आयुर्वेदमा आत्मनिर्भर

कर्णाली प्रदेश जडिबुटीका खानी हो । यहाँका जडिबुटी आयुर्वेद विज्ञानका लागि महङ्खवपूर्ण हुन सक्दछन् । त्यसो त कर्णाली प्रदेशलाई आयुर्वेद औषधी उत्पादनमा आत्मनिर्भर बनाउने योजना पनि अघि सारिएको छ । प्रदेश सरकारले जडिबुटीबाट कर्णालीलाई समृद्ध बनाउने गरी योजना कार्यान्वयन गर्न लागिएको जनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना कार्यान्वयन गर्न लागिएको हो । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्रहरूको स्तरोन्नती गरी आयुर्वेद औषधी उत्पादन केन्द्रको रूपमा विकास गर्न लागिएको छ । उत्पादित औषधीलाई ब्राण्डको रूपमा बजारीकरण तथा बिक्री वितरण गर्न कानुन निर्माण गर्ने लक्ष्य राखिएको छ ।

प्रदेश सरकारले वैकल्पिक चिकित्सा सेवालाई नागरिकको जीवनशैलीसँग आवद्ध गर्न पराम्परागत ज्ञानसीपको उपयोग गर्ने नीति लिएको छ । यो वर्ष उक्त कार्यक्रम कार्यान्वयनका लागि ६ करोड ४१ लख बजेट विनियोजन गरिएको छ । गत वर्षबाट कर्णाली प्रदेश आयुर्वेद औषधालयलाई अनुसन्धान केन्द्रका रूपमा सञ्चालन गरिएको छ । आर्थिक वर्ष २०८२÷०८३ बाट अनुसन्धानको काम थालिएको हो । प्रदेश आयुर्वेद औषधालयमा पछिल्लो समय सेवाग्राही बढ्दै गएका छन् । सरकारले सेवालाई प्रभावकारिता बनाउन आवश्यक संरचना निर्माणको कामसमेत गरिरहेको छ । दरबन्दी थप र आवश्यक पूर्वाधार निर्माण गरेर औषधालयलाई आयुर्वेद केन्द्रका रूपमा विकास गरिएको छ । एकीकृत रूपमा आयुर्वेद सेवा दिन थालिएको छ । आयुर्वेद चिकित्सा सेवा, आयुर्वेद उपचार कार्य, वैकल्पिक उपचार र आयुर्वेद औषधी उत्पादनको काम एकै ठाउँबाट सुरु गरिएको छ । गतवर्ष मात्र तीनवटा अनुसन्धानका काम भएका छन् । यो वर्ष थप व्यवस्थित गरेर काम सुरु गर्न लागिएको छ । अहिले आयुर्वेद औषधालय सुर्खेतबाट उपचार सेवा मात्र प्रवाह भइरहेको छ । थप सेवा विस्तार गरेर आयुर्वेद केन्द्रको रूपमा काम अघि बढाइएको छ ।

आयुर्वेद औषधालयको भवन निर्माण कार्य भने निकै सुस्त छ । निर्माण कम्पनीको लापरबाहीका कारण काममा ढिलासुस्ती भइरहेको हो । पछिल्लो पटक म्याद थपिएको समयअवधि सकिन केही समय मात्र बाँकी रहँदा करिब ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पटक–पटक म्याद थप गर्दा पनि भवन निर्माणको काम निकै सुस्त भइरहेको छ । भौतिक संरचनाको अभावमा औषधालयले साँघुरा कोठाहरूबाट सेवा दिइरहेको छ । सेवा विस्तार भएपनि आवश्यक भौतिक पूर्वाधार नहुँदा समस्या हुनेगरेको छ । सेवाग्राही बढ्दै गएपनि औषधालयमा जनशक्ति भने अभाव छ । यसतर्फ भने ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   २६ श्रावण २०८३, मंगलवार १३:०४