बर्सेनि पहिरोकै पिरलो

वर्षासँगै बढ्यो जोखिम, पूर्वतयारीमा बेवास्ता

सुर्खेत: अविरल वर्षापछि शनिवार साँझ जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । उक्त पहिरोले दर्जन बढी घरमा क्षति पु¥याएको छ । केही घाइते भए भने कैयौँ परिवार विस्थापित भएका छन् ।

घाइते भएका ५२ वर्षीया केदार कार्कीको उपचारको क्रममा मृत्यु भएको छ । त्यसैगरी ५४ वर्षीया उमा सिँह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको छ । यो समाचार तयार पार्दासम्म बेपत्ता भएका दुई जनाको अवस्था अज्ञात छ । बेपत्ता भएकाहरूको खोजी कार्यको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ ।

रिसाङ क्षेत्रका करिब ७० घरपरिवारका दुईसय जना स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । जोखिममा रहेका स्थानीयवासीलाई रिसाङस्थित त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित रूपमा राखिएको हो । स्थानीयवासीको उद्धार तथा सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (प्रसनि) प्रेमबहादुर फौजाको कमान्डमा दश जना प्रहरीको टोली परिचालन गरिएको छ । टोलीले जोखिममा रहेका नागरिकको उद्धार, स्थानान्तरण तथा आवश्यक सुरक्षा व्यवस्थामा निरन्तर काम गरिरहेको छ । पहिरोको जोखिममा रहेका विभिन्न स्थानबाट उद्धार तथा स्थानान्तरण गरिएकामध्ये झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट एक सय ४९ जना रहेका छन् । यसरी विभिन्न स्थानबाट गरी करिब दुई जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी अस्थायी बासको व्यवस्था गरिएको हो । अविरल वर्षा जारी रहेकाले रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीको समेत निगरानी बढाइएको छ । जोखिमको अवस्था हेरी थप नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत गरिएको छ । स्थानीय सरकार जिल्ला प्रशासन र सुरक्षा निकायको निगरानी समेत बढाइएको छ ।

कर्णालीमा बर्सेनि पहिरोसहितका विपद्ले क्षति निम्त्याउँछ । यो वर्ष कर्णालीमा सात सय चार वटा विपद्का घटना भएका छन् । प्रदेशभर विपद्का घटनामा २२ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । ८५ जना घाइते भएका छन् । यसैगरी प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा पछिल्ला चार आर्थिक वर्षमा विपद्का घटनाबाट चार सय १९ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा चार हजार पाँच सय ७९ विपद्का घटना भएका थिए । यरी बर्सेनि विपद्मा पर्ने गरेको कर्णालीलाई वर्षायाममा हुनसक्ने थप विपद् र क्षतिबाट जोगाउन पूर्वतयारी भने पर्याप्त छैन ।

कर्णालीमा छरिएर रहेका बस्ती छन् । सुर्खेत बाहेकका अधिकांश जिल्लाका धेरैजसो बस्ती पहिरोको उच्च जोखिममा छन् । सरकारले प्रत्येक वर्षको नीति तथा कार्यक्रममा विपद्लाई मध्यनजर गर्दै छरिएर रहेका हिमाली क्षेत्र, दुर्गम क्षेत्र र संकटग्रस्त घोषणा भएका कालीकोट, मुगु, जुम्ला र हुम्लाका असुरक्षित तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्यक्रम गर्ने योजना बनाएको भएपनि प्रभावकारी बन्न सकेको छैन । संघ र प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन गरिरहेका हुन् । यद्यपि, प्राकृतिक विपद्को जोखिमबाट बच्ने पूर्वतयारीमा पर्याप्त ध्यान पुग्न सकेको छैन । जसले बर्सेनि क्षति बेहोर्नुपर्ने बाध्यता छ ।

प्रकाशित मितिः   १ भाद्र २०८३, सोमबार १६:३६