मन्त्री छनोटमै सकस

सुर्खेत: कर्णाली प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा विवाद देखिएको छ । नेकपा(एमाले) सँगको सत्ता गठबन्धनबाट नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री बनेका छन् । प्रदेशसभाबाट विश्वासको मतसमेत लिइसकेका शाहीले आफ्नै दलबाट मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

एमालेकोतर्फबाट सरकारमा सहभागी तीन जना मन्त्री नियुक्त भइसकेका छन् । तर मुख्यमन्त्री शाहीकै पार्टीभित्र भने विवाद देखिएको छ । जसले गर्दा मन्त्रीपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ । नेकपाभित्रको विवादकै कारण सोमवार मन्त्री नियुक्त शपथका लागि गरिएको तयारी पनि अन्तिममा स्थगित भएको छ । प्रदेशमा नमिलेपछि अब केन्द्रीय नेतृत्वले नै मन्त्री छनोट गर्ने जनाइएको छ ।

मुख्यमन्त्री शाहीले सोमवार बिहान ११ बजे प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरूको शपथका लागि समय माग गरेका थिए । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले सरोकारवाला सबैलाई ११ बजे शपथ कार्यक्रममा उपस्थितका लागि जानकारी गराइसकेको थियो । मुख्यमन्त्री शाहीले १० बजेसम्म पनि नियुक्त गर्नुपर्ने व्यक्तिका नाम सिफारिस गर्न सकेनन् । पछि एक्कासी मुख्यमन्त्री शाही नै प्रदेश प्रमुखको कार्यालयमा पुगेर कार्यक्रम रोकिदिन आग्रह गरे ।

मन्त्री बन्न चाहने सांसदको संख्या धेरै भएपछि समस्या भएको हो । तीन जनाको नाममा सहमती जुट्न नसकेपछि अब त्यसको टुँगो लगाउने जिम्मा केन्द्रलाई नै दिइएको छ । मन्त्रिका लागि आकांक्षी सातजनाको नाम केन्द्रमा पठाइएको जनाइएको छ । अब मन्त्रीको छनोट केन्द्रबाट नै हुने भएको छ । भागबन्डाअनुसार नेकपाको भागमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेका छन् । तीन पदमा आकांक्षीको संख्या धेरै छ ।

प्रकाशित मितिः   ९ भाद्र २०८३, मंगलवार १६:५२