धान गोड्ने समयमा मलको चरम अभाव
सुर्खेत: सामान्यतया साउन १५ देखि भदौ १५ सम्म धान गोडमेल गर्ने समय हो । यतिबेला धान गोडमेलसँगै किसानहरूले खेतबारीमा मल हाल्ने गर्छन् । कर्णालीमा भने यसैबेला मलको चरम अभाव छ । पर्याप्त रासायनिक मल (युरिया) आयात नभएपछि किसानहरू मर्कामा परेका छन् ।
बजारमा मलको हाहाकार भएपछि उनीहरू चिन्तित भएका हुन् । मल नपाएपछि खाली धान गोडमेल गर्ने काम मात्रै गरेको वीरेन्द्रनगर–३ का रामबहादुर थापाले बताए । मलको अभावका कारण यो वर्ष धान उत्पादनमा कमी आउने भन्दै थापाले चिन्ता व्यक्त गरेका छन् । समयमा नै पानी नपर्दा रोपाई समेत ढिला भएको वीरेन्द्रनगर–४ की रिता भारतीले बताइन् । समयमा नै पानी नपर्दा धौ–धौ मात्र धान रोपिएको भन्दै उनले रासायनिक मल नपाउँदा यस वर्ष थप सास्ती खेप्नु परेको सुनाइन् ।
सोही वडाका बलबहादुर गिरीले मल अभाव भएपछि आफूहरू समस्यामा परेको बताए । उनले समयमै धानमा मल हाल्न नपाउँदा रोग लाग्न थालेको सुनाए । ‘मल पाइन्छ कि भनेर दिनभरी बजार धाइन्छ, नपाएपछि रित्तै हात फर्कनुपर्छ,’ उनले भने, ‘मल नहुँदा खेत पनि पहेलिन थालेको छ, समयमा मल नपाउँदा मर्का नै मर्का छ, आउँछ, आउँछ भन्छन् मल कहिले आउँछ थाह नै छैन् ।’ खेतबारीमा मल नै नहालेपछि धानको उत्पादन घट्ने भन्दै गिरीले चिन्ता व्यक्त गरे ।
यस्तै, वीरेन्द्रनगर–९ का किसान प्रेमबहादुर रावलले किसानहरूले सिजनमा मल बीउ नपाउने समस्या सधैं झेल्नु परेको बताए । उनले यतिबेला मल नपाउँदा ठूलो समस्या भएको गुनासो गरेका छन् । जलवायु परिवर्तनको असरका कारण समयमा नै पानी नपर्नु तथा समयमा नै मल बीउ नपाउनुले धानको उत्पादन घट्ने उनको अनुमान छ । ‘सहकारी, एग्रोभेटबाट मल लिने गरिन्थ्यो । यसवर्ष आएको छैन भनेर पाएका छैनौं,’ उनी भन्छन्, ‘सरकारले बेलैमा यसबारेमा सोचेको भए अहिले हामीलाई मलको समस्या हुने थिएन् ।’ यस पटक बजारमा मुश्किलले पाएको मल पनि महँगो र गुणस्तरहीन भएको उनले बताए ।
कर्णालीमा यो वर्ष कृषि सामग्री कम्पनी लिमिटेडले मात्र मल आपूर्ति गरेको छ । गतवर्षहरूमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले पनि मल वितरण गर्दै आइरहेको थियो । एउटै ठाउँबाट मल वितरण गनुपर्दा थप समस्या भएको जनाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख धु्रवबहादुर बोगटीले अहिले यहाँ मात्रै नभएर देशभर मलको अभाव भएको बताए । उनले कर्णालीमा ढिलागरी मल आपूर्ति हुँदा सहज रूपमा वितरणमा समस्या भएको जानकारी दिए । उनका अनुसार धान रोपेको एक महिनापछि कर्णालीका सुर्खेत, दैलेख र कालीकोटमा मात्र झण्डै पाँच सय मेट्रिक–टन मल आवश्यक पर्छ । तर, असार पहिलो सातामा आइपुग्नुपर्ने मल साउन अन्तिमसम्ममा पर्याप्त आएको छैन । बाहिरबाट मल नै नआएको उनले बताए । उनले भने, ‘धान गोडमेल गर्ने समयमा मल जरुरी हो, यतिबेलै मल पर्याप्त रूपमा आएको छैन, कोलकत्ता नाकाबाटै मल आउन सकेको छैन । यो वर्ष पहिलो चरणको मल साउनको पहिलो सातामा मात्र आएको थियो ।’
दोस्रो चरणमा मलको अभाव रहेको र तत्काल आउने सम्भावना नभएको जनाएको छ । भदौ पहिलो सातासम्म दोस्रो चरणको मल आइपुग्ने कार्यालय प्रमुख बोगटी बताउँछन् । यो वर्ष पाँच सय १३ मेट्रिक टन युरिया मल तथा पाँच सय ४० डिएपी मल आपूर्ति भएको छ । गतवर्ष मात्र दुई हजार एक सय ३७.७ मेट्रिक टन मल खपत भएको थियो । तर यो वर्ष सिजनमै मल अभाव भएको छ । समयमा नै धान रोप्न नपाएका किसान समयमा नै मल नपाउँदा थप चिन्तित बनेका छन् । भारतले आयात गरेको मल दिन खोज्दा ढिलाइ भइरहेको जनाइएको छ । हाल मन्त्रालयले सस्तोमा माग गरिरहेको छ । मूल्य वृद्धिका कारण पनि मल आपूर्तिमा समस्या भइरहेको छ ।
प्रकाशित मितिः २६ श्रावण २०८३, मंगलवार १३:०२




रजनी याेगी ।