सरकार बनिरहे तर बनेनन् पर्याप्त कानुन
सुर्खेत: कर्णाली प्रदेश अस्थिरताको सिकार भएको छ । संघीयता कार्यान्वयनसँगै बनेको प्रदेश सरकारले स्थायित्व पाउन सकेको छैन । छोटो समयमै नेतृत्व फेरबदल हुँदै आएको छ । अहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका छन् । सरकार फेरबदल भइरहँदा जनजीविकासँग जोडिएका सवाल ओझेलमा पर्दै आइरहेका छन् । जनताका लागि आवश्यक कानुन निर्माण भएका छैनन् भने बनेका कानुन कार्यान्वयनको अवस्था पनि नाजुक छ ।
प्रदेशसभाले कानुन निर्माण गरेपनि कार्यान्वयन गर्ने सरकारले हो । तर बनेका कतिपय कानुन कार्यान्वयनमा छैनन् । अहिलेसम्म कर्णालीले पाँच जना मुख्यमन्त्री बनायो । यद्यपि, कानुन निर्माणको गति भने सुस्त नै रह्यो । ‘प्रदेश व्यवस्थापिका’ को मुख्य काम आवश्यक कानुन निर्माण गर्नु हो । तथापी प्रदेशसभाले चाहेर मात्रै पनि उसले कामको गति बढाउन सक्दैन । संवैधानिक रूपमा प्रदेशसभालाई सरकारले काम दिनुपर्छ । आवश्यकताअनुसारका कानुन निर्माणका लागि विधेयक तयार पार्ने र सभामा पेस गर्ने जिम्मेवारी सरकारको हुन्छ । कतिसम्म भने सभाको अधिवेशन बोलाउने र अन्त्य गर्ने सिफारिससमेत सरकारले नै गर्दछ । त्यसैले पनि कानुन निर्माणमा सभाको गति सुस्त हुनुमा प्रत्यक्षतः सरकारको भूमिकामा पनि निर्भर रहने गर्दछ । यो साढे सात वर्षको अवधिलाई हेर्दा सभाले पारित गरेका कानुनको संख्या अपेक्षितरूपमा न्यून देखिन्छ ।
कर्णाली प्रदेशसभाबाट हालसम्म ७९ वटा कानुन निर्माण भएका छन् । पहिलो कार्यकालको पाँच वर्षमा ५३ वटा ऐन निर्माण गरेको सभाले अहिले दोस्रो कार्यकालको चार वर्षमा २२ वटा विधेयक पारित गरेको छ । यति हुँदाहुँदै पनि जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने खालका कानुन बन्न नसकेको टिप्पणी हुँदै आएको छ । विगत साढे सात वर्षमा दलहरू सरकार निर्माण र सत्तामा कसरी आफू पुग्ने भन्नेमा मात्र केन्द्रित भएको र जनतासँग जोडिएको कानुन बनाउन भने चुकेको अधिवक्ता गिता कोइराला बताउँछिन् । संविधान लेखनको समयमा जसरी मौलिक हक राख्ने प्रतिस्पर्धा गरियो, त्यसरी जनतालाई अधिकार दिने कुरालाई प्राथमिकतामा राखेर कानुन नबनाइएको उनको बुझाइ छ ।
संघीयता कार्यान्वयनसँगै यो बीचमा पाँच वटा सरकार गठन भए, तर जनताले अधिकार पाउने कानुन बनाउन भने कुनै पनि सरकारको प्राथमिकता परेको नदेखिएको अधिकारकर्मी पवित्रा शाहीले बताइन् । जनताका लागि आवश्यक कानुन निर्माण नहुँदा सेवाबाट नै वञ्चित भइरहेको भन्दै उनले सरकार फेरबदलले नागरिकका अधिकार कुन्ठित बन्दै गइरहेको जनाइन् ।
प्रदेशसभाको दोस्रो कार्यकालको चार वर्षमा २२ वटा विधेयक पारित भएका छन् । २८ वटा विधेयक कर्णाली प्रदेशसभामा दर्ता भएका छन् । पहिलो कार्यकालमा ५७ वटा कानुन बनेपनि दोस्रो कार्यकालमा न्यून मात्र कानुन निर्माण भएका छन् । सरकारले भने बनाइएका कानुन कार्यान्वयनमा जोड दिइएको जनाएको छ । आवश्यक कानुन निर्माण गरेर अन्य विकास निर्माणका कामलाई प्राथमिकतामा राखिने कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले बताए । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले नागरिकको आधारभूत आवश्यकतासँग जोडिएका विषयलाई कानुनसँग जोडेर कार्यान्वयनमा लैजाने जानकारी दिए ।
यस्तै, मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश प्राप्ति र अधिकारको लडाइँमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका घाइते तथा अपाङ्गता भएका योद्धाहरूको योगदानको उच्च सम्मान गरे । उनले सहिदहरूको रगत र घाइतेहरूको त्यागकै कारण आज कर्णालीले आफ्नै प्रादेशिक पहिचान पाएको उल्लेख गर्दै उनीहरूको सपना र योगदानलाई अपमान गर्ने गरी प्रदेश खारेजीका हलुका बहस चलाउन नहुनेमा जोड दिए । सरकारले नागरिकमूखि काम गर्न सकेको छैन । जसले गर्दा नागरिक सेवाबाट वञ्चित भइरहेका छन् । केही विषय प्राथमिकतामा राखेजस्तो देखिएपनि त्यसले कार्यान्वयनको चरणमा प्रवेश गरेको छैन ।
प्रकाशित मितिः ५ भाद्र २०८३, शुक्रबार ०५:०५
रजनी याेगी ।