पहिरोको पिरलो

कर्णालीमा बर्सेनि पहिरोसहितका विपदले क्षति निम्त्याउँछ । शनिवार साँझ गएको पहिरोले जाजरकोटमा क्षति निम्त्यायो । अविरल वर्षापछि जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ । उक्त पहिरोले दर्जन बढी घरमा क्षति पु¥याएको छ । केही घाइते भए भने कैयौँ परिवार विस्थापित भएका छन् । जाजरकोट घटना पछिल्लो दृष्टान्त मात्रै हो, वर्षा सुरु भएयता कर्णालीमा यस्ता विपदका थुप्रै घटना भइसकेका छन् । जसमा मानवीय तथा भौतिक क्षतिसमेत भएको छ । त्यसो त कर्णाली प्रदेशका विभिन्न जिल्लामा बर्सेनि विपद् आइपर्छ । बाढी, बहिरो, आगलागी, चट्याङदेखि भूकम्पजस्ता अनेकौ विपदले सताउने गरेको छ ।

विपद् र त्यसबाट भएको क्षतिको तथ्यांक डरलाग्दो देखिन्छ । आर्थिक वर्ष २०८२/०८३ मा मात्रै कर्णालीमा सात सय चार वटा विपद्का घटना भएका छन् । प्रदेशभर विपद्का घटनामा २२ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । ८५ जना घाइते भएका छन् । यसैगरी प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा पछिल्ला चार आर्थिक वर्षमा विपद्का घटनाबाट चार सय १९ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा चार हजार पाँच सय ७९ विपद्का घटना भएका थिए । यरी बर्सेनि विपद्मा पर्ने गरेको कर्णालीलाई वर्षायाममा हुनसक्ने थप विपद् र क्षतिबाट जोगाउन पूर्वतयारी भने पर्याप्त छैन । कर्णालीमा छरिएर रहेका बस्ती छन् । सुर्खेत बाहेकका अधिकांश जिल्लाका धेरैजसो बस्ती पहिरोको उच्च जोखिममा छन् । सरकारले प्रत्येक वर्षको नीति तथा कार्यक्रममा विपद्लाई मध्यनजर गर्दै छरिएर रहेका हिमाली क्षेत्र, दुर्गम क्षेत्र र संकटग्रस्त घोषणा भएका कालीकोट, मुगु, जुम्ला र हुम्लाका असुरक्षित तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्यक्रम गर्ने योजना बनाएको भएपनि प्रभावकारी बन्न सकेको छैन ।

संघ र प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन गरिरहेका हुन् । यद्यपि, प्राकृतिक विपद्को जोखिमबाट बच्ने पूर्वतयारीमा पर्याप्त ध्यान पुग्न सकेको छैन । जसले बर्सेनि क्षति बेहोर्नुपर्ने बाध्यता छ । प्राकृतिक विपद पूर्वसूचना दिएर आउँदैन । यसलाई पूर्णरूपमा रोक्न नसकेपनि सवाधानी अपनाएर जोखिम कम गर्न सकिन्छ । जोखिम न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक हुन्छ । तर हामी यसैमा चुक्दै आएका छौँ । त्यसैले पनि बर्सेनि ठूलो क्षति हुने गरेको छ । सरकारी तहबाट सञ्चालन गरिएका विपद् न्यूनीकरण योजना र कार्यक्रमहरू पनि बृहत् र प्रभावकारी बन्न सकेका छैनन् ।

प्रकाशित मितिः   २ भाद्र २०८३, मंगलवार १६:१६