलाई समस्या हुने गरेको छ । हेलचक्य्राइँ कुनै एक पक्षबाट मात्र पनि भएको छैन । पैदल यात्रु, सवारी चालकका साथै नियम पालना गराउनुपर्ने निकाय ट्राफिक प्रहरीबाट पनि बेवास्ता हुने गरेको छ । यात्रुले जहाँकहीँबाट बाटो काटिरहेका हुन्छन् । जेब्रा क्रससम्म पुग्दैनन् । अर्कोतर्फ सवारी चालकहरू जेब्रा क्रस भएको स्थानमा पनि गति कम नगरेर सवारी हाँक्छन्, यात्रु नै डराउनुपर्नेगरी ।
दुवै पक्षले नियम पालना नगरेपछि जेब्रा क्रस हुनुको पनि कुनै अर्थ रहेन । त्यसमाथि ट्राफिक प्रहरीको कर्तव्य सडक अनुशासन पालना गराउनु, नियम लागू गर्नु र पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउनु हो । तर नियमनकारी निकायले नै बेवास्ता गरिरहेको छ । मुख्य चोकमै नियमविपरित यात्रुहरूले बाटो काटिरहँदा नजिकै रहेका प्रहरी मुकदर्शक बनिरहेका हुन्छन् । यो अवस्थाको अन्त्य गरी सडक अनुशासन पालना गराउन सके अहिले भइरहेको दुर्घटना र त्यसले निम्त्याउने क्षति न्यूनीकरण हुन सक्दछ । यसैका लागि वीरेन्द्रनगर नगरपालिकाले व्यवस्थित सडक योजना ल्याएको छ । तर ती योजनाको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । यो वर्षपनि सुरक्षित सडकको योजना कार्यान्वयन गर्न लागेको नगरपालिकाले जनाएको छ । सचेतनादेखि पूर्वाधार निर्माणसम्मको योजना कार्यान्वयन गर्न लागिएको हो । यात्रुहरूका साथसाथै सवारीका साधनहरू पनि सडकमै गुड्छन् । सहरी क्षेत्रमा त पैदल यात्रु र सवारीका अधिक चाप हुने भएकाले नगरपालिकाले बढी चाप हुने स्थानमा प्रभावकारी योजना कार्यान्वयन गर्न लागेको हो । वीरेन्द्रनगरमा हरेक दिनजसो सानो तथा ठूला सवारी दुर्घटनाका घटना हुनेगरेका छन् । जसमा परेर कतिपयको ज्यान जाने गरेको छ भने कतिपय घाइते भइरहेका छन् । सडकको सदुपयोग सही तरिकाले गर्नका लागि नगरपालिकाले सचेतना कार्यक्रमसमेत राखेको छ । सडक अनुसारको परिपालना अनिवार्य हुने जनाइएको छ ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा भने सडक अनुशासनको पालना हुने गरेको छैन । सहरीकरणसँगै मानिसको चाप बढ्दा जोखिम पनि बढेको छ । जोखिम न्यूनिकरणका लागि प्रभावकारी योजना कार्यान्वयन गर्नु अपरिहार्य भइसकेको छ । मानिसको चाप बढेसँगै सवारीका साधनहरूको चाप पनि अधिक भएकाले सोही अनुसारका सावधानी अपनाउने खालका कार्यक्रम कार्यान्वयन गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्दछ ।
प्रकाशित मितिः १४ भाद्र २०८३, आईतवार ०५:०३
सम्पादकीय ।